गुरुप्रसाद मैनालीका कथामा सामाजिक यथार्थको सरल चित्रण

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

कथाकार गुरुप्रसाद मैनालीलाई नेपाली कथा विधामा हेर्ने धेरै कोण छन् । मैनालीका कथा सम्पादन गरी प्रकाशन गर्ने वरिष्ठ समालोचक ताना शर्माका अनुसार मैनाली नेपाली ग्रामीण जीवनलाई नजिकैबाट चिनेका कथाकार हुन् ।

साहित्यकार नरेन्द्रराज प्रसाईंका शब्दमा गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले नासो लेखेपछि नेपाली कथा साहित्यको मोडले नयाँ क्षितिज उघारेको छ ।


Advertisement

समालोचक ईश्वर बरालका शब्दमा सामाजिक जीवनसँग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय गर्‍यो । वरिष्ठ लेखक रघु मैनालीका अनुसार विवेक, समवेदना, जिम्मेवारी र सत्यनिष्ठा एकैपटक निर्वाह गर्नुपर्ने मनोदशा गुरुप्रसाद मैनालीमा थियो । त्यही मनोदशा कथाकारितामा पनि देखिनु स्वाभाविक थियो । सर्जक समाज र आफ्नै मनोदशा निरपेक्ष रहोस् पनि कसरी ? 

सरल बुझाइमा कथा भन्ने बित्तिकै भोगाइका घटनाको चित्रण गर्नु हो । त्यसो त इतिहासले पनि समाजका घटनालाई उतार्ने गर्दछ तर इतिहासमा कलाकारिता हुँदैन । इतिहास राजनीति र शासकको हुन्छ, सभ्यता र समाजको चित्र उतार्न साहित्य नै चाहिन्छ । पात्र चयन, घटना विधान, परिवेश चित्रण, उत्कर्ष सम्बन्ध जस्ता कुरामा कथाकारले पाउने स्वतन्त्रता इतिहासकारलाई हुँदैन ।


Advertisement

इतिहास घटनाको इतिवृत्ति हो तर कथा इतिहास नभई समाजको चित्रण गर्ने कलाकारिता हो । भनिन्छ, इतिहासमा पात्र मात्र सही हुन्छन्, घटनाको फेहरिस्त प्रस्तुती यथार्थ हुँदैन तर कथामा पात्र काल्पनिक बिम्ब हुन्छ, पात्रबाहेक अरु सबै यथार्थ हुन्छ । कथा समाजको यथार्थ चित्र हो भन्ने पुष्टि कथाकार गुरुप्रसाद मैनालीका कथाले दिन्छन् ।

‘नासो’मा समावेश कथाहरू तत्कालीन समाजको मुखर इतिहास हो । छोटो किस्सा (कथा) संसार च्याउने आँखी भ्mयाल हो, नासोमा संकलित कथाहरूले नेपाली समाज र यसको मनोदशालाई बेस्सरी चियाएको छ । 

नेपाली कथाका जानकार र समालोचकहरू कथाकार गुरुप्रसाद मैनालीलाई आधुनिक कथाका प्रणेताका रूपमा लिन्छन् । उनीभन्दा अघिका कथाहरू आधुनिक समाजको बिम्ब उतार्न सक्दैन्थे कि तिलस्मी हुन्थे वा परम्परागत भावभंगीका एकादेशका घटना र लोकवृत्तिहरू । त्यतिखेरको चेतना र समाजको बनावटले पनि त्यसखाले कथाकारितालाई प्रश्रय दिइरहेको हुनुपर्छ । कथाका माध्यमबाट समाजले पाउने उपयोगिता, शिक्षा, सन्देश र चुनौती हुँदैनथ्यो । विक्रम संवत् १९८४ सालमा लेखिएको र १९९२ सालमा शारदा मासिकमा छापिएको ‘नासो’ कथाले नेपाली कथा जगतमा छुट्टै स्थान लियो । शायद कथाकार मैनाली मैनालीलाई पनि नासोका देवीरमण र सुभद्राको कथाले कथाकारिताको क्षेत्रमा छुट्टै प्रवृत्ति स्थापित गर्छ, सबै पाठकको मन जित्ने स्वाद दिन्छ र यसले आधुनिक नेपाल कथाको श्रेय पाउँछ भन्ने थाहा थिएन ।

त्यसैले ताना शर्मा, ईश्वर बराल जस्ता वरिष्ठ समालोचकले भनेझै गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका शीर्ष व्यक्ति बने । नासो कथा संग्रहमा संकलित कथाहरू नेपाली कथा यात्राका विशिष्ट रूप हुन्, जसमार्फत कथाकार मैनालीले प्रवृत्ति र कथाधारलाई नै बदल्ने सफलता पाए । उनका कथाहरू थोरै छन्, तर जति छन्, अलग पहिचान र धारका पहिला रूप हुन् । थोरै सिर्जनाबाट पनि विशिष्ट स्थान प्राप्त हुन्छ भन्ने उदाहरण पनि हुन् कथाकार मैनाली । 

कथाकार मैनालीको कथाकारिताको चर्चा गर्नुअघि उनी जन्मे, हुर्केको परिवेश र अवलम्बन गरेको पेशावृत्तिलाई चर्चा गर्नु सान्दर्भिक हुन्छ । किनकि सर्जक आफ्नो सामाजिक परिवेश, मूल्य संस्कार र वृत्तिको वरिपरि रहेर आफूलाई नै अभिव्यक्त गरिरहेको हुन्छ, आफूलाई, अनुभूतिलाई अभिव्यञ्जना गरिरहेको हुन्छ ।

काभ्रेपलाञ्चोकको कान्पुर कथाकारको पैतृक थलो हो । कान्पुरको परिवेश ग्रामीण प्रकृति हो । कान्पुरको ग्रामीण चरित्र मेलापात, घाँसदाउरा र सहयोगको जीवनशैलीले पूर्ण छ । प्राकृतिक रूपमा स्वच्छ छ, आजभोलि यस परिवेशलाई अग्र्यानिक जीवनशैली भनिएला ।

कथाकारको जन्म भने पूर्व धनकुटामा भएको थियो । धनकुटा पनि झण्डै कान्पुर तिमालजस्तै प्राकृतिक जीवनशैलीको स्थान हो । उनका बुवा काशिनाथ मैनाली राणा प्रशासनका जागिरे । बुवाको जागिरको अभिमुखीकरणले नै उनको जीवनले पनि जागिरे मोड लिएको छ । जागिर र बसाइका सिलसिलामा धनकुटा, बाग्लुङ, काठमाडौं एवं नुवाकोटले कथाकारको कथाकारिता, पात्र चयन, घटना रचना र प्रस्तुतीलाई प्रभाव पारिरहेको छ । 

उनी जन्मेको समय राणा शासन, हुर्केको समय प्रजातन्त्रकाल र जागिरको समय पञ्चायतकालले पनि कथा परिवेशलाई प्रभाव पारेको छ । केही कथाहरू २००७ अघि र केही त्यसपछि लेखिएका छन् । पेशाले न्यायाधीश, न्यायाधीशको काम न्याय दिनु हो, जुन कुराबाट उनका पात्रहरू प्रभावित छन् ।  कथाकारको ग्रामीण जीवनशैली र पेशावृत्ति कथा परिवेशको वरिपरि घुमिरहन्छ । उनको शिक्षा रुद्री, कौमदी, आदि धार्मिक शास्त्र र नीतिहरू हुन्, कथाका चरित्रहरू धर्म, नीति र आदर्शको वरिपरि छन् । 

कथाकार मैनालीको कथाकारिता विश्लेषण गर्दा भनिएजस्तै उनी यथार्थवादी कथाकार हुन् । कथाकार स्वयंले भनेका छन्, ‘धेरैजसो कथाहरू मैले स्वयं देखेका अथवा निकटबाट सुनेका दृश्यहरू लिएर लेखेको छु ।’ यथार्थवादले जीवन र समाजको सँग्लो र सोलोडोलो चित्र प्रस्तुतीको आग्रह गर्दछ । त्यहाँ कृत्रिमता र कल्पना रहँदैन । व्यक्तिले दिनचर्या गर्दछ, सजिला असजिला घटना भोग्छ, अनुभूति सँगाल्छ, त्यसैको प्रतिबिम्बन (रिफ्लेक्सन) कथामा पाइन्छ । कथाकार मैनालीका कथाहरूमा यी कुराहरू ठ्याक्कै मिल्ने गर्दछन् । नासो कि सुभद्रा, देवीरमण, नौली र लक्ष्मी नेपाली समाजका अनुहार हुन् । चामे, जुठे, प्रभा, नरेन्द्र, गौरी, शशी, धनजिते, गुमाने सबै नेपाली समाजका बिम्ब हुन् । ती पात्रहरू सिंगारिएका, जलप लगाइएका वा रेमिक्स गरिएका छैनन् । उनीहरूका संवाद, कथावृत्ति, दिनचर्या र भोगाइका यथार्थ टिपोट कथामा छ । ‘छिमेकी’का धनजिते र गुमाने कान्पुर वेसी (रोशी) को छिमेकी घटना हो । छिमेकीमा एकआपसमा गरिने व्यवहार, ससानो कुरामा हुने झगडा, दुःखपर्दा व्यक्तिगत ईष्र्या नलिई सहयोग गर्ने संस्कृतिको यथार्थ चित्र हो । छिमेकी पढ्दा कान्पुरको त्यो घटना परिवेश पाठकको दिमागमा आउँछ । 

‘प्रायश्चित’की बालविधुवा गौरी र उनको उत्पीडन, आफूले राखेको भावनाप्रतिको प्रायश्चित र शिक्षित भइकन सामाजिक लोकलाजका कारण उनलाई अपनाउन नसक्ने गोविन्दको प्रायश्चित गौरीको अवसानमा टुंगिन्छ । दमित नारी भावना र नारी सत्ताको विवशताको यो यथार्थ चित्र हो । ‘पापको परिणाम’को कान्ते र जुठेको कथा ‘बिदा’मा प्रभा र नरेन्द्रको कथा ‘चिताको ज्वाला’को अनिच्छित सम्बन्ध र कर्तव्यको पालना, ‘परालको आगो’को पतिपत्नीको झगडाको क्षणिकता, अभागी, शहीद, प्रत्यागमन सबैले समाजको यथार्थ परिवेशलाई जस्ताको त्यस्तै टिपेका छन् । 

कथाकार विश्वेश्वर कोइराला, भवानी भिक्षु, मल्ल बन्धु, पुस्कर शमशेर, इन्द्र राईका कथा पनि आ–आफ्नै मौलिकतामा बेजोड छन् तर गुरुप्रसाद मैनाली कथावृत्तिलाई यथार्थको सीमाभन्दा अलिकति पनि विषयान्तर हुन दिँदैनन् । कथाहरू सँग्ला छन्, सरल संरचना छ र प्रस्तुती विन्यास पनि ग्रामीण जीवनजस्तै सरल छ । 

तत्कालीन समाज धर्मभिरु छ, महिलाका भूमिकाहरू गर्भैदेखि सीमांकित छन्, त्यो सीमाले आकांक्षा र उम्मेदहरूलाई पनि कैद गरिदिएको छ । महिलाहरूलाई हिन्दू नारी संस्कारमा व्यवहार गरिने चरम अवस्था छ । विपन्न र गरीबहरू, वञ्चितीमा रहेकाहरूलाई सामाजिक थिचोमिचो छ । ससाना कुरामा परिवार, पति–पत्नी, छरछिमेकी र ठूला सानाबीच विवाद र झगडा छ । केही दिनमै प्रायश्चित, माफी, सहयोग, मित्रता र सौहाद्र्रता तत्कालीन नेपाली समाजमा भेटिन्छ, कथावस्तु अरु नभएर त्यही छ । त्यही घटनावृत्ति र अनुभूतिलाई कथाकारले सरल रूपमा उठाएका छन् र समाज सुधारको मौन सन्देश दिएका छन् । त्यसैले कथाकार गुरुप्रसाद मैनाली यथार्थवादी निख्खर कथाकार भए । 

यथार्थवादी कथाकार आफ्नै परिवेशमा लुटपुटिन्छ, परको समाज र थाहा नभएको परिवेश उठाउँदैन । कथाकार मैनाली आफू हुर्के बढेको, खेले पढेको ग्रामीण परिवेशलाई उठाउन निपुण छन् । गाउँले समाजमा हुने घटना, व्यवहार, दिनचर्या, सम्बन्ध र व्यवहार कथाका विषयवस्तु हुन् । ग्रामीण समाजलाई मिहिन रूपमा अवलोकन गरेर कलात्मक रूपमा प्रस्तुती गर्न, प्रस्तुतीलाई सास्वत बनाउन रैथाने बिम्ब प्रयोग गर्न कथाकार औधी सिपालु छन् ।

‘परालको आगो’का चामे र गौथलीको दिनचर्या होस् वा छिमेकीको गुमाने र धनजितेको झगडा वा नासोका देवीरमण र सुभद्राको दिनचर्या होस्, सबै नै सामान्य ग्रामीण दिनचर्या बोक्दछन् । कथाले यसरी जीवन बोकेपछि जीवन्तता प्राप्त गर्छ, कथा कथाजस्तो नभई जीवनजस्तो बन्छ र कथा कालजयी हुन्छ । कथाका पाठकहरू समानुभूतिमा पुग्छन् । कथाका घटना आफ्नै जस्तो लाग्छ, कथाको मुख्य चरित्र आफूजस्तो लाग्छ र सहायक चरित्र आफ्नै वरिपरिका जस्तो लाग्छ ।

कथा परिवेश पनि आफ्नै गाउँठाउँ जस्तो लाग्छ । कथाका संवाद हाम्रै बोलीवचन जस्ता लाग्छन्, टोलछिमेकका कुराकानी जस्ता लाग्छन् । ग्रामीण परिवेशको यति राम्रो चित्रण अन्य कथाकारले गर्न सकेका थिएनन् । ताना शर्माले भनेझैं कथाकार मैनालीले ग्रामीण परिवेशलाई नजिकैबाट चिनेका छन् । त्यसैले कथा वास्तविक लाग्छन्, स्वच्छ र सरल लाग्छन् । मानौं अनुभूति भरिएका चलचित्र जस्तै । 

कथाकार मैनालीका कथा पात्रहरू आदर्श छन् । चरित्रको आदर्शीकरण कथाकारको प्रवृत्ति हो । नासको कि सुभद्रा हिन्दू नारीको उच्चतम आदर्श प्रस्तुत गर्दछे । सुभद्रामा सामाजिक दायित्वबोध, जसका कारण व्यक्तिगत सुखसयललाई सामाजिक दायित्वमा समर्पण गरिदिन्छे । छिमेकीका दुवै छिमेकी धनजिते र गुमानेमा क्षणिक रिस पनि छ, असल छिमेकीपन पनि छ । परालको आगोका चामे र गौथलीमा परिवारको दायित्वबोध छ । प्रभा, शशी, मुरलीधर, बीरबहादुर लगायत पात्रहरूले समाजमा आदर्श आचरण र शिक्षाको सन्देश दिन्छन् । समाजको रीतिथिति आदर्श बनाउन सबै कथाहरू केन्द्रित छन् । शायद उनको पेशावृत्तिले पनि कथामार्फत सामाजिक सन्देश दिन आग्रह गरेको छ ।

कथाकार मैनालीले टिपेका पात्रहरू स्वच्छ, सरल, निष्पकपट, निस्वार्थ र प्राकृतिक छन् । लाग्छ, कान्पुरदेखि धनकुटा हुँदै बाग्लुङसम्मको जीवनशैली त्यस्तै थियो । कथाकारहरू पात्र चयनको केन्द्रिय भूमिकामा आफैं खेल्छन् । कथाकार मैनाली पनि त्यही प्रवृत्तिमा रहेको सहज अनुमान गर्न सकिन्छ । पात्रको नाम, वृत्ति, संवाद र अनुभूति योजनमा पनि कथाकार निकै सावधान छन् । छिमेकी काभ्रेपलाञ्चोकको ग्रामीण परिवेश कान्पुरको कथा हो, पात्रहरू धनजिते र गुमाने ससानो कुरामा मनमुटाव गर्छन्, धर्मानन्द छिमेकी झगडा चर्काएर रमाउँछन्, गाउँमा यस्तै छुल्याहा सामन्ती संसकारको पनि बोलवोला हुन्थ्यो । तर गुमने र धनजिते छिमेकीको प्राकृतिकपनमा फर्किन्छन् । केही कथाहरू शहर बजार र गाउँलाई जोड्छन् तर त्यहाँ पनि शहरी जटिलता र रागद्वेष भेटिँदैन । 

तत्कालीन (केही हदमा अहिले पनि) समाजमा एक प्रकारको असजिलो व्यवहार देखिन्छ । गाउँका धनीमानी र उच्च तहसोपानका व्यक्तिका नाम पछि आदरार्थी, सम्भ्रान्त खालको विशेषण जोड्ने र तहगत सोपानमा तल परेका, गरीब, सामान्य मानिसका लागि नामको पछि एकार जोडेर बोल्ने बोलाउने, नामकरण गर्ने चलन छ । कथाकारले यो सामाजिक विकृतिलाई पनि कथाका पात्रमार्फत उठाएका छन् । चामे, गुमाने, धनजिते, जुठे, कान्ते, चाउरे, काले, जिउने, सन्ते, नौली तल्लो सामाजिक तहसोपानका पात्रहरू हुन् । सामाजिक सोचवृत्तिको परिणाम हो यो । 

माथिल्ला वर्ग र तहसोपानमा रहेकाहरूको सँग्लो र आदरार्थी नाम देखिन्छ, जस्तो कि गङ्गाधर, श्रीधर, देवीरमण, धर्मानन्द, रामु आदि । समाज जात, वर्ग र लिङ्गीय रूपमा कसरी विभाजित र हेलित रहेछ भन्ने यथार्थ चित्र पनि हो यो । यी नामले सामाजिक हैसियत र भूमिका निर्वाह मात्र होइन, अवसर उपयोगमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । कथाकार मैनालीलाई यसकोणबाट प्रगतिवादी धारमा पनि ल्याउन सकिन्छ । तर मूलतः उनको कथाकारिता यथार्थवादी धारा नै हो । 

राणा शासन र पञ्चायतकाल एवं यी २ बीचको संक्रमणको सेरोफेरो पनि कथाको पृष्ठभूमिमा देखिन्छ । राष्ट्र प्रेम, सहादत र स्वतन्त्रताका भावनालाई शहीदजस्ता कथाले पछ्याएको छ । ‘इन्क्लाव जिन्दावाद, वीर शहीद जिन्दावाद र बीरबहादुर जिन्दावाद’का नाराहरू पनि समेटिएका छन् । यथार्थपरक कथाकारलाई सामाजिक परिवर्तन र लोकतन्त्रका भावनाहरू नलेखी किन चित्त बुझाउँथे र ? 

कथाकारितामा द्वन्द्व संयोजन र उत्कर्ष (क्लाइमेक्स) योजनलाई यथार्थपरक रूपबाट प्रस्तुत गरिएको छ । चामे र गौथलीबीचको द्वन्द्व होस् वा सुभद्रा, लक्ष्मी र देवीरमण बीचको त्रिपक्षीय मनोद्वन्द्व वा गुमाने र धनजिते बीचको सामाजिक द्वन्द्व वा पापको परिणाम, प्रत्यागमन, बिदा, कर्तव्य कथाका द्वन्द्व हुन्, त्यसले सरलरेखीय वृत्ति अवलम्बन (क्लाइमेक्स लिंक) गर्दछ र कथा उत्कर्षमा पुग्छ । 

उत्कर्षले समाधान खोज्छ र कथा अन्त्य हुन्छ । तर उत्कर्षपछि कतिपय केन्द्रीय पात्रहरू पलायन पनि छन् । गौरी, प्रभा, शशी जित्ने पात्रहरू होइनन्, आदर्शताका लागि पनि, सामाजिक रीतिथितिका कारण पनि पात्रहरू हारेका छन्, पलायन भएका छन् । सुभद्रा र गौथली पलायनपछि उत्कर्षमा विजेता हुन् । कथाका चरित्रले घटना जित्नुपर्छ भन्ने आग्रह होइन, तर सामाजिक वस्तुस्थिति उतारेर नै कथाकार यथार्थवादी बन्न पुगेका हुन् भन्न खोजिएको मात्र हो । पलायन हुने क्रममा वा हार्ने क्रममा कथाकार मैनाली न्यायाधीश मैनालीको न्यायिक मन प्रयोग गर्न पछि परेका हुन् कि भन्ने स्वाभाविक अनुभूति हुन्छ । उनी न्यायाधीशका हैसियतमा समाजमा अन्यायमा परेकालाई न्याय दिन्थे, त्यसैले उनका कथाका पात्रहरूले न्याय पाए कि पाएनन् भन्ने प्रश्न उठ्न सक्छ । तर कतिपय साहित्यकार पेशावृत्ति र साहित्य कार्यलाई नितान्त फरक रूपमा हेर्छन् । जस्तो कि महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा तथा स्वायत्त शासनमन्त्री भए पनि सिर्जनामा स्वेरकल्पनाको अथाह उडानलाई प्रभाव पारेन, लेखनीलाई मन्त्रालयको काम र वृत्तिले रङ्ग्याएन । कथाकार विश्वेश्वर कोइराला राजनीतिबाट आख्यानमा नितान्त निस्प्रभावी छन्, राजनीतिले साहित्यलाई र साहित्यले राजनीतिलाई प्रभाव पारेका छैनन् । तर यथार्थवादीहरू २ वृत्तिलाई पृथकधारमा कति राख्न सक्छन् ? भन्न खोजिएको हो । 

कथाकार मैनाली कथाशिल्पका पक्षहरू, जस्तो कि संरचना निर्माण, चरित्र चयन, कथानक विन्यास, द्वन्द्व संयोजन, उत्कर्ष एवं समाधान (कथान्त) सबै पक्षमा सरल, सरस तथा यथार्थपरक छन् । कथाका घटनाक्रम फुक्कमफुक्कामा छैनन्, संरचित साँगोपाँगोमा छन्, पात्रका मनोविवादमा विरह र पीडा रहँदा पनि सामाजिक संस्कार र नैतिक आचरणका सीमामा बाँधिएका छन् । घटनाक्रमहरू फूलका थुंगा जोडिएर माला बनेसरी उत्कर्षसम्म आरोहमा रहेका छन् । ग्रामीण आञ्चलिकता र निश्छल प्रकृति पृष्ठभूमिमा छ । कृत्रिमता कही पनि छैन ।

लाग्छ – कथाहरू कान्पुर–धनकुटा–बाग्लु–नुवाकोट हुँदै कताकतै काठमाडौं डेराघरसम्म आउजाउ गर्छन् । त्यसैले कथाकार गुरुप्रसाद मैनाली नेपाली कथाका यथार्थवादी प्रणेता बन्न पुगे र पछि जोड्न थालियो आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार भनेर । कतिपयले कथाशिरोमणिको उपमा पनि दिएका छन् । जेहोस्, यत्ति चाहि भन्न सकिन्छ, उनले कथामा मैनाली युगको आरम्भ गरे, यथार्थवादी कथाकारहरू मैनाली युगलाई समृद्ध बनाउन लागिपरेका छन् ।

[email protected]

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्