मृत्युको आयु : लेखन शैलीमा नयाँ आयाम थप्ने उपन्यास

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लघुकथाका कुशल हस्ती डा. रवीन्द्र पाण्डे ‘समीर’सँग विक्रम संवत् ५० को दशकदेखिकै चिनजान हो मेरो । गोरखापत्र संस्थानबाट प्रकाशित हुने युवामञ्च मासिकमा उनको लघुकथा नियमित जस्तै छाप्थ्यौं हामी ।

कार्यकक्षमा लघुकथाका बाकसै हुन्थे । आफ्ना लघुकथा छापिएन भनेर गुनासो गर्ने पनि बाक्लै थिए तर उपयुक्त लघुकथाका लागि भने पाण्डेजीकै खोजी गथ्र्यौं ।


Advertisement

एकाध पटक आफैंले मागेर पनि छापेको छु जस्तो लाग्छ । मुक्तक विधाका पनि एकाध त्यस्तै उम्दा लेखक थिए, जसका मुक्तक नियमित छाप्ने गरेका थियौं तर उनीहरूसँग खासै सम्पर्क छैन ।

पाण्डेजीसँग भने अहिले पनि साहित्यिक फोरमहरूमा बरोबर भेट हुने गरेको छ, भइरहेको छ । 


Advertisement

पेशाले स्वास्थ्यकर्मी हुन् डा. पाण्डे । राष्ट्रियस्तरमै जनस्वास्थ्यविद्को राम्रो छवि बनाएका छन् उनले । यसबाहेक साहित्य सेवालाई पनि सँगसँगै लान सक्ने प्रतिभामा पर्छन् उनी ।

मेरो अनुमान गलत छैन भने मेडिकल साइन्स पेशा हो भने साहित्य सिर्जना रुचि हो उनको । उनका दर्जनौं गहनतम कृति प्रकाशित छन्, जसमा दुईतिहाइ लघुकथा सम्बन्धित हुनुपर्छ जस्तो लाग्छ । यसैमध्ये ‘मृत्युको आयु’ पनि एक हो । यद्यपि यो लघुकथा संग्रह नभई उपन्यास हो तर जग लघुकथाबाटै उठेको छ, लघुकथाले नै बोकेको छ बढी पनि । 

सरसर्ती हेर्दा लघुकथा संग्रह नै हो कि जस्तो पनि लाग्न सक्छ कसैलाई तर कथावस्तु आपसमा शृंखलाबद्ध भएर यसरी उनिएको छ कि जसले उपन्यास बोकेको मात्र छैन, उपन्यास शैलीको नौलो धरातल नै खडा गरिदिएको छ ।

यस अर्थमा उपन्यास लेखन शैलीमा नयाँ आयाम थपिएको छ भन्नु मनासिव हुनेछ प्रस्तुत कृतिबाट । यसको संकेत जानेमाने साहित्यकार अमर न्यौपानेले पनि गरेका छन्, यसै पुस्तकमा कतैतिर ।

पुस्तकमा ६७ वटा लघुकथा छन्, जुन आफैंमा स्वतन्त्र पनि छन् र उपन्यासलाई सिंगो स्वरूप दिएर उभिएका पनि छन् ।

उपन्यास काम र मामको खोजीमा खाडी मुलुक पुगेका कुनै अपरिचित पात्रको अकाल मृत्युदेखि उसको शव व्यवस्थापन, घाट व्यवस्थापन र १३ दिने क्रियाकर्मको सेरोफेरोमा घुमेको छ । उपन्यासले विदेशी भूमिमा प्राण त्याग्ने अधिकांश नेपालीहरूको कथा र व्यथालाई राम्रोसित सम्बोधन गरेको छ तर कथावस्तु भने नितान्त स्वैरकल्पनामा आधारित छ । त्यसैले हुनुपर्छ कसैको जीवनमा मिल्न गएमा संयोग मात्र हुनेछ भनेर लेखक बोलेका छन् पुस्तकको शुरूमै ।

हो, कथा कल्पना नै हो, कल्पना विना कथा नै बन्दैन तर कथाले जीवन र जगतलाई बोकेको हुनुपर्छ, छोएको हुनुपर्छ । यस अर्थमा उपन्यास पूर्णतः सफल र लेखकको श्रम सार्थक भएको छ भन्नुपर्छ ।   

उपन्यासमा धर्म, संस्कार, संस्कृति, संस्कार र परम्पराका नाममा झांगिँदै आएको कुरीति कुसंस्कारलाई राम्रैसित गोडमेल गरेका छन् लेखकले । कतैकतै कडै अप्रेसन गर्न पनि पछि परेका छैनन् उनी ।

मानज अंगमा पलाएका ऐजेरु काट्न र पिलो निचोर्न कुशलतापूर्वक कैची चलाउँछन् चिकित्सकहरू । त्यसैले हुनुपर्छ कलम रूपी कैचीले कुशलतापूर्वक सामाजिक कुरीति छिमलेका छन् डा. पाण्डेले यस कृतिमा ।  

शुरूदेखि अन्त्यसम्म पाठकले व्यंग्यात्मक रसको स्वाद राम्रैसित पाउने छन् यस कृतिमा । यसले शोकको बेला मृतकको घरमा लाग्ने आफन्तको भीडप्रति व्यंग्य पनि गरेको छ, शोक वक्तव्य, समवेदना, श्रद्धाञ्जलिको परम्परा प्रतिको व्यंग्यलाई स्थान दिएको छ । यसबाहेक हाम्रा घाट व्यवस्थापन प्रवृत्तिप्रति व्यंग्य छ, शव व्यवस्थापन प्रवृत्तिप्रति व्यंग्य छ, घरपरिवार समाज तथा सामाजिक परम्पराप्रति व्यंग्य छ, मृत्युपछि गर्नुपर्ने लम्बेतान क्रियाकर्मप्रति व्यंग्य छ, गरुड पुराण तथा कर्मकाण्डका पोथीप्रति व्यंग्य छ, तिनलाई भजाएर पेशा चलाउने पण्डित पुरोहितप्रति व्यंग्य छ र अन्त्यमा जिउँदो छँदा चुइँक्कसम्म नबोले पनि मरेपछि लासमा टेकेर कथा, कविता तथा लेख निबन्धका ठेली तयार पार्ने लेखक तथा साहित्यकारप्रति समेत व्यंग्य समेटिएको यस पुस्तकमा ।

आफ्ना रचनामार्फत् शुरूमा धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमा देखिएका कमीकमजोरी केलाएर अन्त्यमा सुधारका लागि मीठो सन्देश दिने लेखक पाण्डेजीको मूलभूत विशेषता हो, जुन यस पुस्तकमा पनि रामैसित प्रतिध्वनित भएको छ । 

लेखकले जीवन बोलेका छन्, जगत बोलेका छन्, जीवन र जगतको दर्शन बोलेका छन् । थाहा छैन उनले मृत्यु बुझ्न र बुझाउन मृत्युको आयु लेखेका हुन् कि जीवन बुझ्न र बुझाउनका लागि । लाग्छ दुवै हो । न मृत्यु विना जीवन बुझिन्छ, न जीवन विना मृत्यु बुझ्न सकिन्छ । जीवन र मृत्यु सँगै आएका हुन्, सँगै रहेका छन् र सँगसँगै जान्छन् पनि । आखिर उनीहरूबीचको दूरी भन्नु नै कति छ र निमेष बराबर नै त हो । उनीहरूलाई बुझ्न र बुझाउन एकअर्कोलाई केलाउनैपर्छ, खेलाउनैपर्छ । त्यसै भएर नै हुनुपर्छ सायद मृत्युको आयु रोजेका हुन्, मृत्युको आयु नापेका हुन् उनले शीर्ष भूमिकामा । 

जीवन र मृत्युको अन्तर सम्बन्ध खोज्न लेखक कहिले वेदान्तको नजिक पुगेका छन्, कहिले गीताको नजिक पुगेका छन् । प्रसङ्ग अनुसार पाठकले गीता दर्शनको दर्शन पाउनेछन्, उपनिषद्को आलोकमा पुुग्ने अवसर पनि पाउने छन् । खासगरी कठोपनिषद् र बृहदारण्यक उपनिषद्को राम्रो छाप भेटिन्छ उपन्यासमा । 

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा काम गर्दैै आएका लेखक पाण्डेले कोभिड–१९ को महामारीका बेला निकै पसिना बगाएका छन् । कोभिड–१९ को उत्पत्तिदेखि विश्वमा त्यसले पारको र पार्न सक्ने प्रभाव र बच्ने तरिकाबारे उनी जति बोलेका थिए, बोलेका छन् सायद अरु कोही पनि बोलेका छैनन्, थिएनन् । यस सम्बन्धी उनका विचार तथा विश्लेषण लोकान्तर डटकममा हप्ताको एक पटक त्यस्तै परे २–२ पटक पनि प्रकशित हुने गरेको थियो ।

प्रिन्ट मिडिया र श्रव्यदृश्य माध्यमले समेत उनका विचारलाई उत्तिकै प्राथमिकतामा राख्ने गरेकै हुन् । एकाधपटक राय सल्लाहका लागि प्रधानमन्त्रीले राखेको विज्ञ समूहको मिटिङमा समेत देखा परेका थिए । 

त्यतिबेला लागेको थियो यस पटक सरकारले राम्रै सम्मान गर्नेछ उनलाई तर पुरस्कार छाडौं एउटा पदकले समेत पत्याउन चाहेनन् सरकारमा हुनेहरूले । संविधान दिवसको दिन पदक पाउनेहरूको नामले अखबारको पाना भरिए तर उनी भने त्यसमा पनि अटेनन्, अटाएनन्, अटाइएनन् । सरकारका नजिक हुने, पार्टी र गुटमा हुने धेरैले पदक पाए, नपाउनुपर्नेेले पनि पाए, पाउन नहुनेले पनि पाए । पाए मात्र होइन, थुप्रैले पाए तर पाउनैपर्नेले भने पाएनन् ।

यसको अर्थ सबै त्यस्तै थिए भन्ने होइन । अपवादमा एकाध पाउनुपर्नेले पनि पाएका छन् तर पाण्डेजी लगायत पाउनुपर्ने थुपै्रले भने पाएका छैनन् । 

आफ्ना विचार, टिप्पणी तथा कृतिहरूमा पाण्डेजी पहिले समाजलाई हेर्छन्, त्यहाँका बेथितिलाई केलाउँछन् अनि सुधारका लागि समाजलाई झक्झक्याउँछन् । मृत्युको आयु उपन्यास यसैको प्रमाण हो । यद्यपि कतिपयलाई नकारात्मक पक्ष हावी भयो कि जस्तो पनि लाग्न सक्छ उपन्यासमा तर कुरो त्यसो होइन । रूपमा मात्र त्यस्तो देखिएको हो, सारमा होइन ।

सकारात्मक हुनकै लागि, सकारात्मकताको महत्त्व बोध गराउनकै लागि पनि नकारात्मकतालाई केलाउनुपर्छ, चर्चा गर्नुपर्छ । यहाँ भएको पनि यस्तै हो । वास्तवमा उपन्यास सकारात्मक हुनकै लागि हो, सकारात्मकताको महत्त्वबोध गराउनकै लागि हो, जुन कुुरा प्रत्येक प्रसङ्गका अन्त्यमा आएको २–४ लाइन आफैंले प्रस्ट पारेको छ  । 

जीवन जिउन सबै चाहन्छन् । जिउन पाउनुपर्छ पनि तर आफ्नो जीवन जिउने नाममा अरुको बाटो अवरुद्ध गर्न भने हुँदैन । अन्यथा घोर अनिष्ठ निम्तिन्छ, बेथिति पलाउँछ, कुरीति तथा कुसंस्कारले प्रश्रय पाउँछ र सबैले दुःख पाउनुपर्छ । उपन्यासले दिन खोजेको सारभूत सन्देश यही नै हो जस्तो लागेको छ मलाई ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्