×

NMB BANK
NIC ASIA

अनुभव

कोरोनाकालमा श्रीमतीलाई नै झुक्याएर अपत्यारिलो रक्तदान !

चैत १४, २०७७

NTC
Premier Steels
  • अर्जुन मैनाली, अमेरिका 

आजकल साथीहरूले परिचय गराउनु पर्दा मलाई ‘ही इज द ब्लड डोनर’ भन्छन् । त्यो सुन्दा मलाई धेरै खुशी लाग्छ ।

Muktinath Bank

मेरो बच्चाहरूको नसामा मेरो रगत बगिरहेका छन् । विश्वभरमा मैले दान गरेको रगतबाट बाँच्ने ती सबै मेरै परिवारका सदस्य जस्तै लाग्छ । किन नलाग्नु र ! सन् १९८७ देखि अहिलेसम्म ६ वटै महादेशका १७ देशमा १९५ पटक रगत दान गरिसकेछु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘९७.५ लिटर !’ यति परिमाणबाट ५८५ जनासम्मलाई बचाउन सहयोग हुन्छ । केहीलाई भए पनि मेरो आफ्नै रगत दिइ बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ भन्ने भावनाले पटक–पटक संसारका कुना–काप्चामा पुगेर रक्तदान गर्ने गरेको छु । 


Advertisment
Nabil box
Kumari

बिरामीलाई रगत दिएर बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यस्तो भएता पनि धेरै बिरामीले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं ।

Vianet communication

करीब ३३ वर्षअघि म रक्तसञ्चार सेवा केन्द्र काठमाडौंमा गएको थिएँ । त्यहाँ श्रीमतीको उपचारका लागि २ पोका रगत लिन एक श्रीमान् आएका थिए । रक्तसञ्चार सेवामा पर्याप्त रगत थिएन । त्यहाँका कर्मचारीले ती श्रीमान्लाई श्रीमती बचाउन आफैं नै रगत दिनु न भन्दा कमजोरी पो भइने हो कि भन्ने डरले रगत दिएनन् । त्यस्तो स्थिति देखेपछि मैले रगत जरुरी पर्नेहरूका लागि नियमित रूपमा रक्तदान गर्छु भन्ने प्रण गरें ।

रक्तदान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउन प्रयास गरें । रक्तदान कार्यक्रमहरू सञ्चालन गरें । सन् १९९० मा रक्तदान गरेको १ घण्टापछि कम्तिमा वर्षको एक पटक रक्तदान गरौं भन्ने नारा लिएर नेपाल अधिराज्यव्यापी ३१ दिनसम्म लगातार बाइसाइकल यात्रा गरें । 

रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको सामूहिक प्रयासमा ब्लड डोनर्स एसोसिएसन नेपाल संस्था गठन गर्‍यौं । म संस्थापक सदस्य थिएँ । पछि अमेरिकी नेपाली समुदायमा रक्तदानलाई स्थायित्व प्रदान गर्न ब्लड डोनर्स अफ अमेरिका र अन्य देशका नेपाली रक्तदाता समेट्दै इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स संस्था बनाएँ ।

यसरी स्थानीयदेखि राष्ट्रिय अनि अन्तर्राष्ट्रियसम्म परिणाममुखी काम गर्न सकेकोमा धेरै–धेरै खुशी लागेको छ । 

रक्तदानप्रति उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भइसकेको छ । छरछिमेक तथा टोल र विभिन्न संघसंस्थाका मानिसहरू मेरो नामलाई रक्तदानको पर्यायवाची अर्थ्याउन थालेका छन् । दुःख आखिर कहाँ छैन र ? ठाउँ, परिवेश, घटनाक्रमले मानव जातिलाई ल्याउने फरक–फरक खालका दुःखहरू धेरै रहेछन् ।

२०१६ जुनमा अफ्रिकाको मलावी देशमा खाद्य संकट भएपछि आपतकाल घोषणा गरिएको समाचार सुनेको थिएँ । अझ धेरै कुरा थाहा पाउन गूगलमा सर्च गरें । अर्को कुरा थाहा भयो, अफ्रिका महादेशका धेरैजसो बिरामीले चाहिएको बेलामा रगत पाउँदा रहेनछन् । त्यसैले त्यहाँका युवामा कम्तिमा वर्षको एक पटक रक्तदान संस्कृति बसाउन प्रयास गर्न मन लाग्यो । 

न्यूयोर्कमा रहेको बिमा कम्पनीमा मेरो सानो जागिर थियो । न्यूयोर्कबाट अफ्रिकाका देशहरूमा जान हवाइजहाजबाट नै १५–२० घण्टा लाग्दो रहेछ । मेरो लागि टिकट पनि धेरै महंगो थियो । यसो सम्झें, रगत नै नपाएर विचरी गर्भवती र सुत्केरी महिलाले जीवन गुमाउनु भनेको म जस्तो रक्तदाताको लागि साह्रै लाजमर्दो कुरा थियो । गर्भवती महिलालाई गाह्रो परिस्थितिमा आफ्नो रगत नै दिएर बचाउने कोही रहेछन् भन्ने विश्वास दिलाउनु थियो । यही भावनाले नै मलाई अफ्रिकामै जाउँजाउँ लागि रह्यो । 

आफू काम गर्ने संस्थासँग पैसा ऋण लिएरै भए पनि त्यहाँ गएँ, उपस्थित ३ दर्जन स्वयंसेवी, रक्तदाताका सामुन्ने रक्तदान गरें । रक्तदानका आफ्ना अनुभव सुनाएँ । रक्तदान कार्यक्रम गर्न १ हजार डलर सहयोग गरें । त्यसपछि युगाण्डामा रक्तदान गरें । इथियोपियामा रक्तदान गरें । जुन १२, २०१९ का दिन, मैले रुवान्डाको किगाली अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै रक्तसञ्चार सेवा केन्द्रमा गएर रक्तदान गरें । जुन १३ र १४ मा त्यहाँ विश्व स्वास्थ्य संगठनको विश्व रक्तदाता दिवस २०१९ लाई सम्बोधन गरें । त्यहाँ रक्तदान उत्प्रेरणाका कार्यपत्र पनि प्रस्तुत गरें । १५ देशका २५० जना विशिष्ट महानुभावको उपस्थित थियो ।

संसारकै गरीब तथा जातीय हिंसाका कारण धेरैले जीवन गुमाएको देश डेमोक्र्याटिक रिपब्लिक कङ्गोमा गएर रक्तदान गर्न जुलाई २६, २०१९ मा कङ्गोको न्यूयोर्कस्थित कन्सुलेट कार्यालयमा भिसाको लागि निवेदन गरें तर भिसा पाइनँ । त्यसपछि केन्या गएँ । केन्यामा सेप्टेम्बर ११, २०१९ मा विशाल जनसहभागिताबीच रक्तदान गरें । रक्तदान कार्यक्रममा स्वास्थ्य मन्त्रीको उपस्थिति थियो ।

सम्बोधनको क्रममा मन्त्रीले रक्तदाता अर्जुन मैनालीको उपस्थिति र रक्तदानले हाम्रा जनतामा रक्तदान गर्न उत्प्रेरणा हुन्छ भन्दा धेरै आनन्द आयो । खुशी लाग्यो । आफूले पाएको सबै दुःख  बिर्सें । रक्तदान अभियान अन्तर्गत आयरल्याण्ड जाने बेला राउन्ड ट्रीप टिकट, होटलको बसाइ आदि गरेर १ महिनाको तलब पूरै खर्च हुने बजेट बन्यो । धेरैबेर लगाएर सोचें, यत्रो खर्च र दुःख गरेर आयरल्यान्डमा गएर रक्तदान गर्न कति उचित होला भनेर सम्झेको थिएँ ।

एनआरएन आयरल्याण्डका अध्यक्षले ‘अहिले जाडोको मौसम भएकाले रक्तदान गर्न साथीहरूले खासै इच्छा राखेनन्’ भन्नुभयो । म झन् दृढ भएँ । त्यहाँ गएर उपस्थित १९ जना अगाडि म एक्लैले रक्तदान गरें । यसरी म जुन ठाउँमा रक्तदान गर्न भनेर गएँ, पुग्नासाथ रक्तदान गर्थें, रक्तदान उत्प्रेरणा गर्थें, त्यसपछि तुरुन्तै घर फर्कन्थें । 

रक्तदानको सिलसिलामा रमाइला क्षणहरू अक्सर आइरहन्छन् । संसारभर विभिन्न नेपाली संघसंस्थाले समेत रक्तदानका कार्यक्रम आयोजना गर्न थालेका छन् । कतिपय सम्भावित रक्तदाता र ब्लड डोनर सेन्टरबीच एक पुल बन्ने मेरो कोसिस सफल भएको अनुभव भएको छ । आज यहाँसम्म आइपुग्दा नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रूपमा लिन थालेका छन् । मेरो फेसबूकका साथीहरूलाई जन्मदिनको दिन शुभकामना दिँदै अर्को वर्षको जन्मदिन रक्तदान गरेर मनाउन अनुरोध गर्ने गरेको छु । अहिले जन्मदिनको अवसरमा रगत दान गर्नेहरूमा मनग्य भेटिन थालेका छन् । यो सबै देख्दा मनैदेखि खुशी हुन्छु । 

मैले अरुको दुःखमा मात्रै होइन, आफ्नै दुःखमा पनि रक्तदान गरेको छु । सन् २०१८ मार्चको दोस्रो हप्तातिर काठमाडौंबाट मेरा आफन्तले ‘अर्जुन बाबु, बुवा सिकिस्त बिरामी हुनुहुन्छ, नआत्तिनु, उपचार गर्न हामी अस्पताल लैजाउला’ भनेर इमेल लेख्नुभयो । त्यतिखेर मेरो देब्रे मिर्गाैलामा रहेको पत्थरी झिक्नको लागि न्यूयोर्कमा डाक्टरसँग सल्लाह गर्दै थिएँ ।

तत्कालै  मलाई काठमाडौं नगई नहुने अवस्था आयो । केही समय कुरेर ‘मिर्गाैलाको शल्यक्रिया गरौं’ भने बुवाको स्वास्थ्य तलमाथि भइहाल्यो भने भेट्नै नपाइने हो कि भन्ने चिन्ता एकातिर थियो । अर्कोतिर ‘शल्यक्रिया नगरी हिँडौं’ भने कतै हवाइजहाजमा उडेकै बखत मिर्गाैला दुःखेर थचक्क भइन्छ कि भन्ने डर पनि उत्तिकै थियो । तर बुवाको जीवनभन्दा ठूलो केही होइन भन्ने सम्झें ।

काठमाडौं गएँ । बुवाको बायोप्सी परीक्षण गर्दा चिकित्सकले फोक्सो बिगारेका कारण ६ हप्तासम्म अक्सिजन दिनुपरेको थियो । त्यसपछि बल्ल क्यान्सरको औषधि किमोथेरापी शुरू गर्‍यौं । बुवाले १ वर्षजति नयाँ जीवन पाउन सक्ने सम्भावना छ भने डाक्टरहरूले । यसैबीच २०१८ मे २६ मा एनआरएन थाइल्याण्डले रक्तदान कार्यक्रम राख्यो । त्यहाँ २०१४ अप्रिल २८ देखि रक्तदान कार्यक्रम गराउन पहल गर्दै आएको थिएँ । उनीहरूलाई हौसला प्रदान गर्न ८ मेमा थाइल्याण्डमा गएर रक्तदान गरें । त्यसपछि म न्यूयोर्क फर्कें । 

८ महिनापछि डाक्टरले बुवालाई किमोथेरापी दिन छोडिसकेका थिए । नदुख्ने औषधि मात्र दिएका थिए । डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलिसक्नुभएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम हप्तामा करीब ३ महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १ देखि लागू हुने गरी बेतलबी छुट्टी मिलाएँ । साथी विश्वराज बास्तोलासँग केही पैसा सापटी गरेर न्यूयोर्कदेखि काठमाडौंको एकतर्फी जवाइजहाजको टिकट लिएँ ।

मेसेन्जरबाट फोन गरेर बुवालाई भनें, ‘अप्रिल २ मा काठमाडौं आइपुग्दैछु बुवा ।’ बुवालाई भिडियो कलमा हेरें, वाक्य अड्किएर धेरै बोल्नै सकिनँ । बुवासँग मेरो हरेक दिनजसो भिडियो कल हुन्थ्यो । बुवाले ‘बावु अहिले आउनु पर्दैन, अमेरिकाको भिसा लाग्नासाथ म त्यतै आइहाल्छु, पैसा नभएको बेलामा किन बढी खर्च गर्छस्’ भन्नुभयो । घरका अरु सदस्य, आफन्तले पनि बुवासँग केही महिना समय छ भन्ने अनुमान गरेका थिए । तर बुवाले एप्रिल १ तारिख बिहानै करीब ४ बजेतिर हामी सबैलाई छोडेर जानुभयो । बहिनीले ‘अब बुवा रहनु भएन’ भनी । मेरो भक्कानो फुट्यो । त्यो दिन पापमोचिनी एकादशी रहेछ । बुवाले १ दिन बढी पर्खिनु भएन । बुवाको अन्तिम समयमा बुवासँग ‘हजुरको कारणले यस धर्तीमा जन्मिएँ, मलाई राम्रोसँग हुर्काउनुभयो, स्याहारसुसार गर्नुभयो, म हजुरप्रति कृतज्ञ छु’ भन्दै बुवाको दुखेका खुट्टा सुम्सुमाउने इच्छा थियो, पूरा हुन पाएन । 

आँसु धेरै बगेकाले आँखाका डिल सुन्निएर आँखा पुरिन लागेका जस्ता भएछन् । लामो–लामो सास फेरिँदै घुक्कघुक्क हुँदो रहेछ । यसरी रुनु हुँदैन भन्ने थियो, तर पनि अन्तर्मनदेखि आएकाले रोक्न सकिएन । मलाई सान्त्वना दिन केहीबेरमै धेरै साथीभाइ उपस्थित भए । साथीहरूको समवेदनाले निकै सजिलो भयो । संसारमा सबैथोक नासवान छ भन्ने सत्य कुरालाई हृदयंगम गरें । यही कुरामा चित्त बुझाएँ । नेपालमा आफन्तसँग ‘अब मलाई नपर्खिनु, बुवाको राम्रोसँग दाहसंस्कार गरिदिनू, दागबत्ती दिन भाइ छँदैछ’ भनें । भाइ पनि २ हप्ता अगाडि मात्रै कोलोराडोबाट नेपाल गएको थियो । बुवा हुँदा धेरै ठूलो भरोसा हुन्थ्यो । केही पर्दा बुवाले साथ दिनुहुन्थ्यो । ठीक सल्लाह दिनुहुन्थ्यो । मलाई रक्तदानमा पनि हौसला दिइरहनुहुन्थ्यो । 

यस्तै–यस्तै सम्झनाले न्यूयोर्कदेखि काठमाडौंको यात्रा सकिएको पत्तै भएन । एयरपोर्टमा बहिनी, फुपू, मितज्यू र साथीहरू आएका रहेछन् । मलाई सिधै किरिया घर लिएर गए । त्यहाँ भेट्न आउनेहरूको घुँइचो थियो । सबैले ‘तपाईंको बुवा ठूलो हृदय भएको असल व्यक्ति हुनुहुन्थ्यो’ भन्दै बुवाले समाजमा पुर्‍याएका योगदानका बारेमा कुरा गर्दथे । १२–१३ दिनसम्म किरियापुत्री घरमा आफन्त, शुभचिन्तक, फुपू, १३ दिने दाजुभाइ, तिनका दुलहीहरूले राम्रोसँग सघाए । बुवाको काजकिरिया पनि राम्रोसँग गर्‍यौं । आमा र भाइहरू अलिक धार्मिक छन् । उनीहरूलाई यस्तै रीतिरिवाज हुन्छ भन्ने ज्ञान रहेछ । तर बहिनीले आफूलाई धेरै दिनसम्म सम्हाल्न सकिनन् । बहिनीले मलाई ‘दाइ बुवा एकछिन बाहिर कतै जानुभएको छ, अहिले एकछिनमा आउनुहुन्छ जस्तो लागिरहन्छ, भन्थिन् । यसरी १७–१८ दिनको एकदमै दुःखद दिन बिताएँ । अमेरिका फर्किन मसँग चाहिने जति खर्च थिएन । बहिनीले सहयोग गरी । १८ तारिख न्यूयोर्क फर्किने टिकट बनाएँ । अमेरिका फर्किने दिन एबीसी टेलिभिजनकी सन्तोषी अधिकारीले देशवासीमा रक्तदान गर्न उत्प्रेरणा हुने खालको अन्तर्वार्ता लिइन् । मैले आफूले गरेका कामबारे जानकारी गराएँ ।

न्यूयोर्क फर्केर एक दिन आराम गरेपछि अप्रिल २० मा क्यानडा गएँ । त्यहाँ पनि नेपालीहरू साथ रक्तदान गरें । उपस्थित भएकाहरूमा हौसला प्रदान गरें । बुवाको बियोगको दुःखका समयमा पनि रक्तदान क्रियाकलापलाई रोक्न सकिनँ । जतिधेरै रगत दान गर्‍यो त्यति धेरैले पुनः नयाँ जीवन पाउँछन् भन्ने मलाई लागि रहन्थ्यो । यही भावनाले मलाई सधैं रक्तदान गर्न प्रेरित गरिरहन्छ ।

कोरोना महामारीको शुरूआती दिनहरूमा हाम्रो परिवार अत्यन्तै त्रसित थियो । हाम्रै आँखा अगाडि लाखौं मानिस बिरामी भएका थिए । हजारौंले जीवन गुमाइसकेका छन् । त्यस्तो बीचमा हामी छौं । हामी कुनै पनि बेला संक्रमित हुन सक्छौं कि वा यो जीवन पनि गुम्छ कि भन्ने त्रासले जतिबेलै सताइरहेको थियो । रोगको समाचारबाट घरका परिवार नडराउन भनेर हामी रेडियो, टीभी एकदमै कम हेर्थ्यौं । बरु बिहान हरेक दिन पुजा गर्थ्यौं एकसाथ । भान्छामा सबैजना हुँदा खाना पकाउने मात्र होइन, हामीमा त्रास पनि कम हुन्थ्यो । परिवारका सबै सदस्यसँगै बसेर यी काम गर्दा वास्तवमा कोरोना के भइरहेको छ भन्ने उति चासो पनि हुँदैनथ्यो । यो महामारीको कारणले धेरै ब्लड बैंकका पूर्व निर्धारित रक्तदान कार्यक्रमहरू रद्द भए । रगतको आपूर्ति घट्यो । अस्पतालमा बिरामीले रगत पाउन सकेनन् । यस्तै बीचमा न्यूयोर्क ब्लड सेन्टरले बिरामीको लागि रगत र रक्त तत्व एकदमै कम छ भन्दै मलाई ईमेल पठाइरहे । उनीहरूले सामाजिक दूरी राख्दै मुख र नाकमा मास्क लगाएर सुरक्षित तरिकाले रक्तदान गर्न सकिन्छ भन्न थाले । अमेरिकन रेडक्रस रक्त सेवाले पनि त्यस्तै भन्यो ।

मलाई पनि यस्तै महामारीको बेलामा झन् बढी रक्तदान गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले अप्रिल २४ मा रक्तदान गरें । घर फर्केपछि आज मैले रक्तदान गरें नि भनेर श्रीमतीलाई भनें । समुदायका मानिसहरूलाई पनि रक्तदान गर्न हौसला होस् भनेर सामाजिक सञ्जालमा रक्तदान गर्दै गर्दाको फोटो राखें । इमेल लेखें । श्रीमती डराउँदै, बाहिरको १ जना बिरामी बचाउन घरका चारैजना मार्ने भन्दै गाली गर्न थालिन् । मैले सम्झाउँदै रक्तदान गर्दैमा कोरोना सर्दैन भनेर बुझाउन प्रयास गरें । 

टेलिभिजनका समाचारमा दैनिक हजारौं जनाले जीवन गुमाएको समाचारहरू आइरहेका थिए । के कारणले यो रोग यति चाँडै फैलिन्छ भन्ने कसैलाई पनि थाहा थिएन । त्यसैले श्रीमतीले मेरो कुरा सुन्ने प्रयत्न नै गरिनन् । त्यसपछि हरेक २–३ हप्तामा ब्लड बैंकमा गएर प्लेटलेट्स दान गर्न थालें तर श्रीमतीलाई भनिनँ ।

यो कोरोनाको अवधिमा विभिन्न ८ वटा नेपाली संघसंस्थाले न्यूयोर्कमा रक्तदान कार्यक्रम राखे । करीब ६०० जना नेपालीहरूले रक्तदान गरे । रक्तदान गर्ने धेरैजसोले रक्तदान गरेका फोटोहरू सामाजिक सञ्जालमा राखे । रक्तदान गर्दैमा कोरोना लाग्दो रहेनछ भन्ने श्रीमतीलाई महसूस भएको जस्तो लाग्यो । मैले पनि पछिका दिनहरूमा खुसुखुसु ब्लड बैंक जाँदै रक्तदान गरेका धेरै फोटोहरू सामाजिक सञ्जालमा एकमुष्ट ६ वटा राखें । श्रीमती छक्क परिन् ।   

कोरोनो महामारीकै बीच काठमाडौंका अस्पतालका बिरामीलाई रगत उपलब्ध गराइराख्न ब्लड डोनर्स एसोसिएसन नेपालले हरेक दिन रक्तदान कार्यक्रम राखेको थियो । मैले पनि रक्तदान कार्यक्रममा आवश्यक खर्चको लागि ५० हजार रुपैयाँ सहयोग पठाएँ । ३ महिनाको अवधिमा १०० वटा रक्तदान कार्यक्रम गर्दा ६ हजार २७२ युनिट रगत संकलन भएछ । यसैगरी रक्तदान कार्यक्रम गरिरहनु भनेर फेरि २५ हजार थप सहयोग पठाएँ । नेपालमा कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम राख्न समन्वय गर्ने सक्रिय रक्तदाता अनिल रत्न तुलाधरलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको बाहुलीबाट ५० हजार नगदसहित वर्ल्ड ब्लड डोनर ह्युमानिटेरिएन अवार्डबाट सम्मान गरें । वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली संस्थाको अध्यक्षका हैसियतले समाजमा राम्रा काम गर्नेलाई सहयोग र सम्मान गर्न पाउनु पनि मेरो लागि ठूलै अवसर थियो । 

कोरोना महामारीमा रक्तदान गर्नु हुँदैन, रक्तदान गर्दा शरीरको प्रतिरक्षा प्रणाली कम हुन जान्छ भन्ने धेरैमा भ्रम थियो । अझ धेरै मानिसहरू डराएर घरमै बसेको अवस्था पनि थियो । यस्तै कारणले रगत संकलनमा कमी आएको थियो । बिरामीहरू बचाउन यस्तै गाह्रो परिस्थितिमा झन् बढी रक्तदान गर्नुपर्छ भन्ने लाग्यो । अप्रिल २४, २०२० देखि जनवरी १२, २०२१ को बीच मैले २३ पटक रगत र प्लेटलेट्स दान गरेछु । यो ९ महिनाको अवधिमा ११ लिटर दान गरेछु । यो सामान्य रक्तदान मात्रै थिएन । एक किसिमको असाधारण कार्य थियो । मेरो आफ्नै रगतले धेरै जनालाई बचाउन सहयोग मिल्यो ।

जनवरी १३, २०२१ मा न्यूयोर्क ब्लड डोनर सेन्टरकी निर्देशक डेब्रा केस्लेरले मलाई एउटा चिट्ठी पठाइन् । चिट्ठीमा अमेरिकाको खाद्य र औषधि प्रशासनद्वारा स्थापित नियमअनुसार सेन्टरले मेरा हरेक रगत र प्लेटलेट्स दानलाई अनुगमन गरिरहेको कुरा लिखिएको थियो । उनले १ वर्षको अवधिमा आफ्नो शरीरबाट निकाल्न मिल्ने जति परिमाण ८ महिनाकै अवधिमा निकालिकाले अब करीब ६ महिनापछि मात्र रक्तदान गर्न मिल्ने बताएकी थिइन् ।

जनवरी २६, २०२१ मा न्यूयोर्क ब्लड सेन्टरका अध्यक्ष डा. क्रिस्टोफर हिल्लियरले इमेल लेख्दै ‘समुदाय र मानवतामा वास्तवमा तपाईंको अविश्वसनीय र वीर सेवाको योगदानको लागि प्रेसिडेन्ट अवार्ड प्रदान गरेका छौं’ भने । उनले ‘कोभिडको समयमा रगत संकलनमा धेरै चुनौती थियो, हामीलाई ठूलो चिन्ता लागेको थियो । तपाईंका रगत र प्लेटलेट्स दानले हाम्रो समुदायको हित र सुरक्षाको लागि अविश्वासनीय रूपमा महत्त्वपूर्ण रह्यो । म त्यक्तिगतरूपमा धन्यवाद दिन्छु’ भनेका थिए ।

फेब्रुअरी ६, २०२१ मा न्यूयोर्क ब्लड सेन्टरले फेसबूक पेजमा ‘मैनाली रक्तदान नै गर्न अमेरिकाबाट युरोप जान्छन्, रगत दिएर त्यही दिन नै फर्किन्छन् । नोभेम्बर २४, २०२० मा करीब १२ बजेतिर मैनाली प्लेटलेट्स दान गर्दै थिए । त्यतिखेर नै कुनै ३० वर्षीय बिरामीलाई अर्जुनको प्लेटलेट्सको एचएलए मिल्ने भएकाले दान गर्न सक्छन् कि भनेर फोन आएको रहेछ । कस्तो संयोग हो ! सबै नर्सहरू चकित भए । अर्जुनका प्लेटलेट्सहरू बिरामी बचाउन तुरुन्तै काम लाग्ने भयो’ लेखेका रहेछन् ।

रक्तदान मेरो नशा भएको छ । एकोहोरो लागिरहेको छु । कतिधेरै उकाली ओराली र घुम्ती पार गरियो यकिन छैन तर आज यस विन्दुमा आइपुगेको छु । मलाई अरुको जीवन बचाउनका लागि रक्तदान गर्नमै सन्तुष्टि मिल्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x