१२ असार २०८३, शुक्रबार
समाजसेवा

रक्तदानका लागि सदैव तम्तयार हरिमोहन

भदौ १२, २०७८
रक्तदानका लागि सदैव तम्तयार हरिमोहन

मोरङको विराटनगरका हरिमोहन श्रेष्ठ ५३ वर्षका भए । ५३ वर्षको उमेरमा उनले ९० पटक रक्तदान गरिसकेका छन् तर उनले अहिलेसम्म कसैसँग पनि १ रुपैयाँ लिएका छैनन् ।

झापाको बैगुनधारामा जन्मेका हरिमोहनले १६ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेका थिए । ‘जेसिजले रक्तदान कार्यक्रमको आयोजना गर्थ्यो, गाउँकै दाइहरूले ‘निरोगी छौ रक्तदान गर’ भनेर भन्नुभयो । गरौंन त के हुँदो रहेछ भनेर गरें । पहिलो पटक रक्तदान गर्दा अलिअलि डर लाग्यो, पछि केही पनि भएन र केही नहुने रहेछ भनेर स्वास्थ्य नियमअनुसार गर्न थाले,’ उनले भने ।

युवा जोशजाँगरमा रक्तदान कार्यक्रम भन्नेबित्तिकै पहिलो नम्बरमा नाम लेखाएर रक्तदान गर्दा हौसला मिल्ने गरेको उनी सम्झिन्छन् ।

‘बिहान स्कूल लाग्थ्यो, दिनभरि पसलमा बस्थें, त्यहाँ आउने–जानेहरूले रगत अभावका कारणले मरेको खबर सुनाउँदा मलाई असाध्यै पीडा हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला रगत दिन जान पनि समस्या हुन्थ्यो । अहिले जस्तो प्रशस्त अस्पताल र सेवासुविधा नभएकै कारण अस्पतालका धेरै मानिसको अकालमै मृत्यु हुने गर्थ्यो । पहिला–पहिला संघसंस्थाहरूले रक्तदान कार्यक्रम गर्थे, तिनै कार्यक्रममा रक्तदान गर्थे ।’

पत्रपत्रिका पढ्दा ‘ब्लड बैंक’मा रगत बिग्रिने गरेको थाहा पाएको उनले बताए । उनले हाल ताजा रगत मात्रै दिने गरेका छन् । ‘राति १२ बजे पनि अस्पतालबाट फोन आउँछ, गएर रगत दिएर आउँछु,’ उनले भने । कोरोना महामारीमा पनि अस्पतालमै गएर रक्तदान गरेको उनी सुनाउँछन् । 

‘एक पटक घुम्नका लागि बैंङलुरु गएको थिएँ, त्यहाँ मेरो साथीको सानोबुवाको पनि साथी मलाया एपोलो अस्तालमा बिरामी भएर उपचारका लागि ल्याएको रहेछ, उहाँलाई ५–७ प्रिन्ट रगत चाहिन्छ भनेर अस्पतालले भनेको रहेछ,’ हरिमोहन सम्झिन्छन्, ‘ताजा रगतको खोजी उहाँहरूले गर्दै हुनुहुँदो रहेछ, मैले पनि एक पाउन्ड दिए ।’

उनको रक्तसमूह ‘ए पोजेटिभ’ हो । रगत चाहिँदा ‘ब्लड बैंक’भन्दा पहिला उनलाई फोन आउने गरेको छ । ‘३–३ महिनामा ब्लड दिन मिल्छ,’ श्रेष्ठले भने, ‘मेरो दिने समय पुगेको छैन भने मैले साथीहरूलाई भनेर ब्लड मिलाइदिने गरेको छु ।’

औषधि व्यवसायी संघ कोशी अञ्चलका महासचिव समेत भइसकेका श्रेष्ठको चिनजान समेत धेरै स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रकै अगुवासँग रहेको छ । ‘म नेवारको छोरो हुँ, मैले मुस्लिमलाई पनि रक्तदान गरेको छु, जातजातिभन्दा पनि जीवन ठूलो हो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘एक रात १२ बज्न लागेको थियो, फोनमा घण्टी बज्यो । नयाँ नम्बरबाट फोन आएकाले कसलाई के भएको रहेछ भन्ने सोच्दै फोन उठाएँ । एक जनाले आत्तिँदै भन्नुभयो – अस्पतालमा एक जनालाई तुरुन्त रगत चाहियो, सहयोग गरिदिनुपर्‍यो बाबु । म उठेर लुगा लगाएर गाडी लिएर हतारहतार गरेर अस्पताल गए । ती बिरामीलाई नोबेल मेडिकल शिक्षण अस्पतालमा राखिएको रहेछ । त्यहाँ गएर रगत दिएँ । रगत दिइसकेपछि मात्रै बिरामी को हो भनेर बुझें । सानो बच्चा रहेछ, बिहान–साँझ छाक टार्न पनि धौंधौं रहेछ, कमजोर भएपछि अस्पतालमा ल्याएको रहेछ उनको परिवारका सदस्य अस्पतालमा थिएन्न । मलाई फोन गर्ने ठेला चलाउने विराटनगरकै एक जना दाइ हुनुहुँदो रहेछ ।’

‘कसैले तपाईं ब्लड बैंक होइन भनेर पनि फोन गर्छन्,’ उनी सम्झिन्छन् ।

रगत दिइसकेपछि धेरैले खानेकुरा दिने गरेको उनले बताए । तर उनी जुस फलफूल लगायतका खानेकुरा किनेर बिरामीलाई नै दिने गर्छन् । ‘अहिलेसम्म रगत दिइसकेपछि बिरामीको तर्फबाट १ कप चिया पनि खाएको छैन । अस्पतालमा १ दिन रगत दिएर हिँड्न खोज्दा १ जना बिरामीका आफन्तले पैसा दिन खोजे, त्यो दिन म उहाँसँग रिसाए र उहाँलाई सम्झाउँदै भने – मलाई दिने पैसाले तपाईंको बिरामीलाई उपचार गर्नुहोस्, भिटामिन किनेर खुवाउनुहोस्,’ उनले सम्झिए ।

रगत पाएका धेरैले फोन गरेर खुशी व्यक्त गर्ने गरेका उनले बताए । ‘तपाईंका कारण मैले नयाँ जीवन पाए मेरो भगवान् नै तपाईं हो पनि भन्छन् । उहाँहरूसँग जम्मा मैले माग्ने भनेको आशिर्वाद हो । मलाई आशिर्वाद दिनुहोस्, केही पनि चाहिँदैन भन्छु, उहाँहरू पनि खुशी हुँदै जानुहुन्छ । मैले रगत दिएको बिरामी बाँचेन भनेको सुन्दा नरमाइलो लाग्छ,’ उनले भने । आफूले रगत दिएका बिरामीलाई आफैंले पनि फोन गर्ने गरेको उनी सुनाउँछन् । 

‘रगत चाहियो भनेर पत्रकारहरूलाई फोन आउँदो रहेछ, उहाँहरूले पनि मलाई नै भन्नुहुन्छ । अहिलेसम्म कुनै रोग लागेको छैन र रगत दिन पाइरहेको छु । निरोगी भएसम्म दिन्छु । मलाई धेरै पटक रगत दिएर नाम कमाउने रहर छैन । सकेका दिनसम्म दिन्छु, नसक्दा त केही लागेन,’ उनी भन्छन्, ‘अहिलेका युवा पुस्तामा सहयोगको भावना हराउँदै गएको छ । आफ्नो रगत किन दिनु भन्छन्, दिए पनि पैसा बार्गेनिङ गरेर लिन्छन्, यस्ता कुराले पिरोल्ने गर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्