तालिबानले आत्मघाती आक्रमणकारीहरूको खतरनाक बटालियन तयार पारेर अफगानिस्तानसँग जोडिएको ताजिकिस्तान र चीन सीमामा तैनाथ गरेको छ ।
यी आक्रमणकारीहरूलाई विशेषगरी बदख्शान प्रान्तमा तैनाथ गरिनेछ । उक्त प्रान्तका उपगभर्नर मुल्ला निसार अहमद अहमदीले देशको उत्तरपूर्वी क्षेत्रमा बटालियन बनाइएको विषयमा जानकारी दिए ।
बटालियनको नाम लश्कर-ए-मन्सुरी हो र यसलाई देशका सीमाहरूमा तैनाथ गरिनेछ । यही बटालियनले अफगान सुरक्षाबलहरूका विरुद्ध आत्मघाती आक्रमण गर्ने गरेको थियो ।
अहमदीका अनुसार, यो बटालियनले नै अमेरिकालाई अफगानिस्तानमा हराएको हो । यिनीहरू विस्फोटक भरिएको ज्याकेट लगाएर नडराइकन आफ्नो लक्ष्यलाई ध्वस्त पार्न सक्छन् ।
लश्कर ए मन्सूरीबाहेक बद्री ३१३ बटालियनमा पनि आत्मघाती आक्रमणकारी राखिएका छन् । यस बटालियनलाई काबुल विमानस्थलको सुरक्षामा तैनाथ गरिएको छ । कुनै पनि कमान्डो दस्तामा हुने हतियार र उपकरण उनीहरूसँग छ ।
उनीहरू उच्च प्रशिक्षणप्राप्त र अमेरिकी हतियार सहितका छन् । तालिबान कमान्डोसँग घातक एम ४ राइफल, बडी आर्मर, नाइट भिजन डिभाइस, बुलेटप्रूफ ज्याकेट र सशस्त्र अम्भी गाडी छन् ।
तालिबान कमान्डोहरू काबुलको सडकमा गश्ती गरिरहेका छन् । अफगान मिडियाका अनुसार, बद्री कमान्डो दस्तालाई सुरक्षा व्यवस्था बलियो बनाउनका लागि तैनाथ गरिएको हो ।