०६ साउन २०८३, बुधबार
सर्वोच्चमा विद्रोह

राणाले भने– एक्जिट लिन्छु, तर समय चाहिन्छ, न्यायाधीशहरूको जवाफ– 'त्यसो भए बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्छौं'

कात्तिक १५, २०७८
राणाले भने– एक्जिट लिन्छु, तर समय चाहिन्छ, न्यायाधीशहरूको जवाफ– 'त्यसो भए बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्छौं'

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बहिर्गमनका लागि तयार भएर त्यसको प्लानका लागि समय मागेपछि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका हुन् ।

कहिले राजीनामा दिने, कसरी दिने भन्ने विषयमा राणाबाट ठोस प्रस्ताव नआउँदासम्म अन्य मुद्दा नहेर्ने अडान भने न्यायाधीशहरूले कायमै राखेका छन् ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरिसकेपछि वा हेर्नुअघि समय मिलाएर न्यायाधीशहरूको बैठक समेत जारी रहने भएको छ ।

'उहाँ (प्रधानन्यायाधीश जबरा)ले एक्जिट लिने हो भन्नुभयो तर, अरू प्लानिङ आएन । हाम्रा साथी (वार्ता टोली सदस्य)हरूले एक्जिटको प्लानिङ चाहियो भन्नुभाछ । उहाँले त्यसका लागि केही समय चाहिन्छ भनेपछि ठोस प्रस्ताव नआउँदासम्म बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने निर्णय भएको छ,' बैठकपछि एक न्यायाधीशले लोकान्तरसँग भने ।

बहिर्गमनको ठोस प्रस्ताव नआउँदासम्म बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोक्न र आफ्नो इजलास नराख्न न्यायाधीशहरूले जबरालाई आग्रह गरेका थिए ।

सोही अनुसार जबराले आफ्नो इजलास नराखेर बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोकेपछि न्यायाधीशहरू इजलासमा बस्ने निर्णयमा पुगेका हुन् ।

'एक्जिटको ठोस प्लान नआउँदासम्म आफ्नो इजलास नराख्नुस्, बन्दीहरूको मात्र निकाल्नुस् भन्ने कुरा साथीहरूले गर्नुभएको थियो, त्यहीअनुसार कज लिस्ट निस्कियो ।​ उहाँले एक्जिटको प्लानिङ छ पनि भन्नुभयो, सोही कारण यसलाई सकारात्मकरूपमा लिएर बन्दीहरूको मुद्दा हेर्ने र मिटिङचाहिँ त्यस अगाडि वा पछाडि पारेर कन्टिन्यु गर्ने निर्णय भएको छ,' ती न्यायाधीशले भने ।

उनले थपे, 'उहाँले सम्मानजनक (बहिर्गमन) भन्नुभाछ । सम्मानजनक कसरी हुने हो, हामीले के गर्नुपर्ने हो, त्यो प्रस्ट भएन भन्ने कुरामा पनि छलफल भयो ।'

बैठकलगत्तै न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणका इजलासमा बसेका छन् । राणाले आफूबाहेकका ६ वटा इजलास तोकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्