२१ असार २०८३, आइतबार
शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान

बेचन झा पक्राउ : आईजीपी नभएका बेला गृहमन्त्री र डीआईजी केसीको ‘सर्जिकल स्ट्राइक’ !

असार १६, २०८१
काठमाडौं
बेचन झा पक्राउ : आईजीपी नभएका बेला गृहमन्त्री र डीआईजी केसीको ‘सर्जिकल स्ट्राइक’ !

नक्कली भुटानी शरणार्थी प्रकरणका २ फरार आरोपी बेचन झा र प्रतीक थापा पक्राउ परेपछि दोस्रो चरणको अनुसन्धान शुरू भएको छ ।

नक्सालस्थित नेपाल प्रहरीको विशेष टोलीले झालाई कञ्चनपुरस्थित गड्डा चौकीबाट र थापालाई कपनबाट नियन्त्रणमा लिई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाएको हो ।

थापा पहिलो चरणकै अनुसन्धानमा अभियुक्त करार गरिएका व्यक्ति हुन् भने झालाई तत्कालीन अवस्थामा कुनै अभियोग लगाइएको थिएन ।

उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा र पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् ।

त्यस्तै, प्रतीक पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । 

हाल गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर देशबाहिर छन् ।

अर्याल र कुँवर नभएका बेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूनिकटका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीमार्फत बेचन र प्रतीकलाई पक्राउ गर्न लगाएको प्रहरी स्रोतको दाबी छ ।

डीआईजी केसी तिनै प्रहरी अधिकृत हुन्, जसले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए । 

तत्कालीन समयमा निवर्तमान गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई पक्राउ गरेर चर्चामा आएका डीआईजी केसीलाई पछि सरुवा गरिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरणमै अप्ठ्यारो पर्ने भयो भन्दै केसीलाई सरुवाका लागि तयार रहन निर्देशन दिएका थिए । तर, केसीले आफूलाई मात्रै सरुवा गर्दा गलत सन्देश जाने भन्दै काठमाडौं परिसर र ललितपुर परिसरका प्रमुखलाई पनि सरुवा गर्नुपर्ने अडान राखेका थिए । काठमाडौं परिसरमा दानबहादुर कार्की (हाल डीआईजी) थिए ।

तत्कालीन समयमा कांग्रेस, माओवादी र साना दलको गठबन्धन सरकार थियो । खाँणलाई पक्राउ गरेपछि कांग्रेसका सभापति देउवाकै दबाबमा केसीको सरुवा भएको चर्चा चलेको थियो । खाँणलाई पक्राउ गर्न केसी आफैं खटिएका थिए । 

नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक बेचन झाका बारेमा डीआईजी केसीले अपराध अनुसन्धान कार्यालयमै रहेका बेला राजनीतिक ‘कनेक्सन’ पत्ता लगाएका थिए । त्यही 'कनेक्सन'को ‘रिपोर्टिङ’ लामिछानेसमक्ष पुग्यो ।

केसीलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्दा रोलक्रममा एक नम्बरमा बढुवा गर्न चाहन्थे, लामिछाने । तर, महानिरीक्षक कुँवर र गृहसचिव अर्यालकै हस्तक्षेपका कारण केसीलाई एक नम्बरमा बढुवा गर्ने पहल सफल हुन सकेन ।

उच्च स्रोतका अनुसार केसीले बढुवा समितिको बैठक बसिरहेका बेला समेत आफूलाई एक नम्बरमा बढुवा गर्न भनेर समितिका केही सदस्यलाई म्यासेज पठाएका थिए ।

‘बेचनको राजनीतिक कनेक्सनका बारेमा जानकार रहेका डीआईजी केसीले अहिले आईजीपी देशबाहिर रहेका बेला उनलाई पक्राउ गर्न सहज देखे,’ स्रोतले भन्यो, ‘विशेष ब्यूरो आईजीपीको प्रत्यक्ष मातहतमा रहन्छ र हाइप्रोफाइल पक्राउ गर्नुअघि आईजीपीलाई जानकारी हुन्छ । आईजीपी नभएपछि उपयुक्त मौका छोपेरै बेचनलाई पक्राउ गरिएको हो ।’

त्यसो त प्रहरी अधिकृतको सरुवा–बढुवा र हाइप्रोफाइल व्यक्ति पक्राउ गर्न दिएको निर्देशनबारे आईजीपी कुँवरले अन्य शीर्ष नेतालाई रिपोर्टिङ गर्ने गरेको भन्दै गृहमन्त्री लामिछाने उनीसँग असन्तुष्ट छन् ।

पक्राउ पुर्जी जारी भइसकेकाले बेचन र प्रतीकलाई काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेर उनीहरूको बयान लिइने जानकारी काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले दिए ।

प्रतीकको साँठगाँठ केशव र सानुसँग !

प्रहरी अनुसन्धानमा बादलका छोरा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारमध्येका केशवप्रसाद दुलाल र सानु भण्डारीसँग साँठगाँठ गरेको रहस्य फेला परेको थियो ।

उनै भण्डारीले प्रतीककी आमा एवं बादलकी श्रीमती नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर एक करोड रुपैयाँ बुझाएको बयान दुलालले प्रहरीमा दिएका थिए । भण्डारी र दुलाल अहिले पुर्पक्षका लागि कारागारमा छन् । 

अदालतमा मुद्दा दर्ता हुनुअघि नै प्रतीक फरार रहँदै आएका थिए । तत्कालीन समयमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत बेचन पक्राउ परेपछि थप राजनीतिक ‘कनेक्सन’ खुल्ने बयान दिएका थिए । 

उच्च स्रोतका अनुसार प्रतीक सबै प्रक्रिया पूरा गरेर आफैं अदालतमा उपस्थित हुने तयारीमा थिए । तर, उनी काठमाडौंको कपनमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । 

बेचनले बुझेका थिए २ करोडको चेक !

शरणार्थीको कोटामा अमेरिका जान खोज्नेहरूबाट बेचनले २ करोडको चेक बुझेको त्यति बेलै प्रहरी अनुसन्धानमा खुलेको थियो ।

उनले टोखा नगरपालिका– ६ स्थित धापासी घर भएका रामशरण केसीसँग हिमालयन बैंकको २ करोडको चेक बुझेको पाइएको थियो ।

मन्त्रिपरिषद्बाट गिरोहले भनेअनुसार भुटानी शरणार्थीसम्बन्धी ‘निर्णय गराउन’ बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

प्रहरीसँगको बयानमा रामशरण केसीले भनेका छन्, ‘२०७८ मंसिर १३ मा बसेको मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीसम्बन्धी निर्णय गराउन बेचनले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बयानमा खुलाएका थिए । 

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग समेत नजिक रहेका बेचनले मन्त्रिपरिषद्बाटै शरणार्थीको फाइल स्वीकृत गराउने आश्वासन सानु भण्डारीलाई दिएका थिए ।

उनै सानुले बेचनको भूमिकाबारे रामशरणलाई बताएका थिए । तर, बेचनले चेक बुझेर पनि कुनै निर्णय गराउन नसकेपछि घटना बाहिर आएको प्रहरी स्रोत बताउँछ । 

पढ्नुहोस्, बेचनबारे एक वर्षअघि लोकान्तरले गरेको खुलासा:

शरणार्थी प्रकरणमा अर्को भुइँचालो ल्याउन सक्ने बिचौलिया– शीर्ष नेतृत्वको 'बेड'सम्मै पहुँच !

salt training

कमेन्ट गर्नुहोस्