१२ असार २०८३, शुक्रबार
चियाको राजनीतिक साइनो

विद्या, केपी र माधवसम्मलाई चिया बेचेर छोराछोरी पढाएका लक्ष्मण दाइ !

माघ २२, २०७८
विद्या, केपी र माधवसम्मलाई चिया बेचेर छोराछोरी पढाएका लक्ष्मण दाइ !

विराटनगरको पञ्चाली रोडमा नेकपा एमाले पार्टी कार्यालयको दायाँपट्टि एउटा सामान्य छाप्रोमा चिया पसल छ । पसल सञ्चालक हुन् खोटाङबाट विराटनगर झरेका लक्ष्मण राई ।

झट्ट हेर्दा सामान्य देखिने चिया पसलको राजनीतिक साइनो गहिरो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका ३ जना पूर्व प्रधानमन्त्रीहरूले त्यो पसलमा चियाको चुस्की लिएका छन् । नेताहरूले सञ्चालक राईलाई ‘लक्ष्मण दाइ’ भन्छन् ।

लक्ष्मण दाइको पसलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगे तर चिया पसल कहिल्यै परिवर्तन भएन । कम्युनिस्ट मात्र होइन, नेपाली कांग्रेसका नेताहरू पनि चिया पसलमा चिया पिउन पुग्ने गर्छन् ।

३२ वर्षअघि भारत जाने सपना लिएर लक्ष्मण खोटाङबाट विराटनगर आएका थिए । भारत जान हिँडेका लक्ष्मणको गति विराटनगरमा रोकियो ।

२०४६ सालमा भर्खर प्रजातन्त्र आएको थियो । नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारको गृहनगर विराटनगरमा राजनीतिक गतिविधि बढ्दो थियो । कांग्रेस र कम्युनिस्टको बोलचाल बन्द थियो । 

मोरङ जिल्लामा कम्युनिस्ट नेताहरूको पनि प्रभाव थियो । नेकपा मालेका नेताहरू मदन भण्डारी, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, झापाका आरके मैनाली, सीपी मैनाली लगायतका थुप्रै कम्युनिस्ट नेताहरू विराटनगरमा आउजाउ गर्थे । कम्युनिस्ट नेताहरूको राजनीतिक गतिविधि र नेता कार्यकर्ताको जमघट हुने ठाउँमा राईले चिया पसल खोले । 

उमेरले ६० काट्दा समेत लक्ष्मण राईले आफ्नो चिया पसललाई निरन्तरता दिइरहेका छन् । कोही नेता सांसद र मन्त्री भएकोमा उनलाई केही फिक्री छैन ।

‘यही चिया खाएर राजनीति शुरू गरेका भाइबहिनीहरू नेता, मन्त्री बनेको देख्दा खुशी लाग्छ । म चिया पकाइरहेको छु, यसमा मलाई कुनै फिक्री छैन,’ राईले हाँस्दै भने । 

२०५१ सालको लोकप्रिय कम्युनिस्ट सरकारको नेतृत्व गरेका मनमोहन अधिकारीदेखि युवा नेतासम्मका राजनीतिक गफको केन्द्र हो लक्ष्मण दाइको चिया दोकान । वृद्धदेखि भर्खरका युवा सबैले लक्ष्मण दाइको नामले सम्बोधन गर्छन् ।

पार्टी कार्यालय छेउमै भएकाले नेताहरू धेरैले चिया खाने गरेको उनले बताए । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई राजनीतिका क्रममा चिया, खाजा, खाना खुवाएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल, केपी शर्मा ओलीलाई आफैंले चिया खुवाएको उनले सम्झिए ।

राष्ट्रपति भण्डारी र पूर्वमन्त्री लालबाबु पण्डितले आफ्नो पसलमा खाना समेत खाएका लक्ष्मणले सम्झिए । ‘मनमोहन अधिकारी पार्टी कार्यालयमा आउँदा पहिला मेरो पसलमा आएर ‘कमरेड तपाईले पकाएको चिया खाऊँ’ भन्ने गर्नुहुन्थ्यो,’ उनले सम्झिए, ‘माधव नेपालले पनि ‘तपाईंले पकाएको चिया जस्तो मिठो अन्यत्र हुँदैन’ भन्नुहुन्थ्यो । केपी ओली आउँदा पार्टी कार्यालयमै चिया लिएर जाने गर्थें । १–२ पटक लिएर गएपछि उहाँले पनि ‘लक्ष्मण दाइले चिया ल्याउनुभयो, पहिला खाऊँ’ भन्दै हँसीमजाक गरेर खानुहुन्थ्यो ।’

प्रधानमन्त्री बनेपछि मनमोहन अधिकारीबाहेक नेताहरू चिया पसलमा नआएका उनको गुनासो छ । ‘पहिला चिया मिठो छ भन्नेहरू प्रधानमन्त्री भएपछि आउँदा पनि नचिने जस्तो गर्दा नरमाइलो लाग्छ,’ उनले भने ।

कांग्रेस नेताहरूले पनि मन पराएको राई दाइको चिया

एमाले पार्टी कार्यालय छेउमा भए पनि नेपाली कांग्रेसका केही नेता समेत चिया खान आउने गरेका उनले बताए ।

गुरुराज घिमिरे विराटनगरमा आउँदा साइकलमा चना खान आउने गरेका उनले बताए । ‘काठमाडौंमा तपाईं कहाँ जस्तो मिठो चना खान पाइँदैन दाइ, त्यही भएर आएको भन्दै उहाँ आउनुहुन्छ,’ उनले भने ।

१ नम्बर प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्की ‘दाइको पसलमा जाऔ, चिया खाऔ अनि मात्रै मिटिङ गरौ’ भन्दै आउने गरेका उनले बताए । 

१५ पैसाको पानदेखि १५ रुपैयाँको चिया

विराटनगरमा आएर उनले पान पसल समेत चलाए । १५ पैसामा पान बेचेको उनले स्मरण गरे । ‘सीडीओदेखि क्याम्पसका प्राध्यापकहरू पान खान मेरो पसलमा आउँथे,’ उनले सम्झिए ।

साथीले चिया पसलमा अझ धेरै फाइदा हुन्छ भनेपछि उनले २०४६ सालदेखि चिया पसल खोले । ‘इटहरीबाट आएर ‘चिया–खाजा पकाउनुहोस्’ भन्दै महेन्द्र मोरङ पढ्ने विद्यार्थीले मलाई उठाउँथे,’ उनले भने, ‘कलेज बिदा भएपछि विद्यार्थीको चाप थाम्नै नसक्ने गरी हुन्थ्यो । दैनिक बिहान १०–१२ किलोग्राम चना र ३०० कपभन्दा बढी चिया बेचिन्थ्यो ।’

१५ पैसाको पानदेखि आठआना, रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ हुँदै अहिले १५ रुपैयाँमा चिया बेच्ने गरेको उनले बताए । 

चिया बेचेर छोराछोरीलाई पढाउन मात्रै सफल भएको उनले बताए । उनका २ छोरा र २ छोरी छन् । लक्ष्मणका १ छोरा बैंकमा र १ छोरा कम्पनीमा जागिरे रहेका उनले बताए । उनका अनुसार १ छोरी एनजीओमा जागिरे छिन् भने १ छोरीको बिहे भइसकेको छ ।

जग्गा–जमिन खरिद गर्नुभन्दा पनि छोराछोरी नै सम्पत्ति हुन् भनेर कमाएको सम्पत्ति सबै छोराछोरीकै पढाइमा लगानी गरेको उनले बताए । ‘सम्पत्ति भनेका छोराछोरी हुन् भन्ने लागेर चिया बेचेर कमाएको सबै पैसा पढाइमै खर्च गरें,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्