२२ जेठ २०८३, शुक्रबार
निक्सनको ऐतिहासिक चीन भ्रमणको ५० वर्ष

अमेरिकाले चीनको साथ खोजेको त्यो क्षण

फागुन ९, २०७८
अमेरिकाले चीनको साथ खोजेको त्यो क्षण
File Photo : Xinhua

आज (फेब्रुअरी २१) विश्व राजनीतिको महत्त्वपूर्ण दिन हो । पचास वर्षअघि अर्थात् १९७२ मा आजैको दिन अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले जनगणतन्त्र चीनको भ्रमण गरेका थिए । 

कोरियाली युद्धपछि २५ वर्षसम्म चीन र अमेरिकाको सम्बन्ध चिसिएको बेलामा निक्सनको भ्रमणले सम्बन्ध सुधारको बाटो खोलेको थियो । त्यही भ्रमणपछि चीन एकान्तवासबाट निस्केर विश्वसँग घुलमिल गर्न थालेको थियो अनि उसको आर्थिक प्रगतिको बाटो पनि खुलेको थियो । 

निक्सनको यो भ्रमण सफल बनाउनका लागि पर्दापछाडि उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले ठूलो भूमिका खेलेका थिए । उनले गोप्य रूपमा चीन भ्रमण गरेर निक्सन भ्रमणको पृष्ठभूमि तयार पारेका थिए ।

निक्सनको भ्रमणको महत्त्व बुझ्नका लागि त्यतिबेलाको परिस्थितिलाई पनि अध्ययन गर्नुपर्ने हुन्छ । 

त्यस समयमा अमेरिका भियतनाम युद्धमा फसेको थियो । सन् १९६७ मा राष्ट्रपति उम्मेदवार बन्दाखेरी नै निक्सनले युद्ध अन्त्य गर्ने वाचा मतदातासामु गरेका थिए । भियतनाम युद्धलाई अन्त्य गरेर अन्तर्राष्ट्रिय मामिलामा नयाँ मोड ल्याउने र अमेरिकी प्रभाव विश्वभरि फैलाउने उनको रणनीति थियो । 

निक्सनको यस रणनीतिका लागि चीनको साथ अपरिहार्य थियो । चीनको साथ पाएपछि भियतनामलाई युद्ध अन्त्य गर्नका लागि दबाब दिन सकिने आकलन पनि निक्सनले गरेका थिए ।

त्यतिखेर चीन आर्थिक तथा सामरिक रूपमा बलियो राष्ट्र बनिसकेको थिएन तर उससँग भएको विशाल जनसंख्यालाई आर्थिक उन्नतिको बाटो देखाउन पाए अन्ततोगत्वा त्यसबाट अमेरिकालाई समेत लाभ पुग्ने निक्सनको सोच थियो ।

द्रुत गतिमा आर्थिक विकास गरेर चीन बलियो बन्यो र अहिले ऊ अमेरिकाको समकक्षीको हैसियतमा आइसकेको छ । निक्सनको चीन भ्रमणको दीर्घकालीन परिणाम भनी यसलाई व्याख्या गर्न मिल्छ किनकि निक्सनले चीनसँग महानता हासिल गर्ने क्षमता छ भन्ने कुराको पहिचान गरेका थिए । 

त्यो उद्देश्य पूरा गर्नका लागि चीनलाई एकान्तवासबाट बाहिर ल्याएर विश्व समुदायसँग घुलमिल गराउनुपर्ने उनको सोच थियो । यसको बारेमा उनले राष्ट्रपति उम्मेदवार हुँदा नै फरेन अफेयर्स पत्रिकामा लेखेका थिए ।

त्यतिखेर शीतयुद्ध चलिरहेको थियो । अमेरिका र सोभियत संघबीच प्रभुत्वको लडाइँ थियो । निक्सन र किसिन्जरले चीनसँग सम्बन्ध विकसित गरेर विश्वको द्विध्रुवीय विभाजनलाई अमेरिकाको पक्षमा पार्न रणनीति बनाइरहेका थिए ।

शीतयुद्धमा सोभियत संघमाथि अमेरिकालाई हावी गराउन चीनको साथ आवश्यक रहेको सोच निक्सनमा आएको थियो । चीनलाई हात लिन पाए सोभियत संघको ध्यानाकर्षण हुने र उसलाई कस्न सकिने सोच निक्सनले राखेका थिए । 

हुन त निक्सनको पालामा अमेरिका र सोभियत संघबीच तनाव घटेको स्थिति थियो । तैपनि चीनलाई आफूसँग ल्याउन पाए कम्युनिस्ट समाजवादी मुलुकहरूको खेमालाई तोडेर कमजोर बनाउन सकिने रणनीति निक्सन र किसिन्जरले विकसित गरेका थिए ।

निक्सनकै जस्तो रणनीति चीनका तत्कालीन राष्ट्रपति माओ चतोङ र प्रधानमन्त्री चाउ एनलाईले पनि बनाएका थिए । सोभियत संघका राष्ट्रपति जोसेफ स्टालिनको मृत्युपछि चीन र सोभियतको सम्बन्ध बिग्रन थालेको थियो । 

सन् १९६९ सम्म आइपुग्दा दुई देशबीच सीमामा युद्ध समेत भएको थियो । सोभियतलाई सन्तुलनमा राख्नका लागि अर्को महाशक्तिको साथ आवश्यक रहेको अनुभव चीनलाई हुन थालेको थियो र निक्सन यस अवसरको प्रतीक्षामा थिए । 

माथि संकेत गरिएअनुसार, स्टालिनसँग माओले राम्रो सम्बन्ध कायम गरेका थिए । तर स्टालिनपछि सत्तामा आएका निकिता ख्रुश्चेभ र लियोनिड ब्रेजनेभसँग माओको ठ्याक मिल्दैनथियो । 

अनि चीनको परराष्ट्रनीतिका विषयमा नेतृत्व त्यतिखेर दुई खेमामा बाँडिएको थियो । एक खेमामा चाउ एनलाई थिए भने अर्को खेमामा लिन प्याओ । 

नरम सोच राख्ने चाउ अमेरिकासँग चीनको सम्बन्ध विस्तारको पक्षमा थिए । माओको महान् अग्रगामी छलाङ र सांस्कृतिक क्रान्तिका कारण चीनको अर्थतन्त्र धराशायी बनेकाले माओलाई अर्थतन्त्र उकास्नका लागि पश्चिमसँग सम्बन्ध सुधार गर्न चाउ खेमाले सल्लाह दिएको थियो । 

लिन चाहिँ सोभियत संघसित सम्बन्ध बढाउनुपर्ने मत राख्थे । सन् १९७० मा माओ चाउतर्फ ढल्किए किनकि लिन हदभन्दा बढी शक्तिशाली बन्दै गएको र उनलाई हटाउनुपर्ने सोच माओमा आउन थालेको थियो । अनि माओ आफैंलाई पनि सोभियत संघ र भारतसँगको द्वन्द्वमा एक बलियो महाशक्तिको साथ आवश्यक छ भन्ने अनुभूति हुन थालेको थियो ।

त्यसबाहेक चीनलाई अमेरिकासँगको सम्बन्ध विकासबाट आफूमाथि आइलागेको भूराजनीतिक दबाबको अन्त्य हुने आशा थियो । सोभियत संघको सीमामा तनावको स्थिति रहँदा दक्षिणपूर्वी र उत्तरपूर्वी एसियामा अमेरिका हातहतियारका साथ तैनाथ थियो । 

चीन र अमेरिकाबीच कोरियाली युद्धपछि सम्बन्ध बिग्रेको बेलामा अमेरिकाले जापान, दक्षिण कोरिया, ताइवान र दक्षिणपूर्वी एसियाली मुलुकहरूमा घातक हातहतियार तैनाथ गरेर चीनमाथि दबाब दिइरहेको थियो । यस्तो स्थितिमा वाशिङटनसँग हात मिलाएर मस्कोलाई तर्साउने अनि दक्षिणपूर्वी तथा उत्तरपूर्वी एसियामा अमेरिकी दबाब घटाउने दाउ बेइजिङले गरेको थियो । 

यसरी अमेरिका र चीनका शीर्ष नेताहरूको राष्ट्रिय स्वार्थ तथा रणनीति मिल्न गएकाले सम्बन्ध विस्तारको बाटो खुलेको थियो । त्यसपछि दुई देशबीच गोप्य सन्देश आदानप्रदान हुन थालेको थियो । 

फ्रान्स, पोल्यान्ड, रोमानिया र पाकिस्तानले यी दुई देशबीचको सन्देश आदानप्रदानका लागि मध्यस्थता गरेका थिए । निक्सनले अमेरिकाको टेबलटेनिस (पिङपङ) टोलीलाई चीनको मैत्रीपूर्ण भ्रमणका लागि स्वकिृति दिएका थिए । त्यो पछि पिङपङ कूटनीतिका रूपमा प्रख्यात बन्यो । 

किसिन्जरको गोप्य भ्रमणले निक्सनको भ्रमणका लागि भूमिका बनाएपछि निक्सनले एक हप्ता चीनमा बिताए । फेब्रुअरी २१ देखि २८ सम्म निक्सन र उनका सल्लाहकारहरूले चीनका शीर्ष अधिकारीहरूसँग ठोस र सार्थक कुराकानी गरे । निक्सन, उनकी पत्नी प्याट र अमेरिकी टोलीले बेइजिङ, हाङ्चाउ र शांघाई शहरको भ्रमण गरेका थिए ।  

भ्रमणपछि अमेरिका र चीनको सरकारले शांघाई वक्तव्य (कम्युनिके) जारी गरेका थिए । त्यसमा दुवै मुलुकले कूटनीतिलाई पूर्णतया सामान्य बनाइने वाचा गरेका थिए । अमेरिकाले ताइवानबाट आफ्ना सैनिक हटाउने प्रतिज्ञा गरेको थियो र चीनले ताइवान समस्याको शान्तिपूर्ण समाधान गर्ने प्रत्याभूति दिलाएको थियो । 

निक्सन भ्रमणकै परिणामस्वरूप अमेरिका र चीनबीच सन् १९७९ मा सम्बन्ध सामान्यीकरण भयो । अमेरिकाले ताइपेइलाई नभई बेइजिङलाई कूटनीतिक मान्यता दियो । एक चीन नीतिमा सहमति जनाएर अमेरिकाले ताइवान चीनकै एक भाग भएको बताएको थियो । 

त्यही वर्ष चीनका सर्वोच्च नेता तङ स्याओपिङले अमेरिका भ्रमण गरेर द्विपक्षीय सम्बन्ध विकसित गर्न योगदान गरे । विशेषगरी अमेरिकासँगको व्यापारिक सम्बन्धमा उनले जोड दिएका थिए । त्यसबाटै चीनले अद्भुत आर्थिक विकास गर्न सकेको थियो । 

द्रुत गतिमा आर्थिक विकास गरेर चीन बलियो बन्यो र अहिले ऊ अमेरिकाको समकक्षीको हैसियतमा आइसकेको छ । निक्सनको चीन भ्रमणको दीर्घकालीन परिणाम भनी यसलाई व्याख्या गर्न मिल्छ किनकि निक्सनले चीनसँग महानता हासिल गर्ने क्षमता छ भन्ने कुराको पहिचान गरेका थिए । 

दुई देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन निक्सनले ५० वर्षअघि चालेको कदम राम्रो शिक्षा हुन सक्छ । अर्थात्, सम्बन्ध सुधारको पहल अमेरिकाले नै गर्नुपर्ने हो । त्यसका लागि घेराबन्दी र रोकको नीतिलाई अमेरिकाले परित्याग गर्नुपर्ने हुन्छ ।  तर ट्रम्पकै जोधाहा नीतिलाई बाइडन प्रशासनले अघि बढाएको छ ।

एक शताब्दीसम्म पश्चिमी शक्तिहरूले दमन गरेर घुँडा टेकाएको भए पनि चीनको उदय भएर ऊ विश्वशक्ति बन्ने कुरामा निक्सन विश्वस्त रहेको उनका लेख र सम्बोधनहरूको अध्ययन गर्दा थाहा हुन्छ । 

उदय भइसकेको चीनलाई आर्थिक तथा सैन्य जोखिमका रूपमा लिएर उससँग अमेरिकाले शत्रुवत् व्यवहार गरेकाले अहिले दुई देशबीच तनाव छ । पूर्ववर्ती ट्रम्प प्रशासनले चीनलाई रणनीतिक प्रतिस्पर्धीको संज्ञा दिँदै उससँग व्यापारयुद्ध चर्काएको थियो भने सी चिनपिङको नेतृत्वमा रहेको चीनले एसियाली मामिलामा अमेरिकाको हस्तक्षेपलाई सहन नसक्ने सन्देश दिन थालेको छ । 

दुई देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन निक्सनले ५० वर्षअघि चालेको कदम राम्रो शिक्षा हुन सक्छ । अर्थात्, सम्बन्ध सुधारको पहल अमेरिकाले नै गर्नुपर्ने हो । त्यसका लागि घेराबन्दी र रोकको नीतिलाई अमेरिकाले परित्याग गर्नुपर्ने हुन्छ । 

तर ट्रम्पकै जोधाहा नीतिलाई बाइडन प्रशासनले अघि बढाएको छ । हालै प्रकाशित हिन्द–प्रशान्त रणनीतिको प्रतिवेदनमा चीनले गतिविधि गर्ने वातावरणलाई सन्तुलन गर्ने (अर्थात् चीनलाई रोक्ने) कुरा उल्लेख छ । 

अमेरिका चीनसँग रणनीतिक प्रतिस्पर्धा गरिरहने र शीतयुद्ध चर्काउने मूडमा देखिएकाले दुई देशबीचको सम्बन्ध थप चिसिने आकलन गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्