०६ साउन २०८३, बुधबार
सन्दर्भ: स्थानीय चुनाव

कांग्रेसलाई टाउको दुखाइ बन्दै चुनावी तालमेल, केन्द्रबाट हस्तक्षेप नहोस् भन्ने मत बलियो

फागुन २४, २०७८
कांग्रेसलाई टाउको दुखाइ बन्दै चुनावी तालमेल, केन्द्रबाट हस्तक्षेप नहोस् भन्ने मत बलियो

स्थानीय तहको निर्वाचन आउन अब ६५ दिन बाँकी छ । राजनीतिक दलहरूमा विस्तारै राजनीतिक सरगर्मी बढिरहेको छ । 

दलहरूले स्थानीय तह केन्द्रित कार्यक्रम बनाइरहेका छन् । तथ्यांक संकलन, विश्लेषण, चुनावी योजना निर्माण र उम्मेदवार छनोटमा दलहरूको ध्यान जान थालेको छ ।

तर, सत्तारूढ चार दलीय गठबन्धनभित्र चुनावी तालमेलको कुराले पनि उत्तिकै प्राथमिकता पाइरहेको छ । मुख्यगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आगामी सबै निर्वाचनमा गठबन्धनमा रहेका दलहरू तालमेल गरेर जानुपर्ने पक्षमा छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त गठबन्धनका नेताहरूको बैठकमा चुनावमा तालमेल गर्ने र सीट बाँडफाँडको प्रस्ताव नै गरिसकेका छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पनि चुनावी तालमेल गर्नुपर्ने कुरामा प्रचण्डसँग सहमत छन् । आगामी चुनावमा नेकपा एमालेलाई परास्त गर्ने रणनीतिस्वरूप सत्तारूढ दलले चुनावी गठबन्धन गर्नुपर्नेमा प्रचण्ड–नेपाल एकमत छन् । 

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र भने चुनावी तालमेलका बारेमा नेताहरू एकमत छैनन् ।

गत शनिबार काठमाडौंमा कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको अधिवेशनमा कांग्रेसमा उपसभापति धनराज गुरूङले प्रचण्ड र माधव नेपाललाई व्यंग्य गरेर चमेराहरू हात्तीको कानमा ओत लाग्न खोजेको बताएका थिए ।

‘संसदीय चुनावमा तालमेलको कुरा गर्दा प्रचण्डले नै कांग्रेसले माओवादीलाई भोट नहाल्ने रहेछन् भन्ने जवाफ दिनुभएको थियो’, रिजालले सुनाए । 

‘२०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो, त्यसैले कांग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किँदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरू हात्तीको कानमा ओत लाग्न खोज्दैछन्,’ गुरूङले भनेका थिए, ‘हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरू हात्तीको कान दुर्गन्धित बनाउँछन् । त्यसैले, जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’ 

सबै तहको निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नका लागि तयार हुनुपर्ने उनले बताए ।

कांग्रेसमा संस्थान इतर खेमा चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छ । कांग्रेस नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आगामी चुनावमा तालमेल हुन नसक्ने बताइसकेका छन् । 

माघ १७ मा प्रचण्ड निवास खुमलटार पुगेका कोइरालाले कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट नहाल्ने यसअघिको अनुभवले देखाइसकेको जवाफ प्रचण्डलाई दिएका थिए ।

उक्त भेटमा डा. कोइरालाले केन्द्रीय तहबाट गठबन्धनको निर्णय भए पनि तल्लो तहका कार्यकर्ताले अस्वीकार गर्ने जवाफ प्रचण्डलाई दिएका थिए । 

हुन पनि २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । त्यसबेला भरतपुर महानगरमा माओवादी नेतृ एवं प्रचण्डकी छोरी रेणु दाहाललाई चुनाव जिताउन हम्मेहम्मे परेको थियो ।

कांग्रेसका कार्यकर्ताले खुलेर दाहालको पक्षमा मत हालेका थिएनन् । माओवादी केन्द्रका उम्मेदवारलाई छाडिएको अरू कतिपय स्थानीय तहमा पनि कांग्रेसका कार्यकर्ता मतदान गर्नै नगएको विश्लेषण भएको थियो ।

कांग्रेसका कार्यकर्ताले मत नदिएको विश्लेषणपछि संघीय संसद्को निर्वाचनका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँगको गठबन्धन सरकारमा हुँदाहुँदै नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न पुगेका थिए । 

त्यसबेला कांग्रेसका नेताहरू संसदीय चुनावमा पनि गठबन्धन गर्ने प्रस्ताव लिएर प्रचण्ड निवास खुमलटार जाँदा उनले कांग्रेसले माओवादीलाई भोट नहाल्ने रहेछन् भन्ने निष्कर्ष सुनाएको कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल बताउँछन् । 

‘संसदीय चुनावमा तालमेलको कुरा गर्दा प्रचण्डले नै कांग्रेसले माओवादीलाई भोट नहाल्ने रहेछन् भन्ने जवाफ दिनुभएको थियो’, रिजालले सुनाए । 

आगामी निर्वाचनमा पनि कांग्रेसले अरू दलसँग केन्द्रीय तहमा निर्णय गरेर चुनावी गठबन्धन गर्न नहुने पक्षमा रिजाल छन् । 

उनी भन्छन्, ‘अहिलेको गठबन्धन सरकार चुनावका लागि बनेको होइन । यसलाई चुनाव गराउने जिम्मेवारी छ । गठबन्धनको सरकार भएकै कारण चुनावमा पनि गठबन्धन गर्नुपर्छ भन्ने होइन’, रिजालले भने । 

कांग्रेसको विधानका कारण पनि स्थानीय तहको चुनावमा केन्द्रबाट निर्णय गर्न नमिल्ने उनले बताए ।

‘कांग्रेसको विधानले स्थानीय तहको चुनावमा पार्टीको उम्मेदवार एक तहको माथिल्लो समितिले तोक्ने व्यवस्था छ । 

कांग्रेसमा अहिलेसम्म गठबन्धन गरेर चुनावमा जाने निर्णय नभएको र अरू पार्टीमा पनि त्यस्तो निर्णय भएको थाहा नपाएको उनले बताए ।

‘स्थानीय तहमा आवश्यकताको आधारमा त्यहीको कमिटीले निर्णय गर्न सक्छ । कुनै वडामा, कुनै पालिकामा कांग्रेसले अरूलाई छाड्ने निर्णय गर्न सक्छ । त्यो स्थानीय तहको आवश्यकताको आधारमा हुन्छ’, रिजालले भने, ‘कांग्रेसको टिकट बाँड्ने अधिकार पनि तल्लो तहमै छ । गाउँपालिकाको जिल्ला कमिटीले र नगरपालिकाको प्रदेश कमिटीले टिकट दिन्छ । महानगरको मात्रै केन्द्रबाट निर्णय गर्ने विधानको व्यवस्था छ ।’

संघीय संसद्को चुनावका बेला मात्रै केन्द्रीय कमिटीले निर्णय गरेर निर्वाचनको टिकट दिन मिल्ने र त्यसबेला पनि केही नेतालाई जित्न सजिलो होस्, शिष्टाचार पनि रहोस् भनेर निश्चित निर्वाचन क्षेत्रमा सहमति गर्न सकिने तर, गठबन्धन नै बनाएर चुनावमा जान असम्भव रहेको रिजाल बताउँछन् ।

यस पटक कम्युनिष्ट पार्टीहरू विभाजित भएकाले स्थानीय तहमा एक्लै सजिलै चुनाव जित्न सक्ने अवस्था रहेको कांग्रेसका स्थानीय नेता कार्यकर्ताको विश्लेषण छ ।

अघिल्लो संसदीय चुनावमा गठबन्धन गरेर एकै पार्टी बनाएका एमाले र माओवादी केन्द्र अहिले पानी बाराबारको अवस्थामा छन् । एमाले पनि टुक्रिएको छ । कम्युनिस्ट नेताहरूबीचमा मारमुङ्ग्री चलिरहेको अवस्थामा कांग्रेसले एक्लै अत्यधिक स्थानीय तहमा चुनाव जित्न सक्ने तल्लो तहका नेता कार्यकर्ताको रिपोर्टिङ कांग्रेसका केन्द्रीय नेताहरूलाई आएको छ । 

तर, संस्थापन पक्ष र मुख्य नेतृत्व भने आगामी चुनावमा सकेसम्म गठबन्धनमा रहेका दलहरू मिलेर जानुपर्ने पक्षमा छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ चुनावमा गठबन्धनमा रहेका दलहरूलाई चिढ्याउन नहुने पक्षमा छन् । 

मिश्रित निर्वाचन प्रणाली भएको कारण आगामी संसदीय चुनावबाट पनि कुनै दलको स्पष्ट बहुमत नआउने अवस्थाका कारण दलहरूबीच गठबन्धन गरेरै सरकार बनाउनुपर्ने भएकाले निर्वाचनको बेला पनि लचक हुनुपर्ने पक्षमा रहेको उनी निकट नेताहरू छन् ।

आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन अहिल्यैबाट वातावरण बनाउनुपर्ने कांग्रेस संस्थापन पक्षका शीर्ष नेताहरूको निष्कर्ष छ ।

शीर्ष नेताहरू गठबन्धन सहकर्मी दलहरूलाई नचिढ्याउने पक्षमा रहे पनि अधिकांश नेताको मत भने केन्द्रबाट तालमेलको निर्णय गर्न हुँदैन भन्ने छ ।

सभापति देउवाका अलावा रामचन्द्र पौडेल, कृष्ण सिटौला, उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू चुनावी तालमेलबारे त्यति नकरात्मक नरहेको उनीहरूसँग निकट नेताहरू बताउँछन् । पौडेल र सिटौलालाई त चुनाव जित्न पनि अरू दलको सहयोग भए सहज हुने कारण गठबन्धनको पक्षमा रहेको कांग्रेसकै एक नेताले बताए ।

तर, दोस्रो र संस्थापन इतर खेमाका नेताहरूले आगामी चुनावमा तालमेल नगर्न केन्द्रीय नेतृत्वलाई दबाब बढाइरहेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले कुन पार्टीको हैसियत के रहेछ भन्ने थाहा पाउन पनि तालमेल नगरी एक्लाएक्लै चुनावमा भिड्नुपर्ने भाषण गरिरहेका छन् । 

शीर्ष नेताहरू गठबन्धन सहकर्मी दलहरूलाई नचिढ्याउने पक्षमा रहे पनि अधिकांश नेताको मत भने केन्द्रबाट तालमेलको निर्णय गर्न हुँदैन भन्ने छ ।

कांग्रेस सभापति देउवानिकट नेता रामहरि खतिवडाले केन्द्रबाट निर्णय गरेर चुनावी तालमेल हुने सम्भावना नदेखेको बताए । 

‘चुनावमा कुनै पार्टीसँग मिल्ने कि नमिल्ने निर्णय गर्न स्थानीय तहलाई नै अधिकार दिनुपर्छ । स्थानीय तहमा पार्टीको परिस्थिति के छ, त्यही आधारमा निर्णय गर्छन् । कुनै पार्टीलाई छाडिदेऊ भनेर जबरजस्ती गर्नुहुँदैन’, खतिवडाले भने ।

केन्द्रले सबै ठाउँमा गठबन्धन गर भन्यो भने पनि स्थानीय तहका कार्यकर्ता तयार नहुने उनले बताए । ‘केन्द्रीय समितिले गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय गर्दैन । स्थानीय तहको आवश्यकताका आधारमा उनीहरूले नै निर्णय गर्छन्’, खतिवडाले भने ।

विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आगामी चुनावमा कांग्रेसले सहयोग नगरे कार्यकर्ता जोगाउनै हम्मेहम्मे पर्ने भएकाले चुनावी तालमेलको बहस सिर्जना गरिएको खतिवडाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्