
अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित ९ वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ ।
त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया शुरू गरेको हो ।
सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार शक्तिखोर–मझिमटार (चितवन) र सुनमाई–राजदुवाली (इलाम) सुरुङ मार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका छनोट प्रक्रिया अगाडि बढाइएको छ ।
बागलुङ–बेउ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, नवलपरासीको दुम्कीबास–बर्दघाट र कास्कीको हेम्जा–नयाँपुल सडक सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गरिएको छ ।
त्यसैगरी रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला) सडक सुरुङ जाजरकोट/जुम्ला, प्रवाश–जोरटे (पाल्पा) सडक सुरुङ र ताथाली रवियोपी सडक सुरुङ निर्माणका लागि आशयपत्र माग गरिएको छ ।
प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययन ५०/५० लाख रुपैयाँको लागतमा गरिने अनुमान गरिएको छ ।
अबको ३ महिनाभित्र कम्पनी छनोट गरिने छ । छनोट भएको कम्पनीले ४ महिनाभित्र सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन सडक विभागलाई बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढाइने छ ।
विस्तृत अध्ययनपछि निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अगाडि बढाइने छ । सुरुङ मार्गहरूको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा गरिने निर्देशक श्रेष्ठले बताए । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र कमिसनिङ’ आफैंले गर्नुपर्ने हुन्छ । गोरखापत्रमा खबर छ ।