२३ जेठ २०८३, शनिबार
आर्थिक संकटका बेला राष्ट्र बैंकमा रिक्तता

कुनै पनि निर्णय लिनै नसक्ने अवस्थामा पुग्दै राष्ट्र बैंक, बैठक समेत बस्न मुस्किल

बैशाख २, २०७९
कुनै पनि निर्णय लिनै नसक्ने अवस्थामा पुग्दै राष्ट्र बैंक, बैठक समेत बस्न मुस्किल

बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको छ ।

गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा छन् भने दुईजना सञ्चालकको पद शनिवार (भोलि)देखि रिक्त हुँदैछ । 

सञ्चालक सुवोधकुमार कर्णलाई भने विवादमा आएका कारण बैठकमा सहभागी गराउन छाडिएको छ । एक महिना पदावधि बाँकी रहेका कर्ण निजी क्षेत्रसँग कमिसनको बार्गेनिङ विवादमा तानिएका छन् ।

गभर्नर अधिकारीलाई सरकारले एक सातादेखि निलम्बनमा राखेर छानबिन गर्दैछ । अधिकारीमाथिको छानविन पूरा नभएसम्म निलम्बनमा नै रहने हुँदा टुंगो नलागेसम्म उनको कोटा पनि खाली रहनेछ ।

शनिवारदेखि राष्ट्र बैंक सञ्चालकद्वय राम पौडेल र रामजी रेग्मीको ५ वर्षे कार्यकाल सकिँदैछ । ४ वैशाख २०७४ मा उनीहरूलाई तत्कालीन मन्त्रिपरिषद्ले नियुक्त गरको थियो । 

भोलि शनिवार भएकाले दुई सदस्यको कार्यकाल व्यावहारिक रूपमा आजै सकिएको छ ।

अब राष्ट्र बैंक सञ्चालक समिति बैठकमा कुल ७ सदस्यमध्ये जम्मा ३ जना मात्र उपस्थित हुनसक्ने अवस्था आएको छ । बहुमत सदस्यको अनुपस्थितिमा बैठक बस्न गणपूरक संख्या नै पुग्दैन ।

समितिको पदेन सदस्य रहेकी कामु गभर्नर निलम ढुंगानाले बैठकको अध्यक्षता गर्न सक्छिन् । उनका अलावा अर्थसचिव मधु मरासिनी र डेपुटी गभर्नर बमबहादुर मिश्र मात्रै उपस्थित भएर कुनै निर्णय गर्न सम्भव छैन ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार सञ्चालक समितिको बैठकको अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा ३ जना सञ्चालकको उपस्थिति अनिवार्य छ । समितिको बैठकका लागि गणपूरक सङ्ख्या पुगेको हुनुपर्ने व्यवस्था ऐनमा छ ।

सरकारले रिक्त रहेका २ सञ्चालक नियुक्त नगरेसम्म वा गभर्नरको निलम्बन टुंगो नलागेसम्म कुनै पनि महत्त्वपूर्ण निर्णय हुन नसक्ने अवस्था आएको छ ।

के छ कानूनी व्यवस्था ?

राष्ट्र बैंक ऐनको दफा १४ अनुसार सञ्चालक समिति ७ सदस्यीय हुने व्यवस्था छ ।

यस्तो व्यवस्थाअनुसार सञ्चालक समितिको अध्यक्षता गभर्नरले गर्नेछन् । बाँकी ६ जना सदस्यमध्ये ३ जना सदस्य पदेन र ३ जना सरकारले नियुक्त गर्ने व्यवस्था छ । 

तीन पदेन सदस्यमा अर्थसचिव र २ जना डेपुटी गभर्नर हुनेछन् । बाँकी ३ जना सदस्य भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

सरकारले नियुक्त गर्ने ३ जना सञ्चालक अलगअलग क्षेत्रको हुनुपर्नेछ । राष्ट्र बैंक सञ्चालकको बैठक महिनाको कम्तिमा एकपटक बस्नैपर्ने हुन्छ । यस्तो बैठकमा बहुमतले निर्णय लिन सक्छ ।

नोट छपाइदेखि वित्तीय संस्थाको नियमनसम्म प्रभावित हुने 

सञ्चालक समितिको बैठक बस्न नपाए नोट छपाइदेखि बैंक तथा वित्तीय संस्थाको नियमन गर्नेसम्मको काम कारवाही प्रभावित हुनेछ । राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार मौद्रिक तथा विदेशी विनियम नीति निर्माण, नोट छपाइका लागि आवश्यक निर्णय तथा नीति तर्जुमा गर्ने काम प्रभावित हुनेछ । 

सञ्चालक समितिको बैठक नबस्दा वाणिज्य बैंक तथा वित्तीय संस्थाको निरीक्षण, सुपरिवेक्षण र यो क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने काम पनि प्रभावित हुनेछ । 

राष्ट्र बैंकमा सञ्चालक नियुक्ति हुन नसक्दा वा बैठक बस्न नसक्दा बैंकहरूको वित्तीय विवरण स्वीकृति गर्ने, बैंकहरूको काम कारवाहीको नियमित निरीक्षण गर्ने, बैंकहरूको कर्जा, पुनरकर्जा तथा सीमा र शर्तको स्वीकृति पनि रोकिने छ ।

वित्तीय स्रोतको परिचालन र लगानी गर्नेसहितको काम कारवाही पनि सञ्चालकको बैठकले नै तय गर्ने हुँदा सञ्चालक समितिको बैठक बस्न नपाउँदा ती काम समेत प्रभावित हुने भएका छन् ।

सञ्चालक नियुक्त गर्न अर्थमन्त्रीको चासो

राष्ट्र बैंक सञ्चालक समितिमा बहुमत पुग्ने सदस्य भोलिदेखि नै नहुने भएपछि अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । शर्माले राष्ट्र बैंक सञ्चालक समितिका सदस्य नियुक्त गर्ने विषयमा शुक्रवार नै छलफल अगाडि बढाएका हुन् । अर्थ मन्त्रालयका अनुसार शुक्रवार अपराह्न अर्थमन्त्री शर्माले कामु गभर्नर निलम ढुंगाना र अर्थसचिव मधु मरासिनीसँग छलफल गरेका छन् । 

राष्ट्र बैंक सञ्चालक नियुक्तिमा रेग्मी र पौडेलले दोहोरिन चाहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । यसअघि माओवादी सरकारले नियुक्त गरेका सञ्चालकद्वयले अहिले पनि माओवादी नेता अर्थमन्त्री भएको लाभ लिन चाहिरहेका छन् । अर्थमन्त्रालयमा निजी क्षेत्रबाट पनि लबिङ शुरू भइरहेको र अर्थमन्त्रीले चाहेको व्यक्ति नियुक्त हुन सक्ने भएकाले अहिले नै यही व्यक्ति हुन्छ भन्न नसकिने राष्ट्र बैंक स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्