२५ असार २०८३, बिहीबार

स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामाको लहर

बैशाख १०, २०७९
स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामाको लहर

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । 

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचारसंहिता जारी गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । 

निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । 

सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समय अघिदेखि नै राजीनामा दिन थालेका थिए । यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् ।

बागमती प्रदेशका नेकपा एमालेका सांसद विजय सुवेदीले भरतपुर महानगरपालिकामा उम्मेदवार हुन राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ ‘ख’बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद शेखअब्दुल कलाम आजादले गढीमाई नगरपालिका प्रमुखको उम्मेदवारी दिन राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पनि राजीनामा दिएकी छन् ।

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्न पदबाट राजीनामा दिने क्रम शुरू भएको जनाएका छन् । हालसम्म राजीनामा दिनेको यकिन तथ्यांक उपलब्ध भइसकेको छैन । 

नेपालको संविधानले स्थानीय तहका प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष राजीनामा दिने व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बहालवाला जनप्रतिनिधिले राजीनामा व्यक्तिलाई नभई संस्थालाई सम्बोधन गरेर दिने भएकाले राजीनामा दिने विषयमा अन्योल नभएको प्रस्ट पारे ।

उनले भने, ‘स्थानीय तहका निर्वाचित प्रतिनिधिले राजीनामा दिँदा स्वीकृत गर्नुपर्ने व्यवस्था छैन । प्रमुख व्यक्ति नभई संस्था भएकाले संस्थामा प्रमुख भए पनि नभए पनि प्रमुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था छ ।’ उनले राजीनामा पत्र प्रमुख प्रशासकीय अधिकृतले सनाखत गर्ने र सनाखत गरी प्रमाणीकरणको पत्र बनाएपछि सोही पत्रका आधारमा पुनः उम्मेदवार बन्न बाधा नपर्ने बताए ।

बागमती प्रदेशको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले आफूले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्नका लागि उपप्रमुख समक्ष राजीनामा बुझाएको बताए । उनका अनुसार आफूले बुझाएको राजीनामा कार्यपालिकामा छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृतले सनाखत गरी राजीनामा गरिएको पत्र बनाएपछि पुनः उम्मेदवार दर्ता गराउने तयारी गरिएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्