१६ असार २०८३, मंगलबार

प्रहरी महानिरीक्षक सिंहले गरे विधिविज्ञान प्रयोगशाला निरीक्षण

प्रहरी महानिरीक्षक सिंहले गरे विधिविज्ञान प्रयोगशाला निरीक्षण

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगञ्जको शुक्रवार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गरेका छन् ।

केनाइन कार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिए ।

निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरूको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्त्वपूर्ण रहेको बताए । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्धार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले भने, ‘निरीक्षणको उद्देश्य केनाइन कार्यालयको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु हो ।’

केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरूबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरू अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिए ।

निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्त्वपूर्ण हुने बताए । प्रयोगशालालाई आधुनिकीकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेशकुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरू एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्