०३ साउन २०८३, आइतबार
स्वतन्त्र उम्मेदवारकाे भेला

स्वतन्त्र उम्मेदवारको भेला शुरू, चुनावमा उम्मेदवार बन्न १३ मापदण्ड प्रस्ताव

स्वतन्त्र उम्मेदवारको भेला शुरू, चुनावमा उम्मेदवार बन्न १३ मापदण्ड प्रस्ताव

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला आयोजना गरेका छन् । 

‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेला शनिबार शुरु भएको हो । भेलाको प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई आमन्त्रण गरिएको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धिकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । भेलाले आगामी चुनावमा कसरी सहभागी हुने भन्ने बारेमा निश्कर्ष निकाल्ने बताइएको छ । 

साहुले पेश गरेको अवधरणा पत्रमा हतार गरेर अहिल्यै पार्टी नबनाउने भनिएको छ । तर, समानुपातिक मतको लागि भने विकल्प खोज्नुपर्ने भनिएको छ । वैकल्पिक शक्तिका रूपमा आउन चाहेका दलहरू मिलेर एउटै वैकल्पिक शक्ति बनेको खण्डमा उनीहरूलाई समानुपातिक मतमा सघाउन सकिने साहुले पेश  गरेको अवधारणा पत्रमा उल्लेख छ । 

उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् ।

यी हुन् प्रस्तावित मापदण्ड

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ । 

२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ । 

३. सांसद वा मन्त्रीले देश(विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ । 

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ । 

५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ । 

६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ । 

७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।

८. उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै: निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ । 

९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन । 

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन । 

११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ । 

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

१३. सांसद वा मन्त्री बनेर घुस खान्न, कुनै अनियमितता गर्दिन, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिवद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरूमा पनि दलीय भागबण्डको संसदमा खुलेर विरोध गर्ने प्रतिवद्धता जनाउनुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्