
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा केही समयदेखि संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखापरेको बताए ।
प्रचण्डले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरू गरिरहेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे । उनले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताउँदै आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए ।
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । उनले गठबन्धन विरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैँ नबुझ्न आग्रह गरे ।
‘संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरू भए । त्यो प्रवृत्ति, विचारविरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो । अहिले दुई वटा विचार, प्रवृत्ति आम्ने-सामने भएका छन् । एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर । एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर । एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा’, प्रचण्डले भने, ‘त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो की होइन, संविधानले जित्ने हो की होइन, लोकतन्त्रले जित्ने हो की होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले । यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु । यहाँ विभिन्न प्रचारबाजी भएका छन् । गठबन्धन अहिले मात्रै बनेको जसरी बुझ्नु पनि उचित हुँदैन ।’
अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।