
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ हेर्न हलमा दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार बक्स अफिसमा १ करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गर्दै बम्पर ‘ओपनिङ’ गरेको छ । शुक्रवार बिहानैदेखि उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको थियो । धेरै हलहरू शुक्रवार ‘हाउस फूल’ देखिएका थिए । शनिवार पनि बिहानैदेखि देशभरका हलमा दर्शकको उपस्थिति बाक्लो छ । लेखक एवं निर्देशक प्रदीप भट्टराईले बिहानैदेखि अधिकांश हलहरू ‘हाउस फूल’ रहेको बताए ।
चलचित्रले दर्शकहरूबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । एकै परिवारका २८ जनासम्मले ‘महापुरुष’ हेरेका छन् । बालकदेखि वृद्ध हरेक उमेर समूहका दर्शकहरू हलमा देखिएका छन् ।
शनिवार चलचित्रको व्यापार शुक्रवारको भन्दा स्वाभाविक बढी हुने देखिएको छ । आइतवार पनि सार्वजनिक बिदा भएका कारण चलचित्रलाई फाइदा हुने देखिएको छ । प्रदीप भट्टराई लिखित एवं निर्देशित ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्णका साथमा गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय छ ।
अभिनेता हरिवंश, निर्देशक प्रदीपसहित गौरी, रविन्द्र सिंह, अरुण, अन्जना, राजाराम लगायतका कलाकारहरू हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । म्याक्स दिपेश खत्री निर्मित चलचित्रको कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ स्वयं छन् ।
‘महापुरुष’ निर्देशक भट्टराईले यसअघि ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ जस्ता हिट चलचित्रहरू दिएका थिए ।
