×

NIC ASIA

फेरिँदो राजनीति

पुराना दललाई हर्क-बालेन सक्रियताको सन्देश : सुध्रिने कि भीरको बाटो हिँडेर गुल्टिने ?

काठमाडाैं | असार १, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘काल आयो भने स्याल शहर पस्छ रे !’ आफ्नो बासस्थान छोडेर बेसुरमा शहर कुदेको स्याल कहाँ कसको आक्रमणमा पर्ने हो पत्तो हुँदैन । यो उखान कुनै बेला उदाएर सकिएको प्रजा परिषद् नामक एक दलमाथि अहिलेका पुराना दलहरूले गरेको व्याख्यात्मक टिप्पणी सान्दर्भिक देखिन्छ । पुराना दलका नेतासामु अहिले हर्क साम्पाङ र बालेन साहको नाम मात्रै लियो भने मुन्टो बटार्छन्, प्रशंसा त परको कुरा । यी दलहरू सोच्दैनन् हर्क र बालेन चर्चामा छन्, हाम्रा मेयरहरू के गरिरहेका छन् ? अहिलेसम्म न कुनै दलले आफ्ना मेयरहरूलाई एक पटक स्पष्टीकरण सोधेका छन् न त मेयरहरू नै बाटो बदलेर काममा फर्केका छन् । केन्द्रका नेताहरू भने एकफेर आफ्नो प्रशंसा कसैले गरिदियोस् भनेर रिपोर्टस क्लब धाउन छोडेका छैनन् ! 

Muktinath Bank

उपत्यकाका एक मेयरलाई यस पङ्क्तिकारले केही दिन पहिले भक्तपुरको कुनै क्याफेमा भेटेको थियो । उनले आफू नियमित कार्यालय आउने कुरालाई सगौरव सुनाए । तर, उनले सँगै जोडिएको काठमाडौं महानगरमा भइरहेको परिवर्तनका संकेतलाई वास्तै गरेनन् । चिटिक्क परेर कार्यालय गएपछि मेयरको कर्तव्य पुरा हुन्छ भन्ने मात्र जानेका यी र यस्ता देशभरका कयौं मेयरहरूले शरीरभरी माटो लत्पतिएका हर्क साम्पाङको ‘पानी क्रान्ति’ अझै देखेका छैनन् । श्रमदानमा आफैं हेलिएर विकास सम्भव छ भनेर प्रमाणित गरेका हर्क साम्पाङको विपरीत दिशातर्फ देशभरका मेयरहरू लर्को लागेका छन् । के बालेन र हर्क हिँडेको बाटोविपरीत पाइला चाल्दा पुराना दलहरू जोगिन सक्छन् ? एक पटक हर्क र बालेनका काम नियालौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
अहिलेका पुराना प्रमुख दलहरू शतप्रतिशत सुध्रेनन् भने ०८४ सालको चुनावमा धेरै नेकपा माले बन्ने छन् ।

स्वतन्त्र मेयर भर्सेस पुराना दलका मेयर
‘आगो बाल्न ठोस्नैपर्छ ।’ हामी बच्चै हुँदा बुढाबुढीले सिकाएको उद्धरणले कालजयी सन्देश बोकेको छ । धरानमा हर्कले ठोसेको विकासको झिल्को र काठमाडौंमा बालेनले झोसेको शहर रूपान्तरणको आगो जनजनमा फैलिरहेको छ । कहिल्यै नामै लिन नचाहने पुराना नेता पनि यी दुई मेयरको नाम उच्चारण गर्न थालेका छन् । कुनै नेताले त हामी हर्क, बालेन जसरी काम नगर्ने भए सकिने छौं पनि भन्न भ्याएका छन् । तर, उनीहरूको सिंगो पार्टी भने चुपचाप आफ्नो बचाउमा मात्र केन्द्रित छ ! 


Advertisment
Nabil box
Kumari

यतिबेला नागरिक तहबाट सबैभन्दा आलोचना खेपेको महानगर हो, पोखरा । गठबन्धन दलहरूबाट विजयी मेयर धनराज आचार्यका आलोचना स्थानीय मिडियामा मात्र सीमित छैनन्, सामाजिक सञ्जालभरि फैलिरहेको छ । आचार्य विलासी शैली अपनाएर जिम्मेवारीबाट पर भागिरहेको जनताले चित्रण गरिरहेका छन् । शहरमा दुर्गन्ध फैलाएर आफ्नो शरीरभरी अत्तर छर्केर विदेश सयर गर्नेजस्ता आलोचनाका समाचारले जताततै ठाउँ पाइरहेका छन् ! स्थानीय चिप्लेढुंगामा थुप्रिएको फोहोरका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेर उनलाई गैरजिम्मेवार मेयरको उपमा दिइरहेका छन् । मेयर आचार्यलाई अहिले पटक पटक विदेश जानुको कारण र करोडौं रुपैयाँको खाजा खर्चको बारेमा स्पष्टीकरण दिँदैमा हैरान छ । फेवाताल अतिक्रमणका विषयमा मेयरको चुपचापलाई सन्देहपूर्वक हेरिएको छ ।

Vianet communication

जनताको असली प्रतिनिधि बनेर काम गरेको भए आज पोखराका मेयरले आलोचना खेप्नु पर्थ्यो र ? जनतासँगै काम गरेको भए हर्क र बालेनका जसरी प्रशंसा स्वतः बर्सिन्थे । देशका बाँकी महानगरमध्ये विराटनगर, भरतपुर, वीरगञ्ज र ललितपुरका मेयरहरू गुमनामजस्तै छन् । भरतपुर महानगरकी मेयर प्रधानमन्त्रीपुत्री भएकै कारण केही न केही चर्चामा आएको मात्र हो । तर, रेणु दाहालको पहिलो पाँच वर्ष र अहिलेको एक वर्षे कार्यकाल औसतभन्दा माथि छैन ।

भरतपुर महानगरको स्वरूप, भित्री सडकहरू, नारायणगढ बजारको मुख्य सडक विस्तार, पुल्चोक–गोन्द्रयाङ सडक, बाइपास सडक, मेघौली सडक र विद्युत् विस्तार ०७४ सालअघिकै योजना हुन् । रेणुले शुरूआत गरेको नारायणी नदि किनारको सौन्दर्यता मात्र हो । योबाहेक रेणुले महानगरमा नयाँ काम केही गर्न सकेकी छैनन् । रेणु दाहाल र धनराज आचार्यजस्तै देशभरका मेयरहरू अकर्मण्यताको भारी बोकिरहेका छन् । धनगढी, धरान र काठमाडौंका मेयरको चर्चा जनस्तरमा गज्जबले फैलिरहेको छ । यी तीन पालिकाका मेयर स्वतन्त्र हुन् । यिनले स्वतन्त्र निर्णय गर्छन् । दलको सिन्डिकेटबाट जनप्रतिनिधि हुँदा कति पंगु सावित भइने रहेछ भन्ने पुराना दलहरू नै सन्देश प्रवाह गरिरहेका छन् । देशका अन्य पालिका प्रमुखहरूको भूमिकाप्रति जनता रुष्ट हुँदै जानु तर, धरान र काठमाडौंका मेयरको काममा आकर्षण फैलनुको कारण हेरौं ।

धरान र काठमाडौं मात्र चर्चामा किन ?
धरानका मेयर हर्क साम्पाङले करिब ४२ किमी टाढाबाट कुन दुःखले पानी ल्याउन सफल भए ? धेरैलाई जानकारी भइसकेको छ । यसमा उनको इच्छाशक्तिको तागत परीक्षण भएको छ । जुन परीक्षामा उनी प्रथम घोषित भएका छन् । तर, यस आलेखमा हर्कका हर्षका आँसु र बालेनको बलियो पाइला अन्य पालिकाहरूतिर किन फैलन सकिरहेको छैन भन्ने तर्फ संकेत गर्न खोजिएको छ । 

धरानमा हर्कले ठोसेको विकासको झिल्को र काठमाडौंमा बालेनले झोसेको शहर रूपान्तरणको आगो जनजनमा फैलिरहेको छ ।

पहिलो, धरानकै कुरा गरौं । हर्क साम्पाङले धरानमा खानेपानीको आवाज उठाएको अहिले होइन । उनको विगतलाई अध्ययन गर्ने हो भने लामो समयदेखि उनले यो सपना देखेका थिए । उनी जुन उद्देश्यले जनप्रतिनिधि बन्न चाहन्थे, त्यही विगतलाई टेकेर उनले आफ्नो लक्ष्य पुरा गरेका थिए । 

पालिकासँग ठूलो बजेट हुँदैन । तर, श्रमदानलाई विकाससँग जोड्यो भने परिवर्तन सम्भव छ भन्ने उनले प्रमाणित गरिदिएका छन् । उनको लगावमा पुराना ठूला दलहरूका स्थानीय नेताहरूको खासै साथ छैन । हर्क साम्पाङ र पुराना दलहरूको दरार बढ्दै जाँदा सर्वसाधारण जनतामा उनीप्रति झन् आकर्षण बढ्दै गयो । जतिजति उनी दलहरूको विरोध झेल्दै गए, उतिउति उनलाई धरानभित्र र बाहिरबाट सहयोग समर्थनको बाटो खुल्दै गयो । पुराना दलहरूसँगको दिक्दारीलाई जनताले हर्क साम्पाङको काममा गएर बिसाए । जुन हर्कका लागि शक्ति बन्यो । 

यता काठमाडौंका मेयर बालेनको नियति पनि उही हो । टुकुचा सफा गर्नेदेखि पार्किङ व्यवस्थापनसम्म, शहरको सौन्दर्यीकरणदेखि डम्पिङ साइटको सुविधासम्मका कामहरूमा बालेनलाई कुनै दलले साथ दिएनन् । कति मिडियाले त खेदेकोखेद्यै छन् । पुराना दलहरूले बालेनको कामलाई चासो दिएका छैनन् । दलहरूको रवैयाप्रति बालेनले उही हर्क शैलीमै सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् । ‘सिंहदरबारका सबै नेतालाई डम्प गर्नुपर्छ’ भन्नेजस्ता अभिव्यक्ति सार्वजनिक गरेर बालेनले सर्वसाधारण नागरिकको भरोसा आफूतिर खिचिदिए । 

विश्वका अधिकांश देशका राजधानी निकै व्यवस्थित छन् । देश गरिब भए पनि राजधानीलाई भव्य बनाउनुपर्छ भन्ने सबै देशले धेरै पहिले सिकेका थिए । तर, नेपालमा भने अन्य शहर बरु केही गतिला होलान्, सबैभन्दा कुरूप राजधानी नै छ । यसको मुख्य जड यी दलहरू हुन् । 

०४६ सालअघि उपत्यका यति कुरूप थिएन । त्यतिबेला काठमाडौं सुन्दर भएका कारण यहाँ घुम्न आउने पर्यटकको ठूलो आकर्षण थियो । काठमाडौंको सौन्दर्यलाई लिएर कयौं फिल्म र गीतहरू निर्माण गरिए । वरिष्ठ कलाकार डेनी डेन्जोङ्पाले गाएको ‘कान्छीलाई घुमाउने काठमाडौं शहर’ अहिले पनि चर्चित छ । सम्पदाले मात्र होइन, सरसफाइमा पनि उपत्यका अब्बल थियो । जब, बहुदल आयो, अनि यसको विकासमा कुनै सरकारले ध्यान दिनै सकेन । पूर्वमेयर केशव स्थापितले माइतीघर र केही आकाशे पुल बनाउनेबाहेक कुनै जनप्रतिनिधिले उपत्यका विकासको लागि काम गरेनन् । 

हर्कका हर्षका आँसु र बालेनको बलियो पाइला अन्य पालिकाहरूतिर किन फैलिन सकिरहेको छैन ?

अहिले बालेनले त्यही तीन दशकदेखिको माकुराको जालो सफा गरिरहेका छन् । फोहोरहरू थुपार्दैछन् । उनले लगाउँदै गरेको कुचोले बढार्ने भयले एकथरि मानिस यसरी तर्सिएका छन्, मानौं उनीहरूका लागि त्यही नरकजस्तो राजधानी नै सही छ ! उपत्यकाका भित्री सडक यस्तै त साँगुरा छन् । ठेला लिएर तरकारी फलफूल लिएर बसिदियो भने यी गल्लीमा मानिसहरूले कति सकस भोग्नुपर्छ भन्ने बालेनको विरोध गर्नेले देख्दैनन् । जथाभावी खुलेका वर्कशप, असरल्ल ट्राफिक अवस्था र कयौं ध्वनी प्रदूषण गर्ने स्रोतलाई नियन्त्रण गर्न खोज्दा एकथरिलाई ज्वरो आएको छ । 

बंगलादेश, भारत र पाकिस्तानबाहेकका देशहरूका शहर यस्तो भद्रगोल खासै देखिँदैन । यहाँका एकथरि मिडिया र पुराना दलका जडसूत्रवादीहरूलाई शहरको सौन्दर्यीकरण कति पनि मन परेको छैन । हो, निम्न आय भएका सबै व्यवसायलाई निश्चित स्थानमा व्यवस्थापन गरेर मात्र हटाउनुपर्छ । तर, यो विषयमा दर्जनौं प्रस्ताव लिएर बालेन मन्त्रालय, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म धाइसके । उनले भनेका छन्, ‘मेरो हटाउने काम हो, उनीहरूलाई ठाउँ खोजेर राख्ने जिम्मा सरकारको हो ।’

बालेनले जसरी आफ्नो कर्तव्य गरिरहेका छन्, त्यसरी नै राज्यका सबै अंगले काम गर्ने हो भने न यहाँ कुनै व्यवसायको ठेला फाल्न जरुरी छ, न यो शहर कुरूप हुन्छ । हामी मिडियाले दलहरूलाई यो विषयमा कहिल्यै झक्झक्याएनौं । उल्टो काठमाडौं महानगरसँग मानिसहरू तर्सिए भनेर नकारात्मक सन्देश प्रवाह गर्न उद्दत बन्यौं । 

आज, धरानका मेयर हर्कले खानेपानी ल्याउन पाइप ताने, शहरका बिरुवा मर्न नदिन पानी हाले, सडकका फोहोर आफैँ टिपे, काठमाडौंका मेयर बालेन आफैँ पार्किङ खाली गर्न कुदाकुद गरे, पानीमा भिज्दै डिभाइडर उठाए । यी कामले मानिसको कर्तव्यलाई संकेत गरिरहेको छ । इी दुवै मेयरका कामले छरेको सन्देशले मजदुरदेखि फाइलमा हस्ताक्षर गर्नेसम्मका व्यक्तिलाई प्रेरणा दिइरहेको छ । हर्क र बालेनले निभाएका भूमिकाले मानिसका लागि सबै काम समान हुन्, सोच र विचारले मात्र सानो ठूलो हुने हो भन्ने तरंग फैलाइदिएको छ ।

अन्त्यमा, सीपी मैनालीको एउटा पार्टी छ, नेकपा माले । कुनै बेलाका शक्तिशाली नेता अहिले २–४ जना कार्यकर्ताबीच पनि उनी आफ्नो पार्टीलाई सानो देख्दैनन् । उही पुरानै शक्तिको बलमा मैनाली शक्तिशाली नेता नै लाग्ने गर्छन् । अहिलेका ठूला भनिएका पुराना दल शतप्रतिशत परिवर्तन भएनन् भने ०८४ सालको चुनावमा धेरै नेकपा माले बन्नेवाला छन् ।

राजनीतिक परिवर्तनमा हाम्रो दलको भूमिका थियो, व्यवस्था परिवर्तन गर्न आन्दोलन गर्‍यौं, युद्ध गरियो भनेर अब जनताले भोट दिनेवाला छैनन् । कुनैबेला राणाशासन फाल्न मुख्य भूमिका खेलेको नेपाल प्रजापरिषद् अहिलेका दलहरूजस्तै शक्तिशाली पार्टी थियो । कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह संस्थापक सदस्य थिए । तर, समयले कुन पार्टीलाई कतिबेला सिद्ध्याउने रहेछ, कुनलाई उठाउने रहेछ, पत्तै हुँदैन । यदि प्रजापरिषदको इतिहास, नेकपा मालेको वर्तमान, हर्क साम्पाङ राई र बालेन साहको सक्रियता बुझ्न सकेनन् भने हालका पुराना दलहरूले भीरको बाटो रोजेको बुझ्नुपर्छ, जुन बाटोबाट गुल्टिनुबाहेक अर्को विकल्प छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x