१९ असार २०८३, शुक्रबार

ललिता निवास प्रकरणमा आज पत्रकार सम्मेलन गर्दै सीआईबी, ३ जनालाई किन छाडियो ?

असार १३, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा आज पत्रकार सम्मेलन गर्दै सीआईबी, ३ जनालाई किन छाडियो ?

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाका विषयमा आज बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह समेतलाई पक्राउ गरेको छ । अनुसन्धान तीव्र पारेको सीआईबीले शाहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए । शाहले विक्रम संवत् २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए ।

मंगलवार खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । यद्यपि यसअघि नै सर्वाेच्च अदालतबाट ‘स्टे अर्डर’ ल्याएको पाइएपछि पक्राउ परेका ३ जनालाई कागज गराएर छाडिएको छ ।

सीआईबीका अनुसार उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।

मंगलवार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । 

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विक्रम संवत् २०४९ देखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि ३०० जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्