०४ असार २०८३, बिहीबार

आदिकवि भानुभक्त आचार्यको घर खण्डहर

असार २९, २०८०
तनहुँ
आदिकवि भानुभक्त आचार्यको घर खण्डहर

मेरा इनार, न त सत्तल पाटी केही छन् 
जे चिज र धनहरू छन् घरभित्र नै छन् 
त्यस घाँसीले कसरी आज दियेछ अर्ति 
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । 
– भानुभक्त आचार्य

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ ।

घरभित्रै ठूला–ठूला काँडा सहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनर्निर्माणको काम शुरू गर्ने तयारी गरिएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनर्निर्माणको तयारी गरिएको हो ।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनर्निर्माणको काम शुरू हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

घर पुनर्निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम शुरू गरिने रानाभाटको भनाइ छ । उनले भने, ‘कंक्रिटको घर बनाउन नसकिए पनि ढुंगा माटोको भए पनि घर निर्माणका लागि काम शुरू हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौं ।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम शुरू हुन सकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम शुरू गर्छौं ।’

भानुभक्तको घर पुनर्निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनर्निर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।’

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम शुरू गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विक्रम संवत् २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर १ लाखमा पुनर्निर्माण गरेका थिए । जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा १ लाख २७ हजार रुपैयाँको क्षति भएको थियो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनर्निर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।

भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको ३ करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षक रूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । 

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए । – कृष्ण न्यौपाने/रासस
 

salt training

कमेन्ट गर्नुहोस्