माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडाैं | पुस ४, २०८०
सभापति शेरबहादुर देउवालाई छैटौंपटक प्रधानमन्त्री हुन नदिने जिकिरसहित डा. शेखर कोइराला र महामन्त्री गगन थापाले तयारी अगाडि बढाएका छन् । सत्ता गठबन्धनको आलोपालोमा प्रचण्डलगत्तै अब ढिलोमा एक वर्षपछि देउवा प्रधानमन्त्री बन्ने तरखरमा छन् । तर, पार्टीकै नेताहरूले उनलाई रोक्ने रणनीति बनाउन थालेका छन् ।
दुई वर्षअघि १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा रोक्न शेखर अगाडि बढे पनि सफल भएनन् । गत वर्ष ६ पुसमा फेरि दलको नेता बन्नबाट रोक्न गगन थापा अगाडि सरे । तर, उनी पनि सफल भएनन् । लगातारका वर्षमा शेखर र गगन दुवैले देउवालाई गतिलो टक्करसम्म दिन नसकेपछि टीममै विग्रह आउनेसम्मको अवस्थामा बन्यो ।
अहिले आएर महिनौं लामो मौनता तोड्दै शेखर र गगन फेरि एक ठाउँमा आएका छन् । २८ मंसिरमा समूहको बैठकमा उनीहरू सँगै देखिए । यही बैठकले देउवालाई प्रधानमन्त्री बन्न नदिने, २०८२ मा १५ औं महाधिवेशन गरेर सभापति जित्ने र २०८४ को निर्वाचनमा आफू अनुकूल टिकट बाँड्नेसम्मको रणनीति बनाएको छ ।
‘२८ मंसिरमा शेखर दाइले सबैलाई बोलाउनु र महामन्त्री गगन थापाले अब दलको नेता शेखरलाई बनाउनुपर्छ भन्नु त्यसैको संकेत हो । संसदीय दलमा गगनलाई टीमको ३४ मध्ये २५ भोट मात्र आएको कुरालाई बिर्सौं । टीमलाई सम्हाल्न पर्याप्त छलफल नगरेको शेखर दाइको पाटोलाई पनि बिर्सौं भन्नेमा उहाँहरू पुग्नुभएको छ,’ शेखर–गगन पक्षका एक नेता भन्छन्, ‘विस्तारै माहोल बनाउँदै दलको नेता फेरेर शेखरलाई प्रधानमन्त्री बनाउने, २०८२ मा महाधिवेशन गर्ने र २०८४ को चुनावको तयारीमा जुट्नेमा समान धारणा छ ।’
पछिल्लो समय सरकारविरुद्ध खरो रूपमा शेखर र गगनले दिँदै आएको आक्रामक अभिव्यक्तिको सन्देश पनि अब ‘टेस्टेड’ नेता काम लाग्दैन भन्ने भएको ती नेता बताउँछन् । हुन पनि शेखर र गगनले समूहको बैठकपछि प्रधानमन्त्री र मन्त्रीको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
‘प्रधानमन्त्रीले एक वर्षमा के–के गर्नुभयो ? म उहाँको रिपोर्ट कार्ड चाहन्छु,’ सभापति शेरबहादुर देउवा पनि सहभागी भएको कांग्रेस गण्डकी प्रदेश सम्मेलनमा नेता कोइरालाले भनेका थिए । शेखरले एक दिनअघि कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनमा पुगेर यस्तै अभिव्यक्ति दिएका थिए ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीको रिपोर्ट कार्ड लिने भन्दै पुस ५ देखि १० गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीजी मन्त्रीको रिपोर्ट कार्ड माग्नुहुन्छ, तर हामीलाई तपाईंको रिपोर्ट कार्ड चाहिएको छ,’ कोइरालाले सोमबार भनेका थिए, ‘सरकारले काम गरेन भनेर नागरिकमा आक्रोश र निराशा बढिरहेको छ । यो स्वाभाविक पनि हो । जनताले लोकतन्त्र र गणतन्त्रप्रति आक्रोश देखाएका होइनन्, हामीले सरकारमा बसेर राम्रो काम गर्न नसक्दाको आक्रोश व्यक्त भएको हो ।’
दलीय गठजोडको राजनीतिमा ३२ सीट जितेर पनि सत्ता हत्याएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष कार्यकाल पूरा नगर्दै चौतर्फी निशानामा परेका छन् । काम गर्दैगर्दा भन्दा पनि एक वर्षमा प्रभावकारी कार्यसम्पादन देखाउन नसकेको भन्दै गठबन्धनको प्रमुख दल कांग्रेसको एउटा पक्षबाट प्रधानमन्त्रीमाथि सबैभन्दा ठूलो दबाब परेको हो ।
शेखरसँगै लय मिलाउने गरी गगन पनि सरकारमाथि खनिएका छन् ।
‘एक वर्षमा प्रधानमन्त्रीले काम गर्न सक्नुभएन, किनकि कुनै राजनीतिक संक्रमण नभएको यो स्थिरतामा काम गर्न उहाँको निम्ति अनुकूल समय थियो,’ थापाले भनेका छन्, ‘अब एक वर्षमा पनि काम गर्नुहुन्छ भने राख्छौं, सहयोग पनि गर्छौं, होइन भने बालुवाटारबाट खुमलटार पुर्याइदिन्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्छ ।’
लगत्तै पर्वतको सम्मेलनमा थापा प्रधानमन्त्रीमाथि फेरि खनिए ।
‘मजस्तै सांसदले एक वर्षअगाडि प्रधानमन्त्रीका रूपमा मत दिएका थियौं, तर यो एक वर्षमा सरकारले १०० मा १० अंकभन्दा बढी पाउने गरी काम गरेको छैन,’ थापाले पर्वत पुगेर आइतबार भनेका थिए, ‘प्रधानमन्त्रीले काम नै गर्न सक्नुभएन । उहाँको अवधि अब एक वर्षमात्रै छ । १० अंकबाट मेहनत नगरे अर्को वर्ष ८ अंकमा झर्छ ।’
अहिले शेखर र गगनको अभिव्यक्तिको अर्थ प्रचण्डले मात्र हैन, देउवाले नेतृत्व गर्दा पनि कुनै फरक पन हुँदैन भन्ने भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी बताउँछन् ।
‘प्रधानमन्त्री प्रचण्डमाथि गुनासो बढ्नु र उहाँले सक्नुभएन भन्नुको पछाडि अब हाम्रो सभापति देउवा प्रधानमन्त्री भएर पनि उल्कापात गर्न सक्नुहुन्न भन्ने आशय छ,’ सिवाकोटी भन्छन्, ‘यसैले अब कांग्रेसमा नयाँ अनुहार आए मात्रै पार्टीको रिफर्म गर्ने र २०८४ को निर्वाचनमा कांग्रेसलाई बलियो शक्ति बनाउने काम गर्न सक्छ । अन्यथा पार्टी पुरानो ढर्रामै सीमित हुन्छ । एकले अर्कोलाई पेल्ने नीति लिए न समूह बलियो हुन्छ, न त व्यक्ति नै ।’
देउवाले आफैं नछाड्ने, तत्काल हटाउन नसकिने, पार्टी नेतृत्व नबदलिने, मन्त्रीलाई कामकाजी बनाउन नसक्ने भएपछि बोलेरै भए पनि कार्यकर्ताको मत बटुल्नुपर्ने सिवाकोटी बताउँछन् ।
‘सभापतिले तत्काल छाडिहाल्ने स्थिति छैन । हटाइहाल्ने गरी मत पनि जुटिसकेको अवस्था होइन । तर, न सरकारमा पठाएकाले राम्रो काम गर्छन्, न त पार्टीले नै गराउन सक्छ,’ सिवाकोटी भन्छन्, ‘यस्तोमा राजनीतिक भविष्य भएका नेताले अब के गर्ने ? यसैगरी फरक डिस्कोर्ष र डिबेट गर्ने हो । केही नबोली बस्दा र नगर्दा भोलि के भनेर अनि के काम देखाएर जनताको बीचमा जाने ?’
शेखर पक्षकै नेता डा. गोविन्दराज पोखरेल पनि पछिल्लो बैठकपछि अब तिक्तता मेटाएर जाने सहमति हुनु धेरैको हितमा रहेको बताउँछन् ।
‘समूहको पछिल्लो बसाइ र बैठकमा महामन्त्रीले शेखर दाइलाई दलको नेता बनाएर जान प्रस्ताव गर्नु आफैंमा सकारात्मक हो,’ उनी भन्छन्, ‘अब पार्टी पुरानै ढर्राले चल्दैन, केही न केही नयाँपन दिनुपर्छ भन्ने बोध सबैलाई भएको छ ।’
सजिलो छ देउवाविरुद्ध बहुमत जुटाउन ?
प्रतिनिधिसभामा कांग्रेसका ८७ सांसद छन्, जसमा सभापति एवं दलका नेता देउवाको अत्यधिक पकड छ । गगनले चुनौती दिएका बेला देउवाले ६४ प्राप्त गरेका थिए । गगनको पक्षमा २५ मत मात्रै आएको थियो । गगनले पाएको सो मत टीमको ३४ मतभन्दा ९ कम थियो । प्रतिस्पर्धामा शेखर समूहका कम्तीमा ९ नेताले उनलाई भोट दिएका थिएनन् । यस्तोमा २५ बाट २० बढाए मात्रै देउवालाई संसदीय दलमा दबाब दिने मत पुग्छ । के पछिल्लो समय विभाजित मानसिकतामा रहेको शेखर–गगन समूहसँग यो सामथ्र्य छ ?
‘हामीले तत्काल नै गणितले सम्भव हुन्छ भनेका छैनौं, तर असम्भव पनि छैन । अघिल्लोपटक हाम्रो समूहको मत कम्तीमा ३४ थियो, २५ मात्रै आयो,’ संस्थापन इतरका एक नेता भन्छन्, ‘त्यो ३४ बाहेक कम्तीमा चार सांसदले संस्थापनबाट गगनदाईलाई भोट हाल्छौं भनेका थिए, अन्तिममा आफ्नैले धोका दिए । त्यो धोका नभएको भए ३४ बाट ३८/३९ पुग्थ्यो । यस्तोमा थप ६/७ भोटको मात्रै कुरा हुन्थ्यो । त्यसैले अब तत्काल नभए पनि फागुनको राष्ट्रिय सभा निर्वाचनपछि फेरि दलको नेतामा बहुमत पुर्याउने प्रयत्न गर्नुपर्छ भन्नेमा नेताहरू पुग्नुभएको छ ।’
ती नेताका अनुसार दुवै पक्षले गल्ती–कमजोरी स्वीकारेकाले अब फेरि एक ठाउँमा उभिएर बलियो दबाब र दाबेदारी दिनुपर्छ भन्ने बुझाइ समूहमा देखिएको छ ।
‘गृहकार्य गर्दा ६ महिना वा एक वर्ष लाग्न सक्छ, तर कम्तिमा ४५/४७ कांग्रेस सांसद हामीले पुर्याउन सक्छौं भन्ने भएपछि दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाउने नै हो,’ ती नेता भन्छन्, ‘प्रचण्डपछि देउवा प्रधानमन्त्री हुनुअघि नेता परिवर्तन गरेर कांग्रेसबाट प्रधानमन्त्री बन्ने परिस्थितिले मात्रै २०८२ मा कांग्रेसको महाधिवेशन हुन्छ । अनि हामी २०८४ को चुनावमा कांग्रेसलाई नयाँ उत्साहसाथ जनताबीच स्थापित गर्न सक्छौं ।’
देउवाले २०८२ मा महाधिवेशन गर्न नचाहेकाले उनलाई हटाएर मात्रै महाधिवेशन सुनिश्चित गर्न सकिन्छ भन्नेमा शेखर पक्षका सम्पूर्ण नेताबीच भावनात्मक एकता जरुरी रहेको ती नेता बताउँछन् ।
‘दुई वर्षमा आएर अब एक्लै अगाडि बढेर हुँदैन भन्ने बुझाइ बनेको छ । एकअर्काको साथले मात्रै बलिया देउवालाई परास्त गर्न सकिन्छ भन्नेमा पुगेका छौं,’ ती नेता भन्छन्, ‘यो बुझाइमा साँच्चै सार्थक पहलकदमी भयो भने संस्थापनका नेतालाई पनि हाम्रोतिर तान्न सकिन्छ ।’
देउवा पक्षभित्र पनि उत्तिकै छटपटी
प्रधानमन्त्री र मन्त्रीका कमजोरीप्रति सभापति देउवाले मौनता साँध्नुको सिधा कारण छ, देउवा प्रचण्डपछि सहजै प्रधानमन्त्री हुन चाहन्छन् । त्यसैले प्रधानमन्त्रीलाई नचिढ्याउने बरु उनले एक वर्ष व्यतित गरेकाले अब अर्को वर्ष पनि यत्तिकै बिताउने र सत्ता आफ्नो हातमा ल्याउने मनस्थितिमा उनी छन् । देउवाको यो मौनता उनकै टीमका कतिपय नेतालाई मन परेको छैन ।
यसअघि नै मन्त्री हुने लाइनमा रहेका अधिकांश नेता र सांसदहरू देउवासँग असन्तुष्ट छन् । सरकार फेरबदल वा मन्त्री फेरबदल गर्न सक्दा आफूहरूको पालो आउने बुझाइ उनीहरूको छ । साथै, अर्कातिर देउवा १५ औं महाधिवेशनमा नउठ्ने भएकाले आफ्नो राजनीतिक भविष्यले पनि थुप्रै नेता चिन्तित छन् ।
‘मन्त्री हुने पखाइ तात्कालिक लाभहानीको विषय हो । तर, संस्थापनमा पनि १५ औं महाधिवेशनमा देउवाले आरजू, पूर्णबहादुर वा कसलाई अगाडि सार्लान् भन्नेमा धेरैको चासो छ । यस्तो बेला डा. प्रकाशशरण महत र बालकृष्ण खाँणहरूले के गर्लान् ?’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवा साँच्चै बाहिरिने अवस्थाले संस्थापनमा धेरै नै उकुसमुकुस र हलचल हुनेछ । यस्तोमा अर्को पक्षले व्यावहारिक र जिम्मेवार भएर नेता व्यवस्थापन गराउने प्रस्ताव ल्याए संस्थापन कमजोर हुन सक्छ ।’
शेखर वा गगनलाई प्रधानमन्त्रीको कार्ड फ्याँकेर देउवाले आफूलाई तेस्रोपटक सभापति बन्ने गरी विधानको बाटो खुलाउँछन् कि भन्ने आशंका अझै हटिसकेको छैन । तर, देउवा साँच्चै तेस्रो कार्यकालका लागि तयार भएनन् भने कांग्रेसमा पुराना गुटहरू भत्किने पक्कापक्की जस्तै छ ।
देउवापछि पार्टीको संस्थापन पूर्व संस्थापनमा फर्किने धेरैको विश्वास छ । यसैले शेखरदेखि गगनसम्मका नेतासँग अहिले देउवा निकटका नेताको उठबस भइरहेको दाबी पनि ती नेताले गरे ।
‘नेताले स्वाभाविक रूपमा आफ्नो राजनीतिक भविष्यको चिन्ता गर्छ नै । यसैले पार्टीको संस्थापन फेरि पहिलेकै ठाउँमा पुग्छ भन्नेमा नेताहरूले मानसिकता बनाएको देखिन्छ,’ ती नेता भन्छन्, ‘यसैले अहिले देउवासँगै रहेका नेताहरूले पनि १५ औं महाधिवेशनपछिको भविष्य कस्तो होला भनेर शेखर र गगनसँग समेत भेटघाट गरेको पाएका छौं ।’
पार्टीमा देउवाको बलियो पकडले गर्दा उनीहरू खुल्न सकेका छैनन् । तर देउवा टीमका धेरै नेतामा छटपटी देखिन्छ । ‘वर्षौंदेखि समूह भनेर लागिएको छ, अप्ठ्यारोमा पनि साथ दिइएको छ, तर अवसर आउँदा र मन्त्री बनाउँदा एउटैले मौका पाउँछ,’ देउवा पक्षका एक नेता भन्छन्, ‘कार्यसम्पादन गर्न नसक्नेलाई समेत अवसर र जिम्मेवारीको भारी बोकाउने अभ्यास गलत छ भन्ने हाम्रो मान्यता छ ।’
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बाहिर बोलेरभन्दा विधानले दिएको अधिकारअनुसार बहुमत सिद्ध गरेर दलको नेता जतिखेर पनि फेर्न सकिने बताउँछन् ।
‘देउवाले राम्रो गर्नुभएन भन्ने सबैलाई लागेको छ, जबर्जस्ती देउवालाई दलको नेताबाट हटाउँछौं भनेर मिडिया र सार्वजनिक मञ्चबाट कराएर वा रोदन गरेर हुँदैन,’ दाहालले भने, ‘विधि पुर्याएर दलमा बहुमत पुग्ने भएपछि प्रस्ताव लगेर नेता फेरे हुन्छ । यसका लागि सांसदको मत र मन दुवै जित्न सक्नुपर्छ ।’
तर, देउवालाई फालिहाल्न अहिले सहज नभएको उनी बताउँछन् ।
‘पार्टी संरचना, संसदीय दलमा देउवाको अहिले पनि अत्यधिक पकड र पहुँच छ, यसलाई तोडेर अर्कोतिर बहुमतको प्रयत्न हुन सक्छ । तर, यो सजिलो र सहज बाटोबाट हुँदैन,’ उनी भन्छन्, ‘बाहिरबाट कराएर आफ्नो इच्छा र मनोकांक्षा पूरा हुन्छ भन्ने सोच्नु हुँदैन ।’
नेता मात्रै फेरेर रातारात कांग्रेस नसुध्रिने पनि उनी बताउँछन् ।
‘पार्टीको संगठन छैन, प्रशिक्षण छैन, नीतिगत स्पष्टता छैन, खाली सत्तामा फलानो जाने भन्ने बहसले कांग्रेसलाई छियाछिया पारेको छ,’ दाहाल भन्छन्, ‘२०८३ मा हुने महाधिवेशनमा नेतृत्व परिवर्तन गर्छौं भनेर संगठन गरे हुन्छ । अहिले नै यो भएन भनेर मात्रै हुँदैन । एकजना परिवर्तन हुँदैमा कांग्रेसलाई विचार र संगठन शून्यताबाट माथि उठाउन सकिँदैन ।’
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...