०२ साउन २०८३, शनिबार

बजेट अभावले तनहुँका ४ सिँचाइ योजना अलपत्र

माघ २९, २०८०
तनहुँ
बजेट अभावले तनहुँका ४ सिँचाइ योजना अलपत्र

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा तनहुँका ४ सिँचाइ योजना अलपत्र बनेका छन् ।

योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबीसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् ।

गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

रु ५८ लाख निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । बजेटका कारण निर्माणाधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ ।

‘भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ’, उनले भने, ‘अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याई स्थानीयको जीवनस्तर माथि उकास्ने लक्ष्य रहेको छ ।’​

विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का लागेको छ ।​

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–९ मा बस्ती संरक्षणका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् ।

स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्