२७ जेठ २०८३, बुधबार

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

बैशाख २७, २०८१
सुनसरी
निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

 धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । 

एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले जानकारी दिए । 

उनका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भइरहेको छ । रु ३३ करोड ७० लाख ४७ हजारभन्दा बढी लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० मा रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो । 

हाल बसपार्कको टर्मिनल भवन निर्माण सम्पन्न भएको भने विद्युत् र पानीको लाइन विस्तारको काम ९८ प्रतिशत भएको छ । यस्तै, बसपार्कको बाह्य सडक, मार्वल, फल्स, सिलिङ लगाउने काम पनि अन्तिम चरण पुगेको निर्माण कम्पनीले जनाएको छ ।  

बेसमेन्ट पार्किङ, तीनतले टर्मिनल भवनसहितको बसपार्कमा एकैपटक ३७ बस र २६ जीप अट्ने क्षमता छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जीप, विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनीयर सरोजकुमार यादवले बताए । यस्तै, भूइँतलामा करिब तीन सय यात्रु बस्नमिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्टसमेत रहने छन् । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ सटर रहेका छन् । 

नगर उपप्रमुख बेघाले धरानमा व्यवस्थित बसपार्क नहुँदा सवारी चालक र यात्रुले निकै समस्या भोग्नुपरेको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक बसपार्क भवन निर्माण गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्