राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।
३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् । २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गर्ने विद्यार्थी सबैभन्दा धेरै छन् ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् ।
दुई हजार ९५० परीक्षार्थीले जीपीए २.० देखि २.४० ल्याएका छन् । ६ परीक्षार्थीले जीपीए १.६ देखि २ सम्म ल्याएका छन् ।
दुई लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
एक/दुई विषयमा नन ग्रेड ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।
कुन प्रदेशको नतिजा कस्तो ?
यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट एसईईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् ।
मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए । जसमा ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशबाट एसईई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।