
आईसीसी टी–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्यान्डबीच बिहीवार राति हुँदैछ । खेल नेपाली समय अनुसार साँझ सवा ८ बजे शुरू हुनेछ ।
वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा हुने खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ । यसको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीवार बिहानै भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानमाथि एकतर्फी जीत निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ ।
सन् २०२२ मा भएको अघिल्लो संस्करणको टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । त्यो भारतका लागि नमिठो हार थियो । भारतलाई आज सोहीको बदला लिने मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । यसर्थ यो सम्भव पनि छ ।
अर्कोतिर साविक विजेता इंग्ल्यान्ड भने आज २०२२ कै त्यही नतिजा दोहोर्याउन चाहन्छ । इंग्ल्यान्ड ठूला प्रतियोगितामा सम्हालिएर खेल्ने टोलीमा पर्छ । यसर्थ आज उसले भारतलाई हराउँदै टी–२० विश्वकपको लगातार उपाधि जित्ने लक्ष्य राखेको छ ।
भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ । समूह चरणपछि सुपर ८ मा पनि शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्दैछ । उसले सुपर ८ मा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।
उता इंग्ल्यान्ड दुई आयोजक राष्ट्र वेस्ट इन्डिज र अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । उ दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो ।
नकआउट खेलमा भारतीय टोली फेरि एकपटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको टोलीसँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोली २३ पटक भिडेका छन्, जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इंग्ल्यान्डले ११ खेलमा विजयी भएको छ ।
टी–२० विश्वकपको इतिहासमा इंग्ल्यान्डले भारतसँग चारपटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।
यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्ब दिन रहेपनि दोस्रो सेमिफाइनलमा आईसीसीले रिजर्ब दिन राखेको छैन ।
वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्ने नियम छ । भारतले सुपर ८ चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इंग्ल्यान्डभन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।