
इटहरी, १६ मंसिर–इटहरी बजारबाट एक किलोमिटर पूर्व हिँडेपछि बुढी खोला छेउमा एक बस्ती देखिन्छ । कतै टीन कतै धेरैजसो त्रिपालले छाएका छाप्रा । छाप्रा हेर्दा लाग्छ यहाँ सधैं दुःख र पीडाको मात्र बास हुन्छ ।
२०६४ सालमा माओवादीको झण्डा गाढेर बसेको सुकुम्बासी बस्ती त्यसयता प्राय सबै दलको चुनाव जित्ने आधार बनेको छ । माओवादी झण्डाको बलमा बसेको त्यो बस्तीमा अहिले कम्युनिस्टको नाम पनि लिइन्न ।
संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका झण्डा हरेक घरको छतमा अनिवार्य जस्तै गरि टांगिएको देख्न सकिन्छ ।
बिहीवार (मंसिर १४ गते) लोकान्तरकर्मी पुग्दा सुकुम्बासी बस्तीका केही युवा संघीय समाजवादी फोरमका झण्डा लगाउँदै थिए । उनीहरु त्यहीँ बस्ने युवा रहेछन् ।
‘भोलि (शुक्रवार) कार्यक्रम छ । झण्डा लगाइदिनु भनेका छन् । गर्नपर्यो नि !’ बस्तीमा झण्डा लगाउनुपरेको अवस्थाबारे एक युवा लोकान्तरसँग बोले । उनको नाम आकाश घिमिरे रहेछ । उमेरले २१ वर्ष पुग्दा पनि उनले नागरिकता समेत बनाएका छैनन्, भोट हाल्न पाउनु त परको कुरा ।

आकाशजस्तै करिव २०–२५ युवा भेटिए सुकम्बासी बस्तीमा । उनीहरु सबैको सपना चाहना छ, ‘रोजगारी भए हुन्थ्यो । घर त बनाइन्थ्यो बिस्तारै ।’
सुनसरीको क्षेत्र नम्बर २ मा पर्ने यो बस्तीमा बिहीवार नेपाली कांग्रेसले चुनावी सभा गरेको थियो । सभामा कांग्रेसबाट प्रदेशसभा (क) का उम्मेदवार हेम कर्ण पौडेलले ठूला आश्वासन बाँडेका रहेछन् ।
‘चिटिक्क परेको घर, घर अगाडि सबै सुविधा पुर्याइदिन्छु भनेका छन,’ बस्तीमा भेटिएका प्रभु साहले भने ।
गत साउनमा आएको बाढीले यो बस्ती प्राय सबै घरमा क्षति पुगेको छ । बाढीले बगाउँदा यो बस्तीमा ४ जनाको मृत्यु भएको थियो ।

छेउको बुढी खोलाका कारण यो बस्ती जोखिममा छ । नदीको कटान नरोकिए अवको केही वर्षमै यहाँ पुरै जमिन बगर बन्ने संभावना छ । स्थानीय तह निर्वाचनकै बेला नेताहरुले खोलामा पक्की तटबन्ध बाँध्ने भनेर भोट मागेका थिए । स्थानीय तह निर्वाचनका बेला यहाँका स्थानीयले एमालेलाई मतदान गरेका थिए । इटहरीको मेयर र उपमेयरमा एमालेले बाजी मारेको थियो ।
तर अहिले भने यहाँका बासिन्दा एमालेप्रति रुस्ट बनेका छन् । ‘खोलामा तटवन्ध बनाइदिनु पर्यो भनेर आवाज उठाउँदा मेयरले तपाईंका भोट फिर्ता लैजानु भनेर भने,’ स्थानीय खड्ग रानामगरले भने, ‘भोट माग्ने बेला खुट्टा ढोक्न आउँथे । जितेर गएपछि वास्ता पनि गर्दैनन् । उल्टै धम्काउँछन् ।’
१८३ घरधुरी रहेको यो बस्तीमा करिव ४ सयको हाराहारीमा मतदाता छन् । जसलाई आफ्नो पक्षमा पार्न दलहरुबीच प्रतिस्पर्धा नै चलेको छ । स्थानीयहरु एमालेका नेताप्रति असन्तुष्ट भएपछि यहाँ अहिले कांग्रेस र संघीय फोरमबीच बर्चश्व कायम गर्ने होड चलेको छ ।