काठमाडौं, २२ चैत– अहिलेका युवापुस्ता आफ्नो अमूल्य युवावस्थालाई रमाइलोमा बिताउन चाहन्छन् । अर्काथरी युवा युवाबेलाको त्यो अमूल्य समयलाई जतिसक्दो प्रयोग गर्न चाहन्छन् । ताकि, भोलि आफ्नो सपना साकार पार्न सकियोस् । पछुताउन नपरोस् ।
आफ्नो युवावस्थाको जोशलाई सकारात्मक रुपमा लिने कतिपय युवा सफल पनि हुन्छन् । सपनाको जिन्दगीलाई साकार पार्न सफल हुन्छन् ।
सन्तोष देवकोटा पनि तिनै सपनाको भारी बोकेर आफूलाई स्थापित गर्न सफल एक युवा हुन् । उनी आफूलाई कला र प्रविधिसँग सधै नजिक राख्न चाहन्थे । अहिले उनी मोबाइल एप्लिकेसन ‘हाम्रो पात्रो’ का नेपाल प्रमुख पनि हुन् । देशभरका रेडियोकर्मीले उनलाई रेडियो कभरेज म्यापिङका लागि आग्रह गर्ने गर्दछन् ।
पर्साको वीरगञ्जमा जन्मे हुर्केका देवकोटाले आफ्नो युवापुस्तामा पाएका मौकालाई कमै मात्र खेर जान दिए । अवसरका दृष्टिले काठमाडौंको तृुलनामा वीरगञ्ज धेरै टाढा थियो । उनको रुचि चित्रकलामा थियो । तर चित्रकला मात्र उनको रुचिको विषय थिएन । ‘युवा बेलामा मलाई जे पनि गर्न सकिन्छ भन्ने लाग्यो, पहुँच र स्रोतले भ्याएसम्म प्राय सबै खालका तालीम लिन म उत्सुक हुन्थें ।’ उनी मुस्कुराउँदै भन्छन्, ‘यदि बजारमा निस्किनु छ भने आफू तयार भएर निस्किने हो । तर आफूलाई चित्त बुझ्दैन भने त्यसको विकल्प पनि आफूले तयार गर्नुपर्छ ।’
उनको विशेष रुचि मल्टिमिडियामा थियो । एसएलसीपछिको आफ्नो औपचारिक पढाइ पूरा गर्दै उनले पत्रिकाको डिजाइन गर्न थाले । कला र साहित्यलाई पनि सँगसँगै लैजाने निर्णय गरे । ‘वीरगञ्जमा हुँदा मैले आफ्नो व्यक्तित्व विकासका लागि तालीम समेत लिने मौका पाएँ ।’ उनी स्मरण गर्छन्, ‘कलेजले दिने तालीमले मलाई पढाइ मात्र तेरो सबैथोक होइन है भन्ने सिकायो ।’
सन्तोषले चित्र पनि राम्रो बनाउँथे । तर, वीरगञ्जमा बसेर चित्रकला गर्न त्यो समयमा गाह्रो थियो । रंग किन्नका लागि कि त गोरखपुर पुग्नुपथ्र्यो, कि त काठमाडौं । ‘हामीले पेन्टिङ गर्दा क्यानभास पाउन समेत मुस्किल थियो । फेबिकलले प्लाइमा धोती टाँसेर बनाइएको क्यानभासमा फ्रेब्रिक कलरले चित्र बनाउनुपर्ने स्थिति थियो ।’, उनी हाँस्छन् ।
उतिबेलै साहित्यकार ध्रुवचन्द्र गौतमले वीरगञ्जबाटै काठमाडौंमा राम्रो प्रभाव पारेका थिए । अन्य लेखकले पनि वीरगञ्जको उचाईलाई अझ उँचो पारेका थिए । सन्तोषले भने गौतमका भाइको प्रेसमा पेपर डिजाइन गर्ने मौका पाएका थिए । ‘त्यो बेलामा वीरगञ्जबाट साहित्यिक पत्रिका त्यति प्रकाशन नभएपनि अन्य पत्रिकाले साहित्यलाई स्थान दिएका हुन्थे ।’ उनी भन्छन्, ‘त्यतिबेला हामीले कथा तथा कविता लेखेर स्थानीय पत्रिकामा प्रकाशन गर्ने गथ्र्यौं ।’
युवापुस्तालाई लक्षित गरी ‘नशा विषालु पदार्थ हो’ र ‘युवा’ नाटक पनि लेखे सन्तोषले । केही भोजपुरी गीतमा स्वर पनि दिए । उनी हाँस्दै सुनाउँछन्, ‘गर्न त के पो बाँकी रह्यो र सबै समेटेर लैजान पो सकिएन ।’
त्यसताका साहित्यकार लैनसिंह वाङदेलको चित्रकलाको पेरिसमा समेत चर्चा चलेको थियो । ‘सम्भवतः त्यो वीरगञ्जमा भएको पहिलो चित्रकला प्रदर्शनी हुनुपर्छ । हामीले वीरगञ्जमा वाङदेललाई बोलायौं ।’ सन्तोष आफ्नो स्मरण सुनाउँछन्, ‘उहाँले हाम्रो चित्रकला देखेर धेरै राम्रो भन्दिनुभयो ।’
त्यतिबेला वीरगञ्जमा चित्रकला गाह्रो विषय पनि त थियो नि । – उनी सम्झन्छन् ।
०५८ सालमा वीरगञ्जमा रेडियो खुलेपछि भने उनी पत्रिकाबाट रेडियोतिर सिफ्ट भए । त्यतिबेला देवकोटा आफूले रेडियोमा दोस्रो नम्बरमा नाम निकालेको बताउँछन् ।
रेडियो वीरगञ्जमा काग गर्न थालेपछि भने उनलाई अझ सहज भयो । प्रविधिमा पनि उनलाई रुचि थियो । रेडियोको यात्रा लामो समयसम्म चलिरह्यो । त्यसपछि उनी काठमाडौं हानिए ।
काठमाडौं आएपछि भने उनलाई गाह्रो भएको बताउँछन् सन्तोष । उही धारमा बगिरहेका रेडियोमा उनी काम गर्न चाहन्नथे । अरु कामका लागि उनले मौका समेत पाएका थिएनन् । ‘वीरगञ्जमा रेडियोकर्मी थिएँ । मलाई अब केही नयाँ गरुँ भन्ने थियो, तर मौका मिलिरहेको थिएन ।’ उनी थप्छन्, ‘संयोगवश मैले इक्वेल एक्सेस नेपालमा काम गर्ने मौका पाएँ ।’
इक्वेल एक्सेस नेपालमा उनले मल्टिमिडिया र आइसिटीको जिम्मा लिने मौका पाए । वीरगञ्जमा हुँदा सिकेका बहुसीपले यतिबेला भने उनलाई साथ दियो । ‘सन् २०१० तिर नेपालमा भएका १५० जति रेडियो वरिपरि रहेर मैले काम गर्ने मौका पाएँ ।’ नेपाली रेडियोलाई डिजिटलाइज्ड गर्ने प्रविधिमा आफू समेत सरिक हुँदा आफ्ना गुरू तथा सहकर्मी पवन प्रकाश उप्रेतीको सहयोग स्मरण गर्दै भन्छन्, ‘नेपालमा रेडियोलाई डिजिटल बनाउन पवन प्रकाश उप्रेतीको ठूलो भूमिका छ ।’
अहिले भने उनी आफ्नै ‘स्मार्ट आइडियाज्’ को व्यवस्थापनमा छन् । स्मार्ट आइडियाज् सँगसँगै हाम्रो पात्रोको पूरै काम यही संस्थामार्फत गरेको छ टिमले । ‘हामीले अहिले स्मार्ट आइडियाजको माध्यमबाट हाम्रो पात्रोमा काम गरेका छौं । हाम्रो उद्देश्य नै हाम्रो पात्रोसँगै जोडिएका अन्य एप्सलाई अझ सहज बनाउने योजनामा छौं ।’ उनी थप्छन्, ‘बिस्तारै हामीले ग्लोबल्ली अरु केही एप्स पनि प्रस्तुत गर्ने योजनामा छौं ।’
अहिले उनको यो टिम भाइबरको आधिकारिक पार्टनर पनि हो । साथै उनको टिमले छिट्टै नै पोस्कार्ड रिलिज गर्ने तयारीमा छ । पोस्कार्डमार्फत सबैले आफ्नो अडियोलाई निःशुल्क अपडेट गर्न सक्ने पनि देवकोटा बताउँछन् । ‘यो एप्लिकेशनको डेमो पनि तयार भइसकेको छ । यही वर्षभित्र हामी रिलिज गर्ने तयारीमा छौं ।’ उनी भन्छन्, ‘नेपाली प्रयोगकर्ता नभएर हामीले विश्वव्यापी प्रयोगकर्तालाई नेपाली उत्पादनसँग जोड्ने प्रयासमा छौं ।’
‘प्रयोगकर्ताले हामीले वाचन गरेका कार्यक्रम कथाकार, आधुनिक गीता, खोजी रेडियोलाई पनि रुचाइदिनुभएको छ । यसले पनि हामीलाई काम गर्न अझ सहज भएको छ ।’, सन्तोष खुशी व्यक्त गर्छन् ।
हाम्रो पात्रो सफल हुनुको कारण परिकल्पनाकार शंकर उप्रेतीलाई दिन्छन् देवकोटा । ‘उहाँले आफ्नो सहजताका लागि बनाएको एप्स सबैले रुचाइदिनुभयो । उहाँ वान म्यान आर्मी हो ।’ उनी मुसुक्क मुस्कुराउँदै अगाडि थप्छन्, ‘प्रयोगकर्ता र हाम्रो टिम म्यानेजमेन्टका साथी, डेभलपर पनि धन्यवादका पात्र हुनुहुन्छ ।’
व्यवसायिक जिन्दगीमा हाम्रो पात्रोसँग बढी नजिक भएपनि जिन्दगीको महत्वपूर्ण उपलब्धी भनेको देशका ३ सय भन्दा बढी एफएमसँग सहकार्य गर्दा बनाएको आफ्नो परिचय नै हो कि भन्ने लाग्छ उनलाई । ‘अहिले पनि धेरै रेडियोका साथीले कुनै प्राविधिक समस्या प¥यो भने मलाई सम्झनुहुन्छ, बाटोमा भएको बेला पनि म उहाँहरुलाई सहयोग गर्न तत्पर हुन्छु ।’
Advertisment
Advertisment