फेब्रुअरीदेखि अहिलेसम्म भारतको एम्स अस्पतालमा २ सय ६ स्वास्थ्यकर्मीमा कोभिड–१९

भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युड (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ ।

शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।


Advertisement

सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे सोधिएको प्रश्नमा अस्पतालका सुपरिन्टेन्डेन्ट तथा चिकित्सक डिके शर्माले भने, ‘हामीले हाम्रा स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि आवश्यक सबै पूर्व सावधानी र सुरक्षाका उपाय अपनाएका छौँ । हाम्रा कर्मचारी सङ्क्रमित भएको पुष्टि हुँदासाथ उनीहरूलाई अलग राखी उपचार सुरू गर्ने र उनीहरूको सम्पर्कमा आएका विरामी तथा कर्मचारीहरूलाई खोजी गर्ने र आबश्यक अन्य सावधानीहरू अपनाउने गरेका छौँ ।’

उनले थपे – ‘कुनै पनि स्वास्थ्यकर्मी वा कर्मचारी एम्समा काम गर्ने शिलशिलामा सङ्क्रमित भएको पाइएको छैन ।‘ एम्सले सङ्कलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमित कर्मचारीमा चिकित्सक तथा गैर–चिकित्सक दुबै रहेका भेटिएको छ ।


Advertisement

यसरी सङ्क्रमित भएकामध्ये १० आवासीय चिकित्सक, २६ नर्स र ६९ जना सुरक्षा गार्ड साथै ३४ जना सरसफाइसम्बन्धी काम गर्ने कर्मचारी रहेका अस्पताले बताएको छ । सङ्क्रमित भएकाहरूमध्ये धेरैले उपचारपछि निको भएर क्वारेनिटनपछि अस्पतालमा पुनः काम थालेका छन् ।

अस्पतालले आफ्ना कर्मचारीलाई सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा सामग्री उपलब्ध गराएको दावी शर्माले गर्नुभयो । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ७०८ जनाको मृत्यु भएको छ ।

भारतमा विगत २४ घण्टामा सात हजार ४६६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने १७५ जनाले ज्यान गुमाएका छन् । भारतमा सङ्क्रमितको सङ्ख्या चीनमाभन्दा बढी भारतमा ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा पहिले कोभिड–१९ सङ्क्रमण पत्ता लागेको यो वर्षको जाडो याममा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक चीनमा भन्दा बढी पुगेको छ ।

यहाँ निको भई घर फर्किनेको सङ्ख्या ७२ हजार ५४३ रहेको छ भने अहिले सङ्क्रमित रहेको सङ्ख्या ९१ हजार ६४८ रहेको छ ।

चीनमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या ८२ हजार ९९५ छ भने मृत्यु हुनेको सङ्ख्या चार हजार ६३४ रहेको छ । चीनमा निको भएर घर फर्किनेको सङ्ख्या ७८ हजार २९१ रहेको छ । चीनमा अहिले कूल ७० व्यक्तिमा सङ्क्रमणका कारण उपचार सेवा लिइरहेको चिनियाँ समाचारमाध्यमहरूले जनाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्