मिर्गौला चोर [कथा]

  • लक्ष्मण अधिकारी 

अल्ट्रासाउण्ड गर्दागर्दै डाक्टरले ‘तपार्ईंंको मिर्गौला एउटा मात्र छ त !’ भनेपछि गौरिकाको मन खङ्रङ्ग भयो । हतारमै सोधिन्, ‘दुइवटै हुनुपर्ने डा. साब, कसरी गायब भयो ? राम्ररी हेरिदिनु न ।’ 


Advertisement

मैले हेरिसकें, देब्रे साइडको मिर्गौला छैन, तपार्ईंले कसैलाई नदिएको भए, जन्मजात एउटै पनि हुनसक्छ,’ डाक्टरले कुरा टुंग्याए । 

गौरिका उठेर कपडा मिलाउन नसक्दै बेडमा अर्को बिरामी सुतिसकेको थियो, उनले थप केही सोध्नै पाइनन् । बाहिर जान पनि गाह्रो भो, खुट्टा लरबराए । थचक्क बसौं जस्तो भयो, मेच थिएन । अलमल–अलमल गर्दै थिइन्, सहयोगीले ढोका उघारिदिए, निस्किनैपर्‍यो । 


Advertisement

बाहिर छोरो अंगुर पर्खिरहेको थियो, केही बोल्नै सकिनन्, उनले रोउँला–रोउँला जस्तो गरिन् । ओठ थरथराए । छोराले जुरुक्क उठेर अँगालो मार्दै भन्यो, ‘के भो ममी ? ।’ 

जवाफ नदिँदै गौरिकाका आँसु गालामाथि टपक्क झरे । स्वर खुलिरहेको थिएन । उनी अंगुरको सहारा लिएर बाहिर आउँदै भनिन्, ‘ड्याडीलाई फोन लगा न, मेरो त एउटा मिर्गौला नै छैन रे बाबु ! बितिगो नि !’

कुरा सुनेर छोरा पनि आँत्तियो, एउटा मिर्गौला बिग्रिसकेकाले पो ममीको पेट दुखिरहेको रहेछ भन्ने पर्‍यो । ऊ ममीलाई असाध्यै माया गथ्र्यो, केही भयो भन्नासाथ आत्तिन्थ्यो ।  

बुवा जागिरे भए पनि सधैं पैसाको अभाव देखाउँथे । घर खर्च, उसको पढाइ खर्च सबै आमाको सानो जागिरकै भरमा चलेको उसले बुझेको थियो । त्यसैले पनि आमाप्रति ऊ बढी सजग थियो, हृदयदेखि नै माया गथ्र्यो । 

अंगुरले हतार–हतार उसको बुवालाई फोन लगाएर दियो । 

गौरिकाले हरेस खाँदै पति गोकुललाई फोनमा भनिन्, ‘लौ बूढा, म त सकिएँ, मिर्गौलै छैन रे, के गर्ने हो ?’

‘ल के भयो त ? पहिला घर जाऊ, आत्तिनु पर्दैन । भरे डाक्टर मिश्रालाई भेट, म पनि कुरा गरौंला,’ गोकुलले फोन राखे । आत्तिनु पर्दैन भने पनि गौरिकालाई पतिको बोली पनि हडबडाए जस्तो लाग्यो । उनमा अझै डर थपियो । 

गोकुल जागिरको सिलसिलामा विराटनगरमा थिए, गौरिका र उनको छोरा काठमाडौं घरमै बस्थे । साँझतिर आमाछोरा पेट रोग विशेषज्ञ डा. मिश्रालाई रिपोर्ट देखाउन पाटन गए । 

उनले भने, ‘तपार्ईंँको अरु रिपोर्ट राम्रै छ, ग्यासट्राइटिसले पेट दुखेको जस्तो छ, औषधि लेखिदिन्छु, ठीक भैहाल्छ ...।’  

‘अनि मिर्गौला के भा’को डा साव ? एउटा मात्र छ रे ?’ अंगुरले बीचैमा सोध्यो ।

‘अँ, मिर्गौला एउटा मात्र देखिएको छ । देव्रेतिरको मिर्गौला नभएकाले जन्मँदै एउटा मात्र भएको पनि हुनसक्छ, आत्तिनु पर्दैन । एउटैले पनि राम्रै काम गर्छ ।’ 

‘कुनै रोग लागेर मिर्गौला सुकेको हो कि ? अर्कोलाई के गरी जोगाउने त ?’ गौरिकाले सोधिन् । 

‘केही गर्नुपर्ने त देख्दिनँ, नून कम खानुस्, तौल बढ्न नदिनुस्, मद्यपान, धुम्रपान नगर्नुस् । त्यस्तो केही समस्या भयो भने आउनुस् न सल्लाह गरौंला,’ उनले बिदा गरे । 

तर उनीहरूको चित्त बुझेन । मिर्गौला कसरी एउटा मात्र हुन गयो भन्ने खुल्दुली भइरह्यो । ‘पेट दुख्नुमा मिर्गौला नै कारण त होइन ?’ भन्ने परिरह्यो । 
    
घर आएपछि उनले गोकुललाई फोन गरेर डा. मिश्राले भनेको कुरा सुनाइन् । गोकुलले सम्झाए, ‘अँ मैले पनि सोधेको थिएँ, कसैकसैको एउटा मात्र पनि हुन्छ रे, चिन्ता नगर ।’ 

केही दिनपछि गौरिकाको पेट फुल्ने, दुख्ने समस्या त कम भयो तर शरीरमा एउटा मात्र मिर्गौला भएको चिन्ताले आमाछोरालाई सताउन छोडेन ।  

एकदिन अंगुर आफू अस्पताल गएको बेला ‘जन्मिँदै एउटा मात्र मिर्गौला पनि हुन्छ र ?’ भनेर कुनै डाक्टरलाई सोधेछ । उनले ‘यो धेरै रेयर हो, त्यो पनि प्रायः पुरुषमा यस्तो हुने गर्छ’ भनेपछि अंगुरलाई झन् चासो बढ्यो । उसले आमाको उपचारका सबै पुराना कागजात खोजेर हेर्न थाल्यो ।

२ वर्षअघि गौरिका माइती धरान गएका बेला निकै पेट दुखेपछि त्यहीँको अस्पताल गएकी थिइन् । त्यहाँ उनको अल्ट्रासाउण्ड गरिएको थियो । अल्ट्रासाउण्डको रिपोर्टमा पेटमा ग्यास भएको, कलेजोमा बोसो बढी भएको उल्लेख थियो । दायाँ र बायाँ दुवै मिर्गौलाको लम्बाइ, मोटाइ पनि लेखिएको थियो । साथै मिर्गौला नर्मल अवस्थामा रहेको रिपोर्ट गरिएको थियो । यो रिपोर्ट हेरेपछि अंगुर आश्चर्यमा पर्‍यो । उसले यो कुरा आमालाई नभने पनि २ वर्षअघिसम्म गौरिकाको शरीरमा २ वटै स्वस्थ मिर्गौला थिए भन्ने भयो । आमाको शरीरबाट एउटा मिर्गौला कहिलेदेखि हराएछ भन्ने चासो बढ्दै गयो ।  

त्यसबेला गौरिका धरानमा पेट दुखेको उपचार गराएपछि काठमाडौं घर आइन् । ६ महिनासम्म ठीकै भयो । त्यसपछि फेरि पेट दुख्न थालेपछि उनलाई पति अंगुरले ‘विराटनगर आऊ, एकपटक सबै चेक गरिदिन्छु’ भने । प्लेनको टिकट पनि पठाएपछि उनी विराटनगर गएकी थिइन् । 

विराटनगरको एउटा निजी अस्पतालमा उनको अल्ट्रासाउण्ड, रगत लगायतका परीक्षण गरिएको थियो । परीक्षणको २ दिनपछि डाक्टरले गौरिकालाई ‘एपेन्डिसाइटिसको अप्रेसन गर्नुपर्छ’ भने । एकाएक अपरेसनको कुरा सुनेर गौरिका डराएकी थिइन् । तर पति गोकुलले ‘पछि फेरि दुःख दिइरहन्छ, सबै जाँचेका बेला अप्रेसन गरौं न त’ भने । 

गौरिकाका माइतीले ‘धरानमै अप्रेसन गरौं’ भनेका थिए तर गोकुलले ‘विराटनगरमा गर्दा नै मलाई सजिलो हुन्छ’ भनेर निर्णय सुनाए । 

सुझाव अनुसार गौरिका एपेन्डिसाइटिसको अपरेसनका लागि भर्ना भइन् । तर के–के समस्या भयो भनेर भर्ना भएको ४–५ दिनपछि मात्र अप्रेसन भयो । अप्रेसन निकै लामो भएको थियो ।

यो अप्रेसन भएको केही महिनापछि फेरि पेट फुल्ने, दुख्ने भएपछि उनी काठमाडौंमा डा. मिश्रा कहाँ जचाउन गएकी थिइन् । त्यसक्रममा उनको एउटा मिर्गौला गायब भएको थाहा पाएपछि छोरो अंगुरले चासो दिएर उपचारका प्रेस्कृप्सनहरू हेर्दै थियो । उसले विराटनगरमा अप्रेसन गरेका सबै कागजात भेट्टायो तर त्यहाँ अल्ट्रासाउण्ड गरेको रिपोर्ट पाएन ।  

गौरिकाको एउटा मात्र मिर्गौला भएको कुराले उनीहरूमा तनाव बढाउँदै लग्यो । त्यसैक्रममा आमाछोरा धरान गए । त्यहाँ गएर पहिले गौरिकाको पेट जाँचेका डाक्टरलाई भेटे । सबै रिपोर्टहरू देखाउँदा उनले त्यसबेलासम्म गौरिकाको शरीरमा २ वटै मिर्गौला भएको जिकिर गरे । उनले ‘त्यसपछि कतै अप्रेसन गराउनु भएको थियो कि ?’ भनेर पनि सोधे ।

अब भने गौरिकालाई पनि २ वर्षअघिसम्म २ वटै मिर्गौला रहेछन्, अपरेसनका बेला केही भयो कि भन्ने पर्‍यो ।
 
अंगुरले ‘एउटा मिर्गौला कसरी हरायो होला त ?’ भनेर डाक्टरलाई सोध्यो । उनले ‘म यकिनका साथ यसै हो भन्न त सक्दिनँ, एकपटक अप्रेसन गर्ने डाक्टरलाई भेटेर सोध्नुस् न’  भने । 

यकिनका साथ कसैले जवाफ नदिदा मिर्गौला हराएको कुरा झन् रहस्यमय बन्दै गयो । आमाछोराको ध्यान हराएको मिर्गौलाबाट हट्न सकेन । मिर्गौला हराएको रनाहासँगै उनीहरू विराटनगर पुगे । 

त्यहाँ पुगेपछि गौरिकाका पति गोकुलले सम्झाउन खोजे, ‘यो ठूलो समस्या होइन, चिन्ता नगर ।’ तर आमाछोराको मन मानेन । उनीहरूले एकपटक एपेन्डिक्सको अप्रेसन गर्ने डाक्टरलाई भेटेर सोधौं भनें । 

‘गोकुलले म भेटेर सोधौंला तिमीहरू किन दुःख पाउँछौ ?’ भनेर सम्झाए पनि अंगुर मानेन, ‘म पनि जान्छु’ भनेर कर गर्न थाल्यो । उसले साह्रै जिद्दी गरेपछि गोकुलले उनीहरूलाई लिएर एपेन्डिसाइटिसको अप्रेसन गरेको अस्पताल गए । 

गौरिकाको अप्रेसन गर्ने डाक्टर भगतले अपरेसनको रिपोर्ट हेरेर भने, ‘होइन तपार्ईंंको पहिलेदेखि नै एउटै मिर्गौला थियो, हामीले एपेन्डिक्सको अप्रेसन गरेको हो, यो राम्रो छ, केही गर्नु पर्दैन ।’ 

‘धरानमा गरेको अल्ट्रासाउण्ड रिपोर्टमा त दुइवटै मिर्गौला छ नि ?’ भनेर अंगुरले प्रश्न गरेपछि डा. भगत झस्के । उनले पन्छाउन खोजे, ‘होइन रिपोर्ट साटियो होला ।’

अंगुरले तर्क गर्‍यो, ‘नाम मिलेको छ कसरी रिपोर्ट साटिन्छ ? यहीँ अप्रेसन गर्दा मिर्गौला गायब भएको जस्तो छ ।’ 

डा. भगत पनि जंगिए, ‘हामीले एपेन्डिसाइटिसको अप्रेसन गरेको हो, तपार्ईंंको मिर्गौला छोएको पनि छैन, त्यतिकै अस्पताललाई बद्नाम नगर्नुस् ।’

छोरालाई हप्काएपछि गोकुल पनि ठूलो स्वर निकालेर कराउन थाले, ‘मिर्गौला एउटा मात्र भएको कुरा तपार्ईंंहरूले पहिले नै भनिदिनु पथ्र्यो, यो तपार्ईंंहरूको गल्ती हो । यस्तो गर्नुभयो भने तपार्ईंंहरूको अस्पताल रहँदैन ।’

उनीहरूबीच एकछिन भनाभन भयो । डा. भगतले गार्ड बोलाएर उनीहरूलाई बाहिर पठाउन लगाए र आपूm पनि कोठाबाट निस्किए ।

गोकुलले अंगुरलाई सम्झाउँदै बाहिर ल्याए । अंगुर गेटबाहिर निस्केर जथाभावी कराउन थाल्यो ।  

यो वादविवाद सुनेपछि गौरिकालाई आफ्नोे मिर्गौला अस्पतालमै झिकिएको रहेछ भन्ने यकिन जस्तै भयो । उनका खुट्टा थरर कामे, अस्पतालतिर हेरेर लामो सास तानिन् । उनको मनमा लागिरहेको थियो, ‘के अब मेरो मिर्गौला झिक्ने डाक्टरलाई पक्रिन सकिन्छ त ? पक्रे पनि त मिर्गौला फिर्ता लिन मिल्दैन, के गर्ने होला ? अब म छिट्टै मर्ने हुँ कि !’

उनका मनमा अनेक तर्कनाहरू खेले, आत्मबल अत्यन्त कमजोर भइरहेको थियो । के गर्ने भन्ने विचारै आएन । उनीहरू मुर्मुरिँदै निवासतिर लागे ।

अंगुरलाई आमाको मिर्गौला अस्पतालमा चोरिएको हो भन्ने भएपछि झन् निन्द्रा परेन । गौरिकाको हालत पनि त्यस्तै थियो । आपूmमाथि अस्पतालले अन्याय गरेकोमा उनलाई भित्रदेखि चित्त दुखिरहेको थियो । डाँको छोडेर रोइदिऊँ जस्तो हुन्थ्यो । घरिघरि उनमा रीस उम्लिएर कसरी बदला लिउँ भन्ने विचार आउँथ्यो ।  

तर गोकुलले यस कुरालाई त्यति महत्त्व दिएनन् । उनी ‘अप्रेसन गर्दा काटियो कि, अल्ट्रासाउण्डको रिपोर्ट नै साटियो’ भनेर तर्कवितर्क गर्थे । ‘जे हुनु भइगयो, अब मिर्गौला फिर्ता लिएर फेरि राख्न मिल्ने होइन’ भनेर चित्त बुझाउन खोज्थे ।  

गोकुल आमाछोरालाई सम्झाएर काठमाडांै पठाउन हतारिँदै थिए । उनले दुवैलाई किनमेलका लागि बजार जाऊँ भने । गौरिका गए पनि अंगुर गएन । 

यसैबीच १ जना युवती घरमा आएर गोकुलको बारेमा सोधखोज गरिन् । गौरिका र अंगुर कहिले काठमाडौं जाने ? भनेर पनि सोधिन् । गोकुलको परिवारबारे सबै थाहा पाएकी ती युवतीले आफ्नोे परिचय नदिई हिँडिन् । यसले अंगुरको मनमा विभिन्न आशंका उब्जायो ।

अंगुरलाई मम्मीको मिर्गौला एपेन्डिक्सको अप्रेसन गर्ने बहानामा निकालिएको आशंका गहिरिँदै थियो । आफ्नी सोझी मम्मीलाई झुक्याएर मिर्गौला झिकेकोमा उसलाई औडाहा भइरहेको थियो । त्यो बदमास डाक्टरलाई जसरी पनि कारबाही गर्नुपर्छ भन्ने लागेर ऊ छटपटिइरहेको थियो । 

कोठामा यताउता हेर्न क्रममा उसले बुवाको दराजमुनि धुलोले पुरिएको अवस्थामा विराटनगर अस्पतालको एउटा खाम देख्यो । खोलेर हेर्दा त्यही अस्पतालामा गौरिकाले अल्ट्रासाउण्ड गरेको रिपोर्ट रहेछ । त्यो रिपोर्टमा पनि धरानको रिपोर्ट जस्तै गौरिकाको २ वटा मिर्गौलाको नर्मल अवस्था उल्लेख थियो । अंगुर अचम्ममा पर्‍यो । बुवाले अप्रेसन गर्दाका सबै कागजात पठाए पनि अल्ट्रासाउण्डको रिपोर्ट किन यसरी टेबुलमुनि प्mयाँक्नुभयो होला ? भन्ने लाग्यो । उसले त्यो रिपोर्ट आफ्नोे झोलामा हाल्यो ।  

ऊ कसैलाई केही नभनी सबै रिपोर्ट बोकेर गौरिकाको अप्रेसन भएको अस्पताल गयो । त्यहाँ उसले अस्पताल निर्देशकलाई भेटेर सबै रिपोर्ट देखाउँदै आफ्नो गुनासा सुनायो । ती रिपोर्टहरू हेरेर अस्पतालका निर्देशक पनि आश्चर्यमा परे । ‘तपार्ईंंको कम्प्लेन गम्भीर छ, यस्तो हुनु नपर्ने हो, तैपनि म सोधपुछ गरिराख्छु, पर्सि आउनुस्’, उनले अंगुरलाई बिदा गरे ।  

निर्देशकले गौरिकाका सबै प्रेसकृप्सनहरू दोहोर्‍याएर अध्ययन गरे, आशंका बढ्दै गयो । उनले गौरिका अस्पताल भर्ना भएका अवधिका सबै सीसीटीभी फुटेजहरू पनि मगाएर हेरे ।

अपरेसनको दिन इन्डियन नम्बर प्लेटको एउटा एम्बुलेन्स अस्पतालमा आएको देखे । तर त्यो दिन त्यस एम्बुलेन्सले कुनै बिरामी ल्याएको, लगेको रेकर्डमा पाइएन । बरु एम्बुलेन्सबाट एउटा आइसबक्स लिएर २ जना मानिस बाहिर आएको र १ घण्टापछि त्यही बक्स बोकेर एम्बुलेन्समा चढेको देखियो । उनीहरूसँगै डा. भगत पनि एम्बुलेन्ससम्म आएर बिदा गरेको देखियो । अब निर्देशकको आशंकाले उचाइ लियो ।

निर्देशकले डा. भगतलाई बोलाएर सोधपुछ गरे । डा. भगतले ‘गौरिकाको पहिलेदेखि नै एउटा मिर्गौला नभएको’ जिकिर गरे । उनले ‘यो धेरै पुरानो केस हो’ भनेर टार्न खोजे । तर निर्देशकले आफ्नै अस्पतालमा गरिएको अल्ट्रासाउण्ड रिपोर्ट देखाए । त्यो रिपोर्ट हेरेपछि डा. भगत बोल्न सकेनन् ।

निर्देशकले पहिले पनि त्यस अस्पतालमा एपेन्डिसाइटिसको अपरेसनको नाममा मिर्गौला निकालिन्छ भनेर समाचार प्रकाशित भएको देखेका थिए । आपूm विदेश गएका बेलामा आएको यस्तो समाचार आफ्नोे अस्पताललाई बद्नाम गर्न कुनै अरु अस्पतालले रचेको सुनियोजित चाल होला भनेर सोचेका थिए । त्यसबेला उनले त्यसबारे सोध्दा डा. भगतले ‘विज्ञापन नपाएर पत्रकारहरूले जथाभावी लेखेको’ भनेर जवाफ दिएका थिए । निर्देशकले हुनसक्छ भनेर विश्वास पनि गरे । 

निर्देशक बरोबर काठमाडौं जानुपर्ने भएकाले सिनियर सर्जन डा. भगतलाई विश्वास गर्नुपर्ने बाध्यतामा थिए । तर अहिले उनीविरुद्ध प्रमाणसहित गुनासो आएपछि भने उनी फरक ढंगले सोच्न बाध्य भए । उनलाई यससम्बन्धी पहिले प्रकाशित समाचार पनि सत्य नै थिए कि भन्ने पर्‍यो । 

डा. भगतले आफूलाई ढाँटिरहेको शंका भएपछि निर्देशक पनि कडा रूपमा प्रस्तुत भए । उनले डा. भगतलाई धम्क्याए, ‘सत्य कुरा नभने लाइसेन्स नै क्यान्सिल गराइदिन्छु ।’ 

त्यसपछि डा भगतले सही कुरा खोले र एकपटकलाई माफी दिन आग्रह गरे ।

निर्देशकलाई एक मनमा त डा. भगतलाई माफी मगाएर गौरिकाको केस थामथुम पार्ने विचार आयो । तर डा. भगतले गौरिकालाई जस्तै झुक्याएर अरु कतिको मिर्गौला निकालेका छन् तत्काल यकिन गर्न सक्ने स्थिति थिएन । पछि यसरी नै थाहा पाएर अरु केसहरू पनि आए भने त अस्पताल नै बन्द गर्नुपर्ने स्थिति हुन्छ । त्योभन्दा अघि नै डा. भगतलाई कारबाही गरेर निष्कासन गर्न सके अस्पतालको साख जोगिन्छ भन्ने निष्कर्षमा उनी पुगे ।

त्यसपछि उनले स्थानीय प्रहरी प्रमुखलाई बोलाएर गौरिका सम्बन्धी केसको फाइल हस्तान्तरण गर्दै अनुसन्धान गरेर कारबाही गरिदिन आग्रह गरे । प्रहरीले भोलिपल्टै डा. भगतलाई पक्राउ गर्‍यो । साथै केही नर्सिङ स्टाफहरू पनि पक्राउ परे । डा. भगत पक्राउ परेको केहीछिनमै प्रहरीहरू भ्यान लिएर गोकुल बसेको घरमा आए । उनीहरूले गोकुलको बारेमा सोधे । उनी अफिसबाट आइपुगेकै थिएनन् । 

‘गोकुल आउनासाथ हामीसँग सम्पर्क गर्न लगाउनू’ भनेर उनीहरू हिँडे । जाने बेलामा प्रहरीले गौरिकाको मिर्गौला चोर्ने अपराधी पक्राउ परेको खबर पनि सुनाए । 

आफ्नोे मिर्गौला चोर्ने अपराधीहरू पक्राउ परेकोमा आमाछोरा निकै खुशी भए । उनीहरूलाई कतिखेर गोकुल आउँछन् र खुशीको खबर सुनाउँ भइरहेको थियो । त्यही बेला गोकुलले गौरिकालाई फोन गरे । गौरिकाले खुशीको खबर सुनाउन नपाउँदै गोकुलले आफ्नो कुरा भनेर फोन राखिदिए । 

गोकुलको कुरा सुनेर गौरिका खुइया गर्दै भुइँमा थचक्क बसिन् । गोकुलले उनलाई फोनमा भनेका थिए, ‘डा. भगत र म मिलेर तिम्रो एउटा मिर्गौला १५ लाखमा इण्डियनलाई बेचेका थियौं, हेर न यो कुरा तिमीलाई भनौंला भन्दै थिएँ, हामीलाई आजै प्रहरीले समात्यो । प्लिज एकपटक प्रहरी कार्यालय आएर हामीलाई छुटाउनु पर्‍यो ।’ 

गौरिकाले यो कुरा अंगुरलाई सुनाइन्, ऊ बाबुसँग एकदम मुरमुरियो । तैपनि गौरिका अंगुरलाई लिएर प्रहरी कार्यालय गइन् ।

डा. भगत र गोकुल थुनाभित्र एउटै बोरामाथि टिठलाग्दोसँग बसिरहेका देखिन् । उनलाई देख्नासाथ दुवैजना मुस्कुराउँदै उठे । डा. भगतले ‘नमस्कार मेडम’ भन्दै झुकेर नमस्कार गरे । 

गौरिकाले केही नभनी दुवैलाई सरसर्ती हेरिन् र कागजको सानो पोको गोकुलको हातमा दिएर बाहिर आइन् । अंगुर दाह्रा किट्दै पछिपछि लागिरहेको थियो ।  

गोकुलले कागज फुकाएर हेरे, त्यसमा आपूmले दिएको मंगलसुत्र देखेर छक्क परे । त्यो कागजको एक कुनामा लेखिएको थियो, ‘तिम्रो यो नासो सदाको लागि फिर्ता गरेर म काठमाडांैतिर लागें, अब भेट्ने कोसिस नगर्नू ।’

(लक्ष्मण अधिकारीको कथा संग्रह ‘मर्फिन’बाट साभार)

कमेन्ट गर्नुहोस्