०१ असार २०८३, सोमबार
'कोरोना युद्ध'का योद्धाहरू

‘बरु हामी सुत्दैनौं, बिरामीलाई अक्सिजन पुगोस्’

जेठ ११, २०७८
‘बरु हामी सुत्दैनौं, बिरामीलाई अक्सिजन पुगोस्’

काठमाडौंपछि रूपन्देही कोरोनाभाइरस (कोभिड– १९) बाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । रुपन्देहीमा संक्रमितको संख्या १५ नाघिसकेको छ । 

यहाँको कोभिड अस्पतालमा अहिले जटिल संक्रमितलाई अक्सिजनको सपोर्टमा भुइँमै राखेर उपचार भइरहेको छ । बेडहरू भरिभराउ छन् ।

अक्सिजन अभावले २९ वैशाखमा बुटवल र भैरहवाका दुई कोभिड अस्पतालमा उपचाररत ८ बिरामीको ज्यान गयो ।

जटिल संक्रमित तीव्ररूपमा बढ्दै जाँदा अहिले रूपन्देहीमा अक्सिजनको हाहाकार छ । 

अक्सिजन उत्पादन गर्ने जिल्लाका तीनवटा (प्लान्ट) उद्योग अहिले चाैबीसै घण्टा चलेका छन् । त्यहाँ काम गर्ने कामदार र अपरेटर रातिमा समेत सुत्दैनन् । 

रुपन्देहीको तिलोत्तमा–१४ स्थित लुम्बिनी अक्सिजन प्रालिका ‘मेन अपरेटर’ विश्वेश्वर नाथ कुँवरलाई अहिले न खाना खान फुर्सद छ न त, सुत्न नै ।

लामो समयदेखि उद्योगमा काम गर्दै आएका कुँवरले कामको यस्तो चाप कहिल्यै महशुस गरेका थिएनन् । 

उनी जम्मा ४ घण्टा मात्र आराम गर्छन् । खाना खाएर चिसै हात मशिनमा पुग्छन् । उद्योगबाहिर अस्पतालबाट अक्सिजन लिन आएका गाडीहरू प्रतिक्षामा उनैको प्रतिक्षा गरिरहेका हुन्छन् ।

‘बिरामी बचाउन चिकित्सकको जस्तै मेरो पनि योगदान छ,’ कुँवर भन्छन्, ‘म लगायत हाम्रो उद्योगको टीम चौबीसै घण्टा अक्सिजन उत्पादन गर्ने काम गरेका छौं । आराम पनि गरिएको छैन । हाम्रो मेहनतले संक्रमित बिरामी बचुन् भन्ने चाहना हो ।’

यो चाप उनलाई वैशाख १३ गतेदेखि बढेको हो । उद्योगबाहिर बिरामीका आफन्त पनि लौ न मलाई सिलिन्डर ‘रिफिल’ छिटो गरिदिनु भन्दै पुकार गर्छन् । त्यो सुन्दा उनको मन थामिनसक्नु हुन्छ ।

भन्छन्, ‘नसुती–नसुती यही काममा चौबीसै घण्टा खटेको छु । आत्तिएर हुँदैन । आफन्तलाई अत्यावश्यक औषधिजस्तै अक्सिजन तयार गर्दैछु ।’

उद्योगकै अर्का कामदार हुन्, युवराज खड्का । संक्रमितका परिवार उद्योगमा आएर अक्सिजन माग्दै बिलौना गर्दा उनको मन पनि अमिलो हुन्छ । 

खड्का भन्छन्, ‘बरु खाना र आराम कम हामी गर्छौं । हामीले उत्पादन गरेको अक्सिजनले बिरामीको ज्यान बचोस् । हामी कामदार र उद्योग पूर्ण क्षमतामा चलाउन कुनै कसर बाँकी राखेका छैनौं । उद्योगबाट अहिले २८ घण्टामा ३०० सिलिन्डर भरिन्छन् । अन्य समयमा दैनिक १०० सिलिन्डर भरे मात्र पुग्ने गथ्र्यो, १० घण्टा मात्र चल्थ्यो । 

उद्योगका व्यवस्थापक अर्जुन क्षेत्रीले कामदारलाई उद्योगमै राखेर अक्सिजन उत्पादन गरिएको बताए । एक मिनेट लाइन गयो भने हामीलाई पुरानै अवस्थामा आउन आधा घण्टा समय लाग्छ । त्यसैले ‘टिपिङ’ रोकिनुपर्छ । 

रुपन्देहीकै अर्को लुम्बिनी अक्सिजन ग्यास ‘इन्डस्ट्रिज’ प्रालिमा पनि त्यस्तै चाप छ । उद्योगका सरोज खनालको २० जनाको टीम पनि २४ सै घण्टा अक्सिजन उत्पादन र त्यसको सप्लाइमा खटिएको छ ।

उनी भन्छन्, ‘केही घण्टा मात्र सुतेर जतिसुकै गाह्रो भए पनि काममै खटिएका छौं । हाम्रो ढिलाइ र कमजोरीले एक जना बिरामीको पनि प्राण नजाओस् भन्दै बाहिरै ननिस्केर काम गरिरहेका छौं ।’

लुम्बिनी अक्सिजनले पनि दैनिक २९० ‘सिलिन्डर ग्यास’ उत्पादन गर्छ । एक घण्टामा १२ वटा सिलिन्डर भरिन्छन् । 

रुपन्देहीको अर्को शंकर ग्यासमा पनि कामको चापाचाप छ । शंकर ग्यासको प्रबन्धक अभिनास रेग्मी ३५ जना कामदारले २ मिनेट पनि काम नरोकी अक्सिजन उत्पादन भइरहेको बताए । 

शंकर ग्यासले पनि केही दिनअगाडि भारतबाट लिकुइड अक्सिजन ल्याएर जिल्लामा भएको कोरोनाको चरम संकटलाई कम गरेको थियो । 

बिरामीलाई बचाउने प्रमुख लक्ष्यसहित काम गरिरहेको रेग्मीले बताए । शंकर ग्यासले दैनिक ६०० सिलिन्डर ग्यास भर्दै आएको छ । 

रुपन्देहीका तीनवटा अक्सिजन प्लान्टले दैनिक करीब १ हजार २०० सिलिन्डर ग्यास भर्छन् । १ हजार २०० सय सिलिन्डर ग्यास उत्पादन भए पनि माग चाहिँ दोब्बरभन्दा बढी छ । 

रूपन्देहीमा एक साता अगाडि भएको अक्सिजनको हाहाकारमा विराटनगर र बाराबाट समेत नेपाली सेनाको रोहबरमा हेलिकप्टरबाट अक्सिजन ल्याइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्