०१ असार २०८३, सोमबार
स्वदेशमै उद्यम

कोरियामा मासिक २ लाख तलब खाएपछि गाउँघरमै आएर खेतीपाती

साउन १६, २०७८
कोरियामा मासिक २ लाख तलब खाएपछि गाउँघरमै आएर खेतीपाती

धान फल्ने खेतमा तरकारी रोप्दा धेरैले बाहुन बौलाउन लाग्योसम्म भने तर मोरङको सुन्दरहरैचा नगरपालिका–५ का हरि घिमिरे कसैका कुरा सुनेनन्, बरु आफूलाई लागेको गरेरै छाडे ।

ताप्लेजुङबाट मोरङ झरेका घिमिरेले ४ विगाहा जमिन किनेका थिए । उनको सबै जमिनमा धान राम्रै फल्थ्यो । धान फलाएरै बस्दा घिमिरेको चित्त बुझेन ।

उनी गाउँमै पहिलो पटक तरकारी खेती गर्ने किसान बने । तराईका आदिवासी जनजाति थारु चौधरी समुदायका बीचमा पहाडबाट आएर बसेका घिमिरेलाई धेरैले धान फल्ने खेत मासेको भन्दै पागल समेत भन्न भ्याए ।

‘२०६३ सालमा एग्रिकल्चर स्रिमोसन एन्ड रिसर्च सेन्टरमार्फत अमेरिकाबाट जर्सी प्रजातिको कुरिलो बिउ ल्याएर किसानलाई निःशुल्क बाँड्न खोज्दा ‘धानखेत मासेर जेसुकै रोप्दैनौ’ भनेर कसैले बिउ नै लगेनन्,’ घिमिरे भन्छन्, ‘पश्चिमतिरका केहीले लगे पनि पूर्वका थोरैले मात्रै लगे ।’

कूल २० बिगाहा जमिनमा पुग्ने गरी बिउ ल्याएको भए पनि ४–५ बर्षपछि मात्रै सकिएको उनले सम्झिए । प्रत्येक दिन २ हजार किलो उत्पादन गरी विदेश निर्यात गर्ने गरी एग्रिकल्चर स्रिमोसन एन्ड रिसर्च सेन्टरले बिउ दिएको थियो ।

उनकी पत्नी चित्रमाया घिमिरेले थारु समुदायका महिलालाई व्यावसायिक खेती गर्नका लागि कोपिला कृषक समूह गठन गरेकी थिइन्, त्यही समूहबाट विभिन्न प्रजातिका तरकारी तथा फलफूलका बिरुवा उत्पादन गरेर वितरण समेत गर्ने गरेकी थिइन् । खोलामा गएर माछा ल्याएर जीविकोपार्जन गर्ने परिवारका महिलामार्फत उनले विभिन्न तालिम तथा बिउबिजनको व्यवस्थापन गर्ने गरेकी थिइन् । उनको लामो प्रयासपछि महिलाहरू बिस्तारै–बिस्तारै तरकारी खेतीतर्फ आकर्षित भएका थिए । गाउँका महिलालाई व्यावसायिक बनाउने चित्ररेखाको अल्पायूमै निधन भयो ।

आम्दानि गर्ने महिलालाई बचत सिकाउनका लागि उनकै नेतृत्वमा शिव पार्वती बचत तथा ऋण सहकारी संस्था खोलिएको थियो । चित्ररेखाकै कारण स्थानीय महिलाको जीवनस्तरमा परिवर्तन आएको महिलाहरू बताउँछन् । 

घिमिरेका २ छोराले पनि बुवाआमाले गरेको खेतीलाई नै प्राथमिकता दिएका छन् । कान्छा छोरा सुशील कोरीयामा गएर आएपछि बुवाआमाको पेशालाई अगालिरहेका छन् । झण्डै ५ वर्ष कोरियामा प्लास्टिक कम्पनीमा काम गरेका सुशीलले आफ्नो माटोमै पसिना बगाइरहेको बताए । उनले कोरियन प्रविधिको खेतीमार्फत कृषिमा समृद्धि खोजिरहेका छन् ।

कोरियाले नेपालबाट कृषि र औद्योगिक उत्पादनमा कामदार लाने गरेको थियो । अहिले औद्योगिक उत्पादनमा मात्रै लैजाने गरेको छ । कृषिमा काम गर्ने रहर भए पनि नपाएपछि औद्योगिक उत्पादनमा मासिक २ लाख रुपैयाँसम्म कमाएको सुशीलले बताए ।

सुशील भन्छन्, ‘समय निकालेर त्यहाँको खेतीबारे चासो दिएर बुझ्ने गरेको थिएँ । आमाबुवाले चलाउँदा प्रविधिको कमी र बजारको समेत समस्या रहेको थियो, अहिले सबै समस्या हट्दै गएको छ ।’

वैदेशिक रोजगारीले आर्थिक रूपमा सबल बनाए पनि देशमा नै केही गर्नुपर्छ भन्ने मनमा रहेको चाहना पूरा गर्न व्यावसायिक रूपमा खेती गरिरहेको सुशील बताउँछन् । 

घिमिरेले २ विगाह खेतमा काउली, गोलभेडा, बन्दा, कुरिलो लगाएका छन् । उनले २ बिगाह क्षेत्रफलमा माछापोखरी बनाएका छन् भने १ बिगाह क्षेत्रफलमा बाख्रापालन गरिरहेका छन् । मौसमीभन्दा बेमौसमी खेती गर्ने गरेको उनले बताए ।

माछाबाट वार्षिक १० लाख, कुरिलोबाट ८ लाख, टनेल खेतीबाट २० लाख रुपैयाँ आम्दानी गर्ने गरेको सुशीलले बताए ।

उनले टनेल खेती यसै वर्षदेखि शुरू गरेका हुन्, ‘ग्रीन हाउस’ बनाएका छन् । उनलाई अग्र्यानिक किसानका रूपमा चिन्ने गरिन्छ । लेयर्स जातको कुखुरापालन गरेका सुशीलले कुखुरामा बिचौलिया बढ्न थालेपछि बाख्रापालन थालेका छन् ।

सुशील मात्रै होइन, उनका दाजु सन्तोष समेत खेतीपातीमै व्यस्त हुने गरेका छन् । बेमौसमी तरकारी उत्पादन गर्दा राम्रो आम्दानी हुने भएकाले परम्परागत खेती छोडेर व्यावसायिक खेतीमा होमिएको उनले बताए ।

उनले सेडफार्मिङ प्रविधिबाट घरभित्र नै रायो साग, धनियाँ फलाउनका लागि काम गरिरहेका छन् । यो प्रविधिमा घरभित्र नै हुस्सु लाग्ने, सित पर्ने, पानी पर्ने, हावाको मात्रा मिलाउने मशिनहरू जडान गरिसकिएको घिमिरेले बताए ।

सुन्दरहरैचा एस एण्ड एस  मल्टिपर्पाेज कृषि फार्म प्रालि नाम दिएर २ पुस्ता व्यावसायिक खेतीमा आबद्ध छन् । 

salt training

कमेन्ट गर्नुहोस्