
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयकलाई छापामार र गुरिल्ला शैली भन्दै विरोध गरेको छ ।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हतारमा ल्याउनु जरुरी नभएको बताएका हुन् ।
‘संसदभित्र सबैको सहमति लिएर प्रतिस्थापन विधेयक ल्याउनु पथ्र्यो, आजको आजै हतार गर्नुपर्ने केही थिएन,’ पाण्डेले भने ।
एमालेका अर्का नेता गोकुल बाँस्कोटाले छापामार शैलीमा गुरिल्ला अध्यादेश ल्याइएको आरोप लगाए । ‘दलीय व्यवस्थालाई इतिहासमा यस प्रकारको अपमान गरिएको थिएन । छापामार शैलीमा गुरिल्ला अध्यादेश ल्याइयो । उहाँहरूले केही ल्याउन खोजेको थाहा भएन, घण्टाघर भत्काउने भन्ने कुरा मात्र सुनियो,’ बाँस्कोटाले टिप्पणी गरे ।
बाँस्कोटाले सभामुखले पक्षपाती भूमिका खेलेको आरोप लगाए । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा एजेण्डा समेत दिनुहुन्न, हाम्रो सभामुखलाई सभामुख मान्न सक्दैनौँ । यो अग्नि सापकोटाको कुर्सी होइन,’ बास्कोटाले भने ।
त्यसअघि एमालेको नाराबाजीका बीच अर्थमन्त्रीले संसदमा प्रतिस्थापन विधेयकको रुपमा विनियोजन अध्यादेश पेश गरेका थिए ।