२४ जेठ २०८३, आइतबार

परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित

असोज १५, २०७८
परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् ।

नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही नभइरहेको बेला परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघ महासभामा उभिएर पीडितको मुद्दा सम्बोधन हुने क्रममा रहेको बताएका थिए ।

ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर द्वन्द्वपीडितहरूले महासचिवलाई सम्बोधन गरिएको पत्र बुझाएका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले आफूहरूले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवको नाममा ध्यानाकर्षणपत्र पठाएको बताए ।

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोहीपक्षबाट भएको जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढ्दा द्वन्द्वपीडित नागरिकले न्याय पाउन सकिरहेका छैनन् । तर, परराष्ट्रमन्त्री खड्काले महासभा बैठकमा उभिएर समस्या समाधान हुन लागेको भाषण गरेपछि पीडितहरू आक्रोशित बनेका हुन् ।

द्वन्द्वमा आफन्त गुमाएका र बेपत्ता पारिएका परिवारको पीडा दर्दनाक छ । उनीहरू छिटो न्यायको खोजीमा छन् । द्वन्द्वका क्रममा माओवादीले चन्दा नदिएकै आरोपमा लमजुुङ दुराडाँडाका मानवअधिकारकर्मी तथा शिक्षक मुक्तिनाथ अधिकारीको वीभत्स हत्या गरेका थिए । उनका छोरा सुमन अधिकारी अहिले पनि न्यायका पर्खाइमा छन् । उनले परराष्ट्रमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभा बैठकमा उभिएर गलत कुरा गर्दा आश्चर्य चकित भएको बताए ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले सर्वोच्च अदालतले पीडितलाई न्याय दिन संक्रमणकालीन ऐन संशोधन गर्न दिएको परमादेश ६ वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएकोमा पीडा व्यक्त गरे । सामाजिक सञ्जालमा उनले आफ्नो पीडा सधैं व्यक्त गरिरहेका छन् ।

विस्तृत शान्ति सम्झौताको १५ वर्ष एवं आयोग प्रक्रियाको ६ वर्षसम्ममा पनि एक जना पीडितले पनि आपूm र आफन्तजनमाथि द्वन्द्वकालमा भएको मानवअधिकारको गम्भीर उल्लंघनबारेमा सत्यतथ्य, न्याय, परिपूरण नपाएको, बेपत्ता पारिएका आफ्ना प्रियजन सास वा लासको अन्योलमा पिल्सिरहेको, बेपत्ता पारिएका व्यक्तिको नाममा रहेको सम्पत्ति फिर्ता हुन नसकेको पीडितहरूको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्