२६ जेठ २०८३, मंगलबार

यस्तो छ एमालेको नेतृत्व चयनका लागि छुट्याइएको ‘क्लस्टर’ : कुन क्षेत्रबाट कति सदस्य ?

मंसिर १२, २०७८
यस्तो छ एमालेको नेतृत्व चयनका लागि छुट्याइएको ‘क्लस्टर’ : कुन क्षेत्रबाट कति सदस्य ?

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन बन्दसत्रको तेस्रो दिन आइतवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलमा प्रस्ताव गर्दैछन् ।

आइतबार बिहान १० बजे दोस्रो दिनको बन्दसत्र शुरू हुने बताइएको छ । हलमा ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गर्दैछन् ।

पदाधिकारीसहित केन्द्रीय सदस्य र केन्द्रीय आयोगहरूका सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार शनिवार नै बन्दसत्रबाट ओलीले पाइसकेका छन् । 

एकताको महाधिवेशन गर्नुपर्ने भन्दै अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले राखेको ओलीलाई अधिकार दिने प्रस्ताव हलले अनुमोदन गरेको थियो ।
 
एमालेले ३०१ जना केन्द्रीय सदस्य चयनका लागि विभिन्न क्लस्टर बनाएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट ६ जना खुला र ३ जना महिला गरी ९ जना केन्द्रीय सदस्य चुनिने छन् । 

त्यसबाहेक राजधानीको उपत्यका विशेष प्रदेश कमिटीबाट खुला १ र महिला १, सम्पर्क समन्वय विशेष कमिटीबाट खुला १ र महिला १ गरी कूल ६७ जना केन्द्रीय सदस्य समेटिनेछन् । 

आदिवासी जनजाति समुदायबाट २५ जना केन्द्रीय सदस्य बन्नेछन् । जसमा १७ जना खुला र ८ जना महिला हुने गरी क्लस्टर छुट्याइएको छ । 

मधेशी समुदायबाट १९ जना केन्द्रीय सदस्य बन्नेछन् । जसमा १२ जना खुला र ७ जना महिला हुनुपर्नेछ । 

दलित समुदायबाट १२ जना केन्द्रीय सदस्य बन्नेछन् । त्यसमा ८ जना खुला र ४ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । 

थारु समुदायबाट ७ जना एमाले केन्द्रीय सदस्य बन्नेछन् । जसमा ५ खुला र २ जना महिला केन्द्रीय सदस्य हुने गरी क्लस्टर छुट्याइएको छ । 

मुस्लिम र पिछडिएको क्षेत्रका लागि पनि क्लस्टर छुट्याइएको छ । त्यसमध्ये बाँकी रहेका १३७ केन्द्रीय सदस्य खुला क्षेत्रबाट छनोट गर्ने गरी क्लस्टर छुट्याइएको एमालेको बन्दसत्रको अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले बताए । 

यसरी छनौट हुने १३७ केन्द्रीय सदस्यमध्ये ५३ जना महिला हुनुपर्ने र ८४ जना खुला रूपमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिएको छ । 

एमालेका केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोग २५ सदस्यीय हुने व्यवस्था गरिएको छ । त्यसमा पनि एकतिहाइ महिला प्रतिनिधित्व हुनैपर्ने व्यवस्था गरिएको पौडेलले बताए । 

एमालेको १९ जना केन्द्रीय पदाधिकारी चयनमा पनि कुनै क्लस्टर छुट्याइएको छैन । 

पदाधिकारी सहितको केन्द्रीय सदस्य र आयोगका सदस्यहरू अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आइतवार बन्दसत्रको हलमा प्रस्ताव गर्ने तयारी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्