
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।
आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।
चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ ।
एमालेको तर्फबाट गोपाल शाख्य र महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै गठबन्धनबाट नेकपा समाजवादीकी उम्मेदवार गोमादेवी तिमल्सिनाले पनि आफ्नै पार्टी चिह्न कलम र नेपाली कांग्रेसले रुख चुनाव चिह्न प्राप्त गरेको छ ।
नेपाली कांग्रेसलेको तर्फबाट कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।
नेपाल मजदुर किसान पार्टीले मादल चुनाव चिह्न पाएको छ । नेमकिपाको तर्फबाट गीता काफ्ले र कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ ।
राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् भने एमाले एक्लै चुनावी मैदानमा छ ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता रहन्छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता छन् ।
कुल ११९ स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष गरी कुल २३८ जना मध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जना मात्र मतदाता कायम भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै प्रदेश सभाका कुल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेश सभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।
