
नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा नेपालबाट अफगानिस्तानका जनताको लागि सहायता पठाउन लागिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
आइतवार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट अफगानिस्तानमा सहायता सामग्री लैजान लागिएको हो ।
चार्टर्ड फ्लाइटमा नेपालको तर्फबाट औषधि, लत्ताकपडा र खाद्यन्न सामग्रीहरू पठाउन लागिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
तर, यी सामग्रीहरू नेपाल सरकारको पहल र खर्चमा अफगानिस्तान पठाउन लागिएको भने होइन ।
‘मन्त्रीज्यूको व्यक्तिगत पहलमा अफगानिस्तानमा मानवीय सहायता पठाउन लागिएको हो । विभिन्न व्यावसायिक संघसंस्थाले सामग्री उपलब्ध गराएका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यहाँको शसस्त्र विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो ।
देश तालिबानको कब्जामा गएपछि तत्कालीन राष्ट्रपति असरफ गनीले देश छाडेर गएका थिए ।
तालिबानले सत्ता कब्जा गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन ।
अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोग ठप्पजस्तै छ । देश आर्थिक संकटमा फसेको छ । अफगानिस्तानका नागरिकहरू खाद्यान्न र स्वास्थ्य उपचारको समस्या झेलिरहेका छन् ।
परराष्ट्रमन्त्री डा. खड्काले आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर उक्त सामाग्री अफगानिस्तानतर्फ पठाउन लागेका छन् ।
मानवीय सहायता पठाउने बन्दोबस्तका बारेमा मन्त्री खड्काले आइतवार नै विस्तृत रूपमा बताउने तयारी गरेका छन् ।
अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र पनि हो । अहिले नेपाल सार्कको अध्यक्ष पनि हो ।
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि नेपाल सरकारले त्यसबारेमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।