०६ साउन २०८३, बुधबार
लुम्बिनीका पूर्व सांसदहरूको अवस्था

सत्ताको कोपभाजनमा परेका पूर्व सांसद– कोही मिल चलाउँदै, कोही गाउँ डुलेर दिन बिताउँदै

फागुन १३, २०७८
सत्ताको कोपभाजनमा परेका पूर्व सांसद– कोही मिल चलाउँदै, कोही गाउँ डुलेर दिन बिताउँदै

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सामेल भएपछि पार्टीले पदमुक्त गरेका पूर्व मन्त्री विजयबहादुर यादव अहिले गाउँमै मिल चलाउँदैछन् । पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादव बाँकेको डडुवा गाउँपालिका–१ मा रहेको दुर्गा राइस मिलमा व्यस्त हुन्छन् ।

नेकपा विभाजन भएर बनेको एमाले नेतृत्वको सरकारमा काँध थाप्न पुगेका थिए यादव तर पार्टीले कारवाही गरेपछि उनी पदमुक्त बन्न पुगे ।

हाल बिहान–साँझ खेतीपाती र दिउँसो राइस मिलमा दिन बिताउने गरेको उनी बताउँछन् । ‘बेला–बेला जनताको घरदैलोमा पनि पुग्ने गरेको छु,’ यादव भन्छन्, ‘राइस मिल चलाउँछु । खेती किसानी पनि गर्छु, गाउँमै व्यस्त छु । जनताको सेवा गर्न पदमै बस्नुपर्छ भन्ने पनि त छैन नि !’

पार्टीको ह्वीप उल्लंघन गरेपछि उनी पदमुक्त भएको ६ महिनाभन्दा बढी भयो । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेको क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद थिए ।

पार्टी निर्देशन विपरीत उनीसहित ४ सांसद पोखरेल नेतृत्वको सरकारमा गए । ४ महिना मन्त्री बने ।

मन्त्री बन्नुअघि उनी कृषि, वन तथा वातावरण समितिका सभापति थिए । अब उनी आगामी निर्वाचनमा उम्मेदवार बन्ने गरी राजनीतिमा पुनः सक्रिय हुने सोचमा छन् । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको टीमलाई गत साउनमा आधिकारिता दिएपछि उनी पदमुक्त भएका हुन् ।

***

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डे अहिले आफ्नै गृहजिल्ला कपिलवस्तुमा व्यस्त छन् । उनको कार्यकाल यहीँ फागुन २० गते सकिँदैछ । नेकपा एमालेबाट उम्मेदवार बनेर कपिलवस्तु क्षेत्र नम्बर क्षेत्र नम्बर २ (१) बाट निर्वाचित पाण्डेले शंकर पोखरेल सरकार ढल्ने देखेपछि प्रदेश सांसद पदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट उम्मेदवार बनायो । उनी चुनाव त जिते तर ६ महिना आसपास मात्रै उनको कार्यकाल रह्यो ।

नेकपा माओवादी केन्द्रले कारवाही (एमाले प्रवेशबापत) गरेर पदमुक्त भएका सांसद चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदा पाण्डेले जितेका थिए । खड्काको कार्यकाल गोलाप्रथाबाट ४ वर्ष मात्रै परेको थियो । खड्काले सांसद रहेको कार्यकालमा बाँकी रहेको समय मात्रै पाण्डे सांसद हुन पाउने प्रावधानअनुसार फागुन २० गते उनको कार्यकाल सकिँदैछ ।

सत्ताको रापतापमा लिएको निर्णयप्रति पाण्डेलाई पश्चाताप छ । ‘सबैको प्रेसर र दबाबमा सांसद पदबाट राजीनामा दिएँ,’ पाण्डे भन्छन्, ‘अहिले आएर कमजोरी गरेजस्तो लाग्यो । राजनीतिमा तत्कालीन हेरेर नहुने रहेछ । अहिले कपिलवस्तुको महाराजगञ्ज गाउँमा छु । जनतासँग भेटघाट बढाएको छु ।’

उनी २ पार्टीको राजनीतिमा रहे । उनले एमाले र कांग्रेसको राजनीतिमा धेरै फरक पाए । राष्ट्रिय सभामा पनि समावेशिताको नाममा क्षमताहीन व्यक्तिहरू पुगेका उनी बताउँछन् । उनका अनुसार गाउँमा बस्दा सबैसँग भेटघाट हुन्छ, एकाग्र भइन्छ, अध्ययन गरिन्छ ।

***

सत्ताको कोपभाजनमा परेर पद गुमाएका अर्का सांसद हुन् रूपन्देहीका सन्तोषकुमार पाण्डेय । उनी रूपन्देहीको क्षेत्र नम्बर ३(२) बाट निर्वाचित जसपाका सांसद थिए । पाण्डेय जनताको घरघरमा पुग्ने युवा नेता हुन् । उनी लुम्बिनी सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्री बने । उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा सक्रिय छन् । उनी आउँदो निर्वाचनको तयारी पनि गरिरहेका छन् ।

आउँदो निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी पार्टी काममा खटिएको उनले बताए । पाण्डेय नेकपा एमालेमा प्रवेश गर्ने चर्चा पनि छ तर अहिले नै एमालेमा प्रवेश गर्ने निचोडमा पुगी नसकेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘म अहिले एमाले प्रवेश गर्ने सोचमा छैन । म जनताको मनमा प्रवेश गर्ने हो । जनताको मनमा रहन्छु, जनताको सुखदुःखमा रमाउँछु ।’

उनी पोखरेल नेतृत्वको सरकारमा ४ महिना भौतिक पूर्वाधार तथा विकास मन्त्री भए । पाण्डे प्रदेश सभामा धेरै बोल्ने सांसदभित्र पर्थे । आफू स्थानीय तह निर्वाचनको प्रचारमा केन्द्रित रहेको उनी बताउँछन् । सांसदबाट हटेपछि नेता मात्रै भएर पनि जनताको घरमा जानुको छुट्टै मज्जा हुने उनी बताउँछन् । 

***

जसपाकी पूर्व सांसद कल्पना पाण्डे काठमाडौंमा उपचाररत छिन् । उनी जीबीएस (प्यारालाइसिस जस्तै) रोगले काठमाडौंको नर्भिक अस्पतालमा अचेत रहेकै बेला मन्त्री र सांसद पद गुम्यो । अहिले पनि उनी पूर्ण निको भएकी छैनन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी पाण्डे समानुपातिक सांसद थिइन् । उनी पदमुक्त भएपछि जसपाले उनको ठाउँमा निर्मला मुडभरीलाई सांसद बनाएको छ । 

‘हामीले गल्ती गरेजस्तो लाग्दैन,’ पूर्व मन्त्री पाण्डे भन्छिन्, ‘हाम्रो पार्टीमा २ अध्यक्ष हुनुहुन्थ्यो । एउटाले पत्र पठाएर एमालेको नेतृत्वको सरकारमा जान निर्देशन आयो । अर्का अध्यक्ष उपेन्द्र यादवले पदमुक्त गर्न सभामुखलाई पत्र पठाउनुभयो । निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिँदा यादव पक्षलाई दिएपछि पदमुक्त भएका हौं ।’

उनी आफू पूर्ण रूपमा निको भएपछि पुनः लोसपाको राजनीतिमा सक्रिय हुने बताउँछिन् । पोखरेल सरकारले पाण्डेको उपचारका लागि १८ लाख दिने निर्णय गरे पनि नयाँ सरकार आएपछि १० लाख मात्र दिएको पाण्डेले बताइन् । आफ्नो उपचारका लागि आर्थिक अभाव रहेको उनले बताइन् । 

उनी पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिइन् । 

*** 

जसपाकै अर्की सांसद सुमन शर्मा रायमाझी पनि केही समय राज्यमन्त्री बनिन् । केही समयपछि राजीनामा दिएका कारण उनको पद जोगिएको थियो । उनी अहिले माओवादीका मुख्यमन्त्री कूलप्रसाद केसी नेतृत्वको सरकारमा भूमि व्यवस्था तथा कृषि मन्त्री छिन् । 

***

एमाले प्रदेश सांसदबाट राजीनामा दिएका दाङका अमरबहादुर डाँगी अहिले मुख्यमन्त्री केसीका प्रमुख राजनीतिक सल्लाहकार छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै डाँगीलाई सल्लाहकार नियुक्त गरेका थिए । पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए । उनको सुविधा ८० हजार ८०० रुपैयाँ छ । उनी एमालेबाट दाङ क्षेत्र नम्बर २(२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

***

नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित सांसद दिनेश पन्थीले तत्कालीन नेकपा विभाजन भएपछि एमाले रोजे । एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि माओवादीले कारवाही गरेर उनलाई पदमुक्त गरायो । उनी अहिले गुल्मी एमालेको इन्चार्ज छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेका पन्थीले गुल्मीमा पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउने अभियानमा लागेको बताए । ‘खासमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ भनेर नेकपा विभाजनपछि मैले एमाले रोजेको हुँ,’ पन्थीले भने, ‘माओवादीले कारवाही गरेर पद गुमे पनि केही गुनासो छैन । राज्यको नेतृत्व तहमा पनि पुग्न सकिएला फेरि पनि ।’ 

***

माओवादी केन्द्र रूपन्देही क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद दधिराम न्यौपाने अहिले एमालेको राजनीतिमा सक्रिय छन् । उनी पनि लुम्बिनी प्रदेश सभाका पूर्व सांसद हुन् । प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका पूर्व सभापति समेत रहेका न्यौपानेले पनि नेकपा विभाजनपछि एमाले रोजेका हुन् । उनी अहिले एमाले रुपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य हुन् ।

सांसद पद गमे फेरि प्राप्त गर्न सकिने भन्दै उनले एमाले रोजेर आफूले सही निर्णय गरेको दाबी गरे । ८७ सदस्यीय प्रदेशसभा अहिले ८१ सदस्यीय छ । एमालेको निरन्तरको अवरोधले संसद चल्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्