२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

ओलीका प्रतिस्पर्धीको दाबी– ‘अघिल्लोपटक नयाँ थिएँ, यसपालि दोब्बर मतले जित्छु’ [अन्तर्वार्ता]

ओलीका प्रतिस्पर्धीको दाबी– ‘अघिल्लोपटक नयाँ थिएँ, यसपालि दोब्बर मतले जित्छु’ [अन्तर्वार्ता]

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

२०७४ को चुनावमा पनि ओली र अधिकारीले नै चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला अधिकारीले पाएको मतको दोब्बर मत ल्याएर ओलीले चुनाव जितेका थिए । 

०७४ मा एमाले र माओवादी केन्द्रको देशव्यापी गठबन्धन थियो । ओलीले झापामा राप्रपासँग पनि तालमेल गरेर आफ्नो विशाल जीत सुनिश्चित गराएका थिए । 

यसपटक माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनमा छ । ओलीले राप्रपासँग तालमेल गरेका छन् । तर, स्थानीय तहको चुनावमा भने एमालेविरूद्ध राप्रपा र कांग्रेस एकजुट भएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार डा. अधिकारीले ५ वर्षअघिको अवस्थामा फेरबदल भइसकेका कारण आफूले ओलीलाई पराजित गर्ने निश्चित रहेको दाबी गरेका छन् । 

लोकान्तरकर्मी गगन अर्यालराजु बास्कोटाले झापाको दमक पुगेर डा. अधिकारीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

चुनावी सरगर्मी बढेको छ । मतदाताको घर–घरमा पुगिरहनुभएको छ, प्रतिक्रियाचाहिँ कस्तो पाउनुभएको छ ?

– मैले यसपालि घरदैलो गर्दा मतदाताको सकारात्मक प्रतिक्रिया पाएको छु । सहयोग गर्ने वचन दिनुभएको छ । मप्रति मतदाताको भरोसा बढेको पाएको छु । 

अघिल्लो निर्वाचनमा म मतदाता माझ परिचित भइसकेको थिइनँ । राजनीतिमा चासो राख्नेले यसपटक मलाई राम्रोसँग बुझिसक्नु भएको छ । पहिले नचिनेकाहरूले पनि अहिले चिनिसक्नुभएको छ । चुनाव प्रचारका क्रममा असाध्यै सकारात्मक प्रतिक्रिया पाएको छु । 

२०७४ को चुनाव र अहिलेको चुनावमा तपाईंको प्रतिस्पर्धी एकै व्यक्ति हुनुहुन्छ । अघिल्लो चुनावमा तपाईंले पाएको मतको दोब्बर मत ल्याएर उहाँ विजयी हुनुभएको थियो । यसपटक कस्तो होला नतिजा ?

– अघिल्लो चुनावमा नेपाली कांग्रेस एक्लो थियो । त्यस बेला राप्रपाको १५ हजार हाराहारी भोट उहाँले पाउनुभएको थियो । माओवादीको पनि त्यति नै मत उहाँलाई गएको थियो । 

त्यो बेलामा म नितान्त एक्लै प्रतिस्पर्धामा थिएँ । अघिल्लो चुनावमा उपेन्द्र यादवसँग कांग्रेसको गठबन्धन थियो तर, यहाँका उनीहरूको उम्मेदवार पनि थिए । एक्ला–एक्लै प्रतिस्पर्धा भएको भए म अघिल्लो चुनावमै विजयी हुने रहेछु । 

माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेससँग छ । हामीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केही भोट आउँछन् । अघिल्लो चुनाव र अहिलेको चुनावमा आकाश जमिनको फरक छ । यी नै मैले चुनाव जित्ने बलिया आधार हुन् ।

स्थानीय तहको चुनावको मत हेर्ने हो भने एमाले र राप्रपाको मतसँग कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाएको मतको अन्तर १५ हजारभन्दा बढी छ  । यो मतान्तरले त चुनाव तपाईंले दाबी गरेजस्तो सजिलो देखिँदैन नि ?

– उहाँ (ओली)ले राप्रपासँग तालमेल नगरी चुनाव जित्न सकिँदैन भन्ने ठानेर नै तालमेल गर्नुभएको हो । तर, राप्रपाको भावनात्मक सम्बन्ध हामीसँग छ । हामीले स्थानीय तहमा राप्रपाको हलो बोकेर हिँडेको, राप्रपाले कांग्रेसको झण्डा बोकेको, मत गणना गर्दा सँगै मत गनेको याद ताजा नै छन् । त्यो अवस्था अहिले पनि टुटेको छैन । उहाँहरूले त्यसको गुण अहिले तिर्ने अवस्था आएको छ ।

५ वर्ष पहिले र अहिलेको अवस्था फरक छ । अघिल्लो चुनावमा केपी ओली जुन अवस्थामा थिए, अहिले ठ्याक्कै उल्टो अवस्था छ  ।  

यहाँ खाना नपुग्ने गरीबको संख्या ठूलो छ । अघिल्लो चुनावको बेला नेकपाको सरकार बन्नेबित्तिकै सुतीसुती खान पुग्छ भनेर आश्वासन बाँड्नुभएको थियो । बेरोजगारको सर्टिफिकेट राखेर इलम पाइने, पानी जहाज चुच्चे नक्सा लगायतका सपना देखाउनुभएको थियो ।

जनताले एकपटक ती सपनाको परख गर्न चाहेका थिए । त्यसैले जिताइदिएका हुन् । अहिले त ती सबै बेकारका गफ रहेछन् भन्ने प्रमाणित भइसक्यो । अर्को चाहिँ म नयाँ उम्मेदवार भएको फाइदा पनि उहाँलाई भएको थियो । अहिले त्यस्तो अवस्था होइन । 

पटक–पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेको, अहिले पनि ठूलो दलको अध्यक्ष रहेको हेभीवेट उम्मेदवारसँगको चुनावी प्रतिस्पर्धामा चुनौती महसूस त भएकै होला नि ?

– तपाईंहरूले भन्नुभएको हेभीवेट म मान्दिनँ । उहाँले डीआईजीलाई एआईजी बनाउनुभयो होला तर उनीहरूले यहाँ आएर भोट हाल्ने त होइनन् । हिजो बकुल्ला छाप चप्पल लगाएर हिड्नुहुन्थ्यो, आज कराडौंको मालिक हुनुहुन्छ होला, त्यसैलाई हेभीवेट देख्नुभएको हो कि ? जनतालाई त्यस्ता विषयमा सरोकार हुँदैन ।

उहाँ हिजोका दिनमा जेलमा बसेर त्याग गरे भन्नुहुन्छ, त्यो मैले देख्दिनँ । मैले त्याग गरेको छु । मैले जागिर छाडेर जनताको सेवा गर्न आएको हुँ । मैले विद्यावारिधि गरेको छु । उहाँले सयौं बालबालिकालाई पढ्न दिनुभएन, मैले पढाएँ । जनताले त्यसको मूल्यांकन गर्छन् ।

अघिल्लो चुनावमा म नयाँ थिए । अहिले मतदाताको बीचमा परिचित भइसकें । एमाले अध्यक्ष ओलीलाई दोब्बर मतले जित्छु ।

केपी ओलीको वर्षौंदेखिको विरासत भत्काउने दाबी गर्नुभयो । तपाईंका चुनावी एजेन्डा चाहिँ के–के हुन् ?

– मैले राष्ट्रिय एजेन्डा र स्थानीय एजेन्डा भनेर विभाजन गरेको छु । बिजुली उत्पादन, खानेपानी, ऊर्जा, सिँचाई, दिगो पर्यटन र विदेशी सम्बन्ध राष्ट्रिय एजेन्डा हुन् । 

४० वर्षदेखि झापामा रहेका सुकुम्बासी समस्या एकपटकमा समाधान गर्ने एजेन्डा बनाएको छु । झापा– ५ को दक्षिणी क्षेत्रमा रहेको सिमानामा भन्सार अभिवृद्धि गर्ने, तल्लो भेगलाई औद्योगीकरणमा लैजाने एजेन्डा अघि सारेको छु । 

अहिले पनि यो क्षेत्रमा जमिन सस्तो छ । रानी करिडोरमा उद्योग भरिइसकेकाले यसलाई विकास गर्ने र माथिल्लो क्षेत्रलाई हरियालीसहितको दमक शहर बनाउने स्थानीय एजेन्डाहरू छन् ।

एउटा मेडिकल कलेज खोल्ने योजना बनाएको छु । गौरीगञ्जमा अलपत्र परेको रतुवाको पुल चाँडोभन्दा चाँडो निर्माण गर्न पहल गर्नेछु । अहिलेसम्म यो पुललाई नेतृत्वले बेवास्ता गरेको थियो । 

केपी ओली २ पटक प्रधानमन्त्री भएको मान्छे । भ्यूटावर तुरून्त बनाउनुभयो तर पुललाई बेवास्ता गर्नुभएको छ ।

मेरो चुनावी जीतको आधार जनताको भरोसा, विश्वास हो । जनताले यसरी भरोसा दिनुमा मैले गरेको त्याग र समर्पणको प्रभाव छ । उहाँ (केपी ओली)को पछिल्लो समयको गिर्दै गरेको साख पनि मेरो चुनाव जित्ने आधार हो । उहाँले २ पटक गरेको संसद विघटनले पनि मलाई चुनाव जित्न सजिलो बनाएको छ ।

चुनाव जित्नेमा केपी ओली तपाईंभन्दा बढी विश्वस्त हुनुहुन्छ । त्यही कारण उहाँ चुनाव प्रचारमै आउनु परेको छैन । तपाईं भने मत माग्न घर–घर पुगिरहनु परेको छ नि ?

– मैले त्यस्तो ठानेको छैन । पहिला सहकर्मी साथीहरू उठ्न नमान्दा पनि म यो मैदानमा आएको हुँ । अहिले त म फूल कन्फिडेन्ट छु । 

उहाँ केही दिनअगाडि आएर सघन घरदैलो गरेर जानुभएको हो । जित्ने भए घर दैलो गर्नुपर्ने अवस्था थिएन होला ।  

उहाँ अहिले पनि ठूलो भ्रममा हुनुहुन्छ । राप्रपाको भोट भनेर गणित निकाल्नुभएको छ । स्थानीय तहहरूको मत लगायतका कुराको हिसाब गर्नुभएको छ, तर कहाँ–कहाँ डढेलो लागेको छ भन्ने उहाँलाई थाहै छैन ।

चुनाव जित्दा कति मतान्तरले जित्ने आकलन गर्नुभएको छ ?

– अहिल्यै भन्न मिल्ने हो भने मेरो जीत भइसक्यो । अघिल्लो चुनावको परिस्थिति उल्टेका कारणले दोब्बर मत ल्याएर चुनाव जित्छु । 

salt training

कमेन्ट गर्नुहोस्