
आइतवार बालुवाटार बैठकमा नेपाली कांग्रेससँगको गठबन्धनको औचित्य सकिएको घोषणा गरेर निस्किएपछि प्रधानमन्त्री निवास बालुवाटार परिसरमै माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डले केहीबेर मन्थन गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको बटमलाइन नछाडेपछि धोका दिएको भन्दै गठबन्धनको औचित्य सकिएको भनेर प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।
बैठककक्ष बाहिर भएको मन्थनमा प्रचण्डले प्रस्ताव गरे, ‘देउवाले धोका दिए । अब केपी ओलीसँग तीनै जना बसेर छलफल गरौं ।’
माधव नेपालले नै बताएअनुसार उनी प्रचण्डको मध्यस्थतामा केपी ओलीसँग संवाद गर्न तयार भएका थिए । ओलीसँग छलफल गर्नुअघि एकीकृत समाजवादीको बैठक राख्ने, सहमति लिने र सँगसँगै रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवसँग पनि छलफल गर्ने योजनासहित नेपाल आइतवार दिउँसो एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष भने केपी ओलीसँग संवादको वातावरण बनाउने भन्दै खुमलटार फर्किएका थिए । माधव नेपालले बताएअनुसार तीनकुनेस्थित आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर नेपालले आफ्नो पार्टीको सचिवालय बैठक बोलाए । रवि लामिछाने, राजेन्द्र लिङ्देन र उपेन्द्र यादवलाई फोन गरे । रवि लामिछानेले आफू बालकोटमा केपी ओलीलाई भेट्न जान लागेको जानकारी दिए ।
त्यसबेला नेपाललाई लाग्यो, बालकोटमा केही विशेष बनेको छ । उनी प्रचण्डको फोन पर्खिएर बसे तर दिउँसो अबेरसम्म फोन आएन । सञ्चारमाध्यममा खबर आयो – प्रचण्ड बालकोटमा छन् ।
यो खबर सार्वजनिक हुँदै गर्दा माधव नेपाल मात्रै होइन, कांग्रेसका नेताहरूको पसिना छुट्यो । उनीहरूले माधव नेपालको सहयोग मागे । त्यतिबेला धेरै ढिलो भइसकेको थियो । माधव नेपाल आफैं अन्योलमा त थिए नै कांग्रेस र माओवादी दुवैले आफूलाई धोका दिएको निष्कर्ष उनको थियो ।
सरकार गठनका लागि छलफल गर्न बोलाएको सचिवालय बैठकबाट उनले बदलिएको राजनीतिक परिस्थितिमा ‘पर्ख र हेर’को नीतिमा रहने निर्णय गराए । केपी ओली र प्रचण्डले काँध मिलाएपछि माधव नेपाल अहिले दोधारमा छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले माधव नेपाललाई सरकारमा सहभागी हुन पटक–पटक आग्रह गरेका छन् । माधव नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् तर केपी ओलीको रणनीतिमा सरकार बनेपछिका पछिल्ला २ दिनको राजनीतिक छलफल र भेटवार्ता माधव नेपाल केन्द्रित छ ।
मंगलवार नै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माधव नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
‘माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन सल्लाह दिएको छु । केपी ओली र प्रचण्डसँग पनि छलफल गर्नुहोस्, आफ्नो र झलनाथको लागि अहिले केही पनि नमाग्नुहोस् भनेको छु,’ गौतमले भने ।
मंगलवार साँझ नै एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले माधव नेपालसँग भेटेर संवाद गरेका छन् । नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूको भेट भएको हो । भेटमा पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनिएको स्रोतले जानकारी दिएको छ ।
एमाले र एकीकृत समाजवादीका नेताहरूको केही समयअघिदेखि निरन्तर कुराकानी भइरहेको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएका कारण एमाले नेताहरूले उहाँमार्फत संवाद अघि बढाएका छन् । धेरै कुरामा छलफल भएको बुझिन्छ । मुख्य कुरो माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कसरी सुधार्ने भन्ने टुंगो लाग्न बाँकी थियो ।’
बुधवार पनि एमाले र माओवादी केन्द्रका नेताहरूले पटक–पटक नेपालसँग भेटेर संवाद गरेका छन् । बुधवार बिहानै प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले छलफल गरेका थिए । प्रचण्डले नेपाल र केपी ओलीबीच संवाद गराउने प्रयास गरिरहेको उनले बताए ।
केपी ओली र माधव नेपालको सम्बन्ध सुधार प्रयासमा लागेका एमालेका नेता सुवासचन्द्र नेम्वाङले पनि ओलीले नेपाललाई भेट्न चाहेको बताए । ‘माधव नेपालसँग हेलो गर्ने विषयमा अध्यक्ष सकारात्मक हुनुहुन्थ्यो तर पछिल्लो विकासक्रमबारे अपडेट छैन,’ नेम्वाङले भने ।
बुधवार नै एमाले नेता महेश बस्नेत माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । भेटमा नेपाललाई एमालेमा फर्कन आग्रह गरेको बस्नेतले बताए ।
‘उहाँ छलफलका लागि सकारात्मक नै हुनुहुन्छ । बीचमा इग्नोर गरियो । सन्दर्भ सकिएको जस्तो व्यवहार गरियो भन्ने उहाँलाई लागेको रहेछ । मैले त एमालेमा फर्कनुहोस् भनेको छु,’ बस्नेतले भने । बिहीवारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच संवाद हुनसक्ने बस्नेतले बताए ।
त्यसबाहेक माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधान एवं भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठले पनि बुधवार नै नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका छन् । उनले पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन भनेका थिए ।
यी सबै भेटवार्तामा माधव नेपालले भने स्पष्ट दृष्टिकोण दिएका छैनन् । उनलाई भेटेका सबैजसो नेताले नेपाल अझै दोधारमा रहेको अर्थमा बुझेका छन् ।
यसका बाबजुद नेपालले सरकारमा सहभागी हुने वा नहुनेबारे सुझाव लिन पार्टीको भर्चुअल बैठक राखेका छन् । बैठकमा पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षसम्मको सहभागिता छ ।
‘जुनसुकै निर्णय गरे पनि बैठक राखेर मात्रै निर्णय गर्न अध्यक्षलाई भनेका छौं । बैठकभन्दा बाहिरबाट निर्णय हुनुहुँदैन,’ एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने ।
वामदेव गौतमले भने एमालेसँग एकताको लागि तयार हुन नेपाललाई सुझाव दिएको बताए । ‘एकताका लागि तयार हुनुहोस् भनेको छु । उहाँले मलाई नै पार्टीमा आउनुहोस् भन्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाऔं, त्यसपछि अघि बढौंला भन्नुभएको छ,’ गौतमले भने ।
तर माधव नेपाल आफैंले आगामी राजनीतिक बाटोबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘सरकारमा जाने, फ्लोरबाट समर्थन गर्ने वा प्रतिपक्षमा बसेर पार्टी विस्तारमा लाग्ने भन्ने पार्टीको बैठकमा छलफल गरेर टुंगोमा पुग्छौं ।’