०२ असार २०८३, मंगलबार

सामुदायिक विद्यालयको कम्प्युटर ल्याब व्यापारिक प्रयोजनमा प्रयोग

माघ २४, २०७९
सामुदायिक विद्यालयको कम्प्युटर ल्याब व्यापारिक प्रयोजनमा प्रयोग

मोरङको बेलबारी नगरपालिका–९ स्थित काली माध्यमिक विद्यालयको कम्प्युटर ल्याब प्रयोग गर्न निजी क्षेत्रलाई दिइएको छ ।

कम्प्युटर कक्षा सञ्चालन गर्ने शिक्षक नभएको भन्दै ल्याब बेलबारीको क्रिमसन एकेडेमीलाई जिम्मा दिइएको हो ।

९ नम्बर वडाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वडाका जनतालाई कम्प्युटर सिकाउने गरी  नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । बजेट कोटेसनमार्फत क्रिमसन एकेडेमीलाई योजना दिइएको थियो । 

वडाको योजनाबाट पैसा लिएर क्रिमसनले विद्यालयको ल्याबमा वडावासीलाई कम्प्युटर सिकाइरहेको छ । त्यहाँ विद्यालयका विद्यार्थीले कम्प्युटर सिक्न पाउँदैनन् । पटक–पटक विद्यार्थीले कम्प्युटर सिकाउन माग राख्दै  विद्यालय प्रशासनमा समेत निवेदन दिएका छन् तर पनि विद्यार्थीलाई कम्प्युटर सिकाउनका लागि प्रशासनले कुनै चासो दिएको छैन ।
 
सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि यस्तै कारणले विद्यार्थीको संख्या घट्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ । निजी व्यवसाय गर्नका लागि विद्यालयले एकेडेमीलाई निःशुल्क ल्याब उपलब्ध गराउँदा समेत सम्बन्धित निकाय मौन छ । 

कम्प्युटर तथा हलको व्यवस्थापन एकेडेमीले आफैं गर्ने गरी वडामा सम्झौता गरे पनि क्रिमसनले प्रधानाध्यापक र वडाका कर्मचारीको सेटिङमा कार्यक्रम गरेको आरोप समेत लाग्ने गरेको छ ।
 
९ नम्बर वडाका वडा सचिव इन्दिरा भण्डारी यसलाई सहजरुपमा लिनुपर्ने बताउँछिन् । विद्यार्थीलाई असर नगर्ने गरी विद्यालयसँगको सहकार्यमा विद्यार्थीलाई सिकाउने गरिएको उनले बताइन् । दैनिक २ घण्टा सिकाउने गरिएको छ । दिनमा २ पटक ल्याबमा ४५ जनालाई सिकाइन्छ । बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि २ बजेसम्म विद्यार्थीलाई सिकाउने गरिएको छ ।
 
प्रधानाध्यापक नारायण कोइरालाले विद्यालयमा ३ महिना मात्रै विद्यार्थीलाई कम्प्युटर सिकाउने गरिएको बताए । ‘हामीसँग छुट्टै कम्प्युटर शिक्षक हुनुहुन्न,’ उनले भने, ‘निजी क्षेत्रबाट शिक्षक राख्ने अवस्था पनि छैन ।’ वडाले कम्प्युटर ल्याब दिन अनुरोध गरेपछि दिएको बताए । नगरपालिकाले कम्प्युटर शिक्षक नदिएसम्म विद्यार्थीलाई सिकाउन समस्या परेको उनले बताए ।
 
वडाध्यक्ष शालिग्राम कोइरालाले आफूलाई यसबारे जानकारी नभएको बताए । सम्झौताअनुसार नभए कारबाही गर्ने बताएका छन् ।
 
विद्यालयमा कम्प्युटर ल्याबका लागि चाहिने उपकरण १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग  गरेको थियो । क्रिमसनले २ वडामा यस्तै कार्यक्रम गरेको छ । ५ र ९ नम्बर वडामा कार्यक्रम सञ्चालित छ । ५ नम्बर वडामा व्यक्तिको घरमा आफैंले कम्प्युटर लगेर सिकाउने गरिएको छ । क्रिमसनका सञ्चालक विप्लव पोख्रेलले विद्यार्थीलाई असर नपुग्ने गरी वडाको सहकार्यमा कम्प्युटर सिकाउने गरेको बताए । ‘सबैलाई पायक पर्ने स्थानमा हल नभेटिएकाले विद्यालयको ल्याब प्रयोग गरेका हौं,’ उनले भने, ‘त्यहाँ धेरै कम्प्युटरहरु बिग्रिएको पायौं, त्यसलाई निःशुल्क बनाइदिन्छौं ।’

बेलबारी नगरपालिकालाई पनि यसबारे कुनै जानकारी छैन । ‘वडाकै कार्यक्रम भए पनि व्यापारिक प्रयोजनका लागि दिनु हुँदैन,’ बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृत भूपेन्द्र कोइरालाले भने, ‘अहिलेसम्म मलाई जानकारी छैन । थप कुरा बुझेर मात्रै भन्छु ।’

विद्यालयमा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर सिकाउने उद्देश्यका साथ ल्याबको स्थापना गरिएको थियो । ८, ९ र १० कक्षामा डेढ सय विद्यार्थी छन् । ती विद्यार्थीले परीक्षा आउने बेला मात्रै कम्प्युटर छुन पाउँछन् । 

कालिका माध्यमिक विद्यालयनजिकै रहेको एक निजी विद्यालयमा दैनिक कम्प्युटर सिकाउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्