०४ असार २०८३, बिहीबार

नजिक विद्यालय नहुँदा ८ कक्षापछि पढ्न सकस

नजिक विद्यालय नहुँदा ८ कक्षापछि पढ्न सकस

चितवन भरतपुर महानगरपालिका–२९ कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् ।

चौकीडाँडा आधारभूत विद्यालयमा ८ कक्षाको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् ।

भौगोलिक विकटताका कारण यस क्षेत्रमा माध्यमिक तहको पठनपाठन गर्ने विद्यालय नहुँदा ८ कक्षाको अध्ययनपछि पढाइ छाड्ने गरेका हुन् । 

कमलपुरकी सीता परियारका ४ जना छोराछोरी छन् । उनीहरूमध्ये २ जना भरतपुरमा भाडामा बसेर पढ्छन् भने १ जना चौकीडाँडा आधारभूत विद्यालय र १ जना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करीब ३ घण्टा हिँड्नुपर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ ।

‘बाहिर कोठा लिएर राखौं खर्चले धान्न सकिँदैन, नजिकै माध्यमिक विद्यालय छैन,’ उनले भनिन्, ‘विद्यालयनजिक भएको यही चौकीडाँडा हो । यसमा पनि ८ कक्षासम्म मात्र पढाइ हुन्छ ।’ यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उनको भनाइ छ ।

यस्तै गुनासो सुनाउँछिन् धनमाया सुनार पनि । उनका २ छोरी अहिले ६ र ९ कक्षामा पढ्दैछन् । उनले भनिन्, ‘कोठा लिएर पढाउने क्षमता छैन ।’ ४ हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उनले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गरिन् । यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उनले भनिन्, ‘कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।’

उनले छोरी ८ पास गरेर ९ कक्षामा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताइन् ।

चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारीले माध्यमिक तहको पढाइ यहाँ नहुँदा ८ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गरिन् । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले ८ कक्षापछि पढाइ छोड्ने गरेको उनले बताइन् । प्रत्येक वर्ष ८ कक्षा उत्तीर्ण गरेका २५–३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । 

अभिभावकले शहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको संख्या बढेको उनको भनाइ छ । ‘८ कक्षा उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्,’ तिवारीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्