०५ साउन २०८३, मंगलबार

राजस्व अनुसन्धानमा बुढाको डेढ महिना– चुहावट नियन्त्रणमा कडाइ, सेटिङको धन्दा बन्द

असार १३, २०८१
काठमाडौं
राजस्व अनुसन्धानमा बुढाको डेढ महिना– चुहावट नियन्त्रणमा कडाइ, सेटिङको धन्दा बन्द

राजस्व अनुसन्धान विभागले यतिबेला राजस्व चुहावटका घटनामा निकै कडाइका साथ अनुसन्धान गरिरहेको छ ।

विभागको 'केस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम' (सीएमआईएस) मा रहेका ३ हजारभन्दा बढी सक्रिय उजुरीमध्ये अधिकांशको छानबिन चलिरहेको तथा केही निष्कर्षमा पुगेको विभागले जनाएको छ ।

गत वैशाख २४ गते राजस्व अनुसन्धान विभागमा महानिर्देशकका रूपमा चक्रबहादुर बुढा आएका थिए । उनी आएपछि राजस्व चुहावटमा कडाइ हुन थालेको हो ।

अहिले विभागको १० वटै शाखामा अनुसन्धान अधिकारी तोकेर अनुसन्धान अगाडि बढाइएको छ । पुराना फाइलहरू खुल्ने क्रममा छन् भने चलिरहेको अनुसन्धान फास्ट ट्रयाकमा गर्न महानिर्देशक बुढाले निर्देशन दिएका छन् ।

विभागका अनुसार अहिले विदेशी विनिमयसँग सम्बन्धित कारोबार, सुन र भन्सारबाट छुटेका गाडीका सम्बन्धमा अनुसन्धान केन्द्रित गरिएको छ ।

अनुसन्धानका लागि महानिर्देशक बुढा आफैंले प्रारम्भिक पहल लिन थालेका छन् भने अनुसन्धानका क्रममा आइपर्ने व्यवधानलाई सहजीकरण गर्न समेत उनी सक्रिय रूपमा लाग्ने गरेको कर्मचारीहरू बताउँछन् ।

विभागले राजस्व चुहावट नियन्त्रणका लागि प्रचारप्रसार र गोष्ठीसँगै अनुगमन तथा कानून पालना गराउने काम गर्छ ।

कानून पालना नभएको क्षेत्रमा अनुसन्धान गर्ने र त्यसका आधारमा मुद्दा दायर गर्ने काम पनि गर्छ ।

'राजस्व चुहावटको जोखिमयुक्त क्षेत्र पहिचान गर्ने, त्यसको अनुसन्धान गर्ने र अनुसन्धानका आधारमा मुद्दा दायर गर्ने काम हामी गर्छौं,' एक अनुसन्धान अधिकारीले भने ।

उनका अनुसार अहिले अनुसन्धानको काम छिटोछिटो चलिरहेको छ ।

राजस्व छली र चुहावटका घटना बढेको तथ्यहरू आइरहेका बेला विभागले दिनकै लाखौं जरिवाना असुल गरिरहेको छ ।

विभागका अनुसार भन्सारबाट आएका गाडीहरूले कर छली गरेको सूचनाका आधारमा चलेको कारबाहीमा वैशाख २४ गतेयता लगभग ६ करोडभन्दा बढी जरिवाना संकलन भएको छ ।

वैशाख २४ गते ३५ लाख, २५ गते २० लाख, २६ गते ४८ लाख, ३० गते ३२ लाख, ३१ गते ४९ लाख जरिवाना संकलन भएको थियो ।

त्यस्तै, जेठ महिनामा पनि विभागले भन्सार छली या कम बिजक जारी भएर आएका गाडीबाट ३ करोडभन्दा बढी जरिवाना संकलन गरेको छ ।

यसरी ठूलो मात्रामा जरिवाना संकलन गर्ने काम विगतमा नभएको विभागका एक अनुसन्धान अधिकारीले बताए ।

'चक्र सरको निर्देशन र उहाँकै प्रत्यक्ष सहभागिताका कारण अनुसन्धान प्रभावकारी भएको छ, जरिवाना बढी संकलन भएको छ,' ती अधिकारीले लोकान्तरसँग भने ।

विभागले यतिबेला सबैभन्दा बढी भन्सार छलीसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ ।

'भन्सारसँग सम्बन्धित विषय सही ढंगले हल हुने हो भने राजस्व अनुसन्धानको काम ६० प्रतिशतले कम हुन्छ । दुर्भाग्यवश सबैभन्दा बढी राजस्व छली भन्सार नाकामै हुन्छ र हामीले अहिले त्यतैतिर अनुसन्धान सोझ्याएका छौं,' ती अनुसन्धान अधिकारीले थपे ।

विभागमा नयाँ नेतृत्व आएपछि निजी क्षेत्रले पनि सन्तुष्टि व्यक्त गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ(FNCCI)ले गत जेठ २३ गते आयोजना गरेको कार्यक्रममा पनि राजस्व अनुसन्धान विभागले नयाँ नेतृत्व पाएकोमा FNCCI का अधिकांश बोर्ड सदस्यले खुसी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा राजस्वसम्बद्ध ४ महानिर्देशकलाई बोलाइएको थियो । सबैबीच भएको अन्तरक्रिया राम्रो भएको र निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता आएको अध्यक्ष चन्द्र ढकालले बताएका थिए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटीबारे थप छलफल आवश्यक रहेको र यसका लागि राजस्व अनुसन्धान विभागसँगै करसँग सम्बन्धित सबै विभागहरूले अन्तरआबद्धता कायम गरी काम गर्नुपर्ने बताएका थिए ।

सोही कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढाले राजस्व अनुसन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको बताएका थिए । कतिपय अवस्थामा जनशक्ति कम भएकाले अनुसन्धानको प्रभावकारितामा असर पनि पर्ने गरेको छ ।

महानिर्देशक बुढा भन्छन्, 'म यहाँ आइसकेपछि डेढ महिनाभित्र ७ भन्दा बढी मुद्दा दायर गरिएको छ । करोडौं बिगो दाबी गरिएको छ । जनशक्ति कम भएपनि हामीले कामको प्रभावकारितालाई उच्च राख्न सफल भएका छौं ।'

बुढाले आफू विभागमा आइसकेपछि बिचौलियाका लागि ढोका बन्द गरेको दाबी गरे ।

उनले भने, 'हामीसँग गुनासो गर्न आउनेलाई स्वागत गर्छौं, उहाँहरूको समस्या समाधानका लागि हदैसम्मको प्रयास गर्छौं । अनि सूचना दिन आउनेहरू पनि हाम्रा एसेट हुन् । तर, बिचौलियाका लागि भने मैले यस कार्यालयमा ढोका बन्द गरिदिएको छु ।'

विभागको केन्द्रीय कार्यालयमा ६५ जना, विभागमातहत रहेका क्षेत्रीय कार्यालयहरू इटहरिमा १८ जना, पथलैयामा २१ जना, बुटवलमा २२ जना  र कोहलपुरमा १९ जना गरी कुल १४५ जना निजामती कर्मचारी कार्यरत छन् ।

राजस्व प्रहरीका रूपमा १५० जना सशस्त्र प्रहरी पनि परिचालित छन् ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संकलन गर्ने कर तथा गैरकर राजस्व चुहावट नियन्त्रण गर्ने, विदेशी विनिमय अपचलनको अनुसन्धान तथा तहकिकात गर्ने र मुद्दा चलाउने विभागको प्रमुख काम हो ।

विस्तृत छानिबनमा गइसकेपछि बढीमा ६ महिनाभित्रमा अनुसन्धान सक्नुपर्ने कानूनी प्रावधान छ । ६ महिनाभित्रमा पनि अनुसन्धान सम्पन्न भएन भने महानिर्देशकले एकपटकका लागि बढीमा ३ महिना म्याद थप्न सक्ने व्यवस्था छ ।

विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकारी तोकिएको ६ महिना र महानिर्देशकले थपेको ३ महिनासमेत गरेर बढीमा ९ महिनामा जसरी पनि अनुसन्धान सम्पन्न गरेर अदालतमा मुद्दा दायर भइसक्नुपर्ने हुन्छ ।

२०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । २०५० सालमा अर्थ मन्त्रालयअन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना भएको थियो । पछि २०७४ फागुन १३ गतेको मन्त्रिपरिषदको निर्णयबाट विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत आएको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)पहिलो संशोधन, २०७६, राजस्व चुहावट नियमावली २०७०, विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९, विदेशी विनिमय (नियमित गर्ने) नियमहरू, २०२० को आधारमा विभागले अनुसन्धान गर्छ ।

त्यसैगरी, राजस्व संकलनसँग सम्बन्धित ऐनहरू भन्सार ऐन २०६४, अन्तःशुल्क ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ लाई टेकेर पनि विभागले अनुसन्धान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्