
वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसार सकिएको छ । निर्वाचन कानुनअनुसार मतदान हुनुअघिको ४८ घण्टाको समयलाई मौन अवधि मानिने व्यवस्थाअनुसार बिहीबार दल तथा उम्मेदवारहरूले निर्णायक प्रचारप्रसार गरे ।
जसअनुसार सत्ता गठबन्धनले चितवन–२ र बारा २ मा चुनावी सभाको आयोजना गर्यो भने एमालेले पनि अध्यक्ष केपी ओलीको सहभागितामा बारा–२ मा चुनावी सभाको आयोजना गर्यो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन २ स्थित आफ्नो निर्वाचन क्षेत्रमा अन्तिम चुनाव प्रचार गरे ।
सत्ता गठबन्धनको चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्षस्थ नेताहरुको सहभागिता रह्यो ।
यस्तै तनहुँमा पनि दलहरुले अन्तिम चुनावी प्रचार गरे । समग्रमा उपनिर्वाचनमा सहभागी दल र उम्मेदवारले तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो निर्णायक प्रचारप्रसार गर्दै मतदातालाई आफूतिर तान्ने प्रयास गरेका छन् ।
आइतबार हुने उपनिर्वाचनका लागि चैत २० गते तीन निर्वाचन क्षेत्रमा गरेर ६९ जनाको उम्मेदवारी परेको थियो । चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका राम प्रसाद न्यौपानेले टक्कर दिएका छन् ।
मंसिर ४ को निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट लामिछाने भारी मतका साथ विजयी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशले उनको नागरिकता अवैध ठहर भएसँगै लामिछानेको सांसद पद गुमेको थियो । लामिछानेले आदेशलगत्तै प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्ति गरेका थिए भने उपनिर्वाचनमा पुनः उम्मेदवारी दिएका हुन् ।
यसैगरी तनहुँ १ मा कांग्रेसका पूर्वनेता स्वर्णिम वाग्लेको उम्मेदवारीले तरंग उत्पन्न भएको छ । वाग्लेले कांग्रेस परित्याग गर्दै रास्वपाबाट उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा वाग्लेसँगै कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी छ । तनहुँ–२ मा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै बारा २ मा पनि हेभिवेट भिडन्त छ । यसअघि सप्तरी २ बाट मंसिर ४ को निर्वाचनम पराजित भएका उनी फेरि बारा पुगेका हुन् । बारामा उपेन्द्र यादवसँगै रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहाको उम्मेदवारी छ । कुशवाहा यादवलाई चुनौती दिनकै लागि माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए । यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने बताइन्छ । मधेसमा सीके राउत र उपेन्द्र यादवको टकरावले चुनाव थप रोचक बनेको छ ।
तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो ।
मध्यरातदेखि मौन अवधि
निर्वाचन आयोगले बिहीबार मध्यरातदेखि मौनअवधि सुरु हुने जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो । चैत २४ गतेदेखि नै आचारसंहिता जारी गरेको आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था रहेको जनाएको छ ।
उक्त व्यवस्थाबमोजिम बिहीबार राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्नसमेत निषेध गरिएको पौडेलले बताए ।
यो अवधिमा निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न पनि आयोगले सचेत गराएको छ ।