०९ साउन २०८३, शनिबार

कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना

भदौ ३१, २०८०
काठमाडौं
कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना

आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ ।

कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू एक लाखसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रू १० लाखसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो । अब यस्तो सुविधा दम्पत्तिका लागि पनि लागू हुने कोषले जनाएको छ । त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रुपमा दुई सन्ततिसम्मका लागि प्रति प्रसुति रू सात हजार पाँच सय, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई रू दुई लाख र काजक्रिया अनुदान योजनाअन्तर्गत हकवालालाई रू ४० हजारसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले लगानीको क्षेत्र विस्तार गर्दै प्रतिफल सुनिश्चित गर्नुपर्ने बताए । 

हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कूल रू पाँच खर्ब १२ अर्ब चार करोड बराबरको स्रोत रहेकोमा रू पाँच खर्ब तीन अर्ब ७४ करोड बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले बताए । कोषले १२ वटा जलविद्युत् आयोजनामा करिब रू ६० अर्ब, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब रू १० अर्ब र पूर्वाधारका क्षेत्रमा २० भन्दा बढी आयोजनामा करिब रू २७ अर्ब बराबर लगानी गरेको धितालको भनाइ छ ।

कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रुपमा रुपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रुपमा काम गर्न आवश्यक रहेको पनि उनले बताए । कर्मचारी सञ्चय कोष ऐन र निवृत्तभरण कोष ऐनको एकीकृत स्वरुप तयार पार्न खोजिएको उनको भनाइ छ । त्यस्तै, तीनवटै तहका सार्वजनिक निकायका कर्मचारीलाई योगदानमा आधारित निवृत्तभरण प्रणालीमा आबद्ध गर्न आवश्यक रहेको पनि धितालले उल्लेख गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्