
प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजा पट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् ।
सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत लक्ष्य’ मा आक्रमण गरेको र त्यसले ‘आतङ्कवादीको सुरूङ’ र ‘जमिनमुनिका लडाकू स्थानहरू’ ध्वस्त पारेको र हमासका लडाकूहरू मारिएको बताएको छ ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४०० जनाको ज्यान लिएको इजरायलले बताएको छ । सेनाले गाजा क्षेत्रको सुख्खा शिविरमा शहरी युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ जहाँ गाजाको प्रतिकृति शहर निर्माण गरिएको थियो ।
इजरायलले अपहरण गरिएका २२० भन्दा बढी व्यक्तिहरूलाई सुरुङमा राखिएको पनि बताएको छ ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।
हमासको सैन्य शाखाले आक्रमणमा करिब ५० जना बन्धक मारिइसकेको दाबी गरेको छ तर यसलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
विगतका हिंसात्मक भड्काव र युद्धहरूमा, इजरायली जेटहरूले विशाल सुरुङ नेटवर्कको केही भागहरूमा प्रहार गरेका छन् जुन हमासले वर्षौंदेखि निरन्तर विकास गरेको वा पुनर्निर्माण गरेको छ । यसलाई इजरायली सैनिकहरूले अक्सर ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्छन् ।
करिब ४० किलोमिटर लामो उक्त क्षेत्रमा ५०० किलोमिटर (३०० माइल) सम्म फैलिएको उक्त क्षेत्रलाई ध्वस्त पार्न सेनाले निरन्तर नयाँ हतियारको खोजी गरिरहेको छ ।
इजरायली दैनिक मारिभले अक्टोबर ७ मा भएको आक्रमणपछि व्यापक रूपमा अपेक्षित भूमि आक्रमणको तयारी गरिरहेका बेला यसै हप्ता यसलाई ‘भूमिगत नरक’ भनेको छ ।
हमासले अहिलेसम्म रिहा गरेका चार बन्धकमध्ये एक ८५ वर्षीया योचेभेद लिफशिट्जले इजरायल फर्केपछि आफू सुरुङको ‘माकुराको जालो’मा हिँड्न बाध्य भएको बताएका छन् ।
अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टका मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए ।
सैन्य विज्ञका अनुसार हमासले आफ्नो नेतृत्व, लडाकु, मुख्यालय, सञ्चार, हातहतियार, पानी, खाद्यान्न, गोलाबारुदजस्ता आपूर्तिलाई स्थलगत आक्रमणको तयारीका लागि आफ्नो सुरुङ परिसरमा राखिसकेको छ ।
यी सुरुङमा आफ्नै विद्युत् आपूर्ति, भेन्टिलेसन र खाद्यान्न तथा पानीको मौज्दात रहेको पर्यवेक्षकहरूले बताएका छन् ।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विश्लेषक तथा अवकाशप्राप्त अमेरिकी सेनाका जनरल मिक रायनले भने, “हमासले आफ्नो भूमिगत सञ्जालको फाइदा उठाउँदै लडाकूलाई सही समयमा सही ठाउँमा सार्न सक्छ वा उनीहरूलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने खतराबाट टाढा लैजान सक्छ ।
इजरायलले विशेषज्ञ कमाण्डो इञ्जिनियरहरूलाई सुरुङ पत्ता लगाउन र नष्ट गर्न तालिम दिएको पश्चिमी विज्ञहरूले बताएका छन् । सेनाले भूमिगत रुपमा काम गर्नका लागि कुकुरलाई विशेष तालिम समेत दिएको छ ।रासस