
परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स)को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलन यही जेठ १४ देखि १७ गतेसम्म चल्नेछ ।
सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्यूरोको अध्यक्षका हैसियतमा सचिव लम्सालले समूहको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै उनले आफ्ना समकक्षीलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्नेछिन् ।
सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा हुनका साथै नयाँ दशकको लागि कार्य योजना प्रस्ताव हुनेछ ।
राष्ट्रसंघले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ । चौथो सम्मेलन 'उत्थानशील समृद्धितर्फको मार्गचित्र' शीर्षकमा हुँदैछ ।
परराष्ट्र सचिव लम्साल जेठ १८ गते काठमाडौं फर्कनेछिन् ।