३० जेठ २०८३, शनिबार

यस वर्ष धान उत्पादन बढेपनि माग नधान्ने

कात्तिक २०, २०७४
यस वर्ष धान उत्पादन बढेपनि माग नधान्ने
काठमाडौं, ६ कात्तिक- बाढी र पहिरोका कारण धान उत्पादनमा कमी नआउने भएको छ । गत वर्ष देशभर ५२ लाख मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको हो ।

तराईका जिल्लामा आएको बाढी र पहिरोका कारण धान बाली प्रभावित भएपछि उत्पादन घट्ने अनुमान गरिए पनि खासै असर नपरेको अधिकारीहरु बताउँछन् । बाढीका कारण धान डुबाएपछि करिब २० प्रतिशत धान मर्ने अनुमान थियो, तर बालुवा वा माटोले धेरै नछोपेकाले पानी निख्रिएपछि धान अझै राम्रो भएको कृषि विकास मन्त्रलयका सूचना अधिकारी समेत रहेका बरिष्ठ कृषि अर्थविद् मणिरत्न अर्यालले बताए ।

यो वर्ष कूल १३ लाख ५० हजार हेक्टर जग्गामा रोपिएको धानमा बाढी पहिरोका कारण अनुमान गरिएको ५ प्रतिशत मात्र ह्रास आउने उनले बताए ।

नेपालमा कृषिमा आधुनिकिकरणको नीति अवलम्बन र विस्तार बढ्दै गएपछि धान उत्पादनमा विस्तारै बृद्धि हुँदै  गएको अर्यालले बताए । नेपालमा मोटो धानको उत्पादन बढी र मसिनो चामलको माग बढी भएकाले आयात गरिरहनुपरेको उनको भनाइ छ ।

आर्यालले लोकान्तरसँग भने, ‘धान उत्पादन विस्तारै बढ्दैछ, उत्पादन भएको धानले करिब करिब हामीलाई पुग्छ, तर नेपालीहरु विलासिताउन्मुख हुँदा स्वादका लागि मसिनो चामल मात्रै बढी खोजिरहेका छन् ।’ रोटी वा सुख्खा खाने कुरामा समेत नेपालीहरुको रुची घट्दै गएको उनले चिन्ता व्यक्त गर्दै भने, ‘पहिला पहिला पहाड र हिमालमा रोटी (गहुँ, कोदो, फापर, मकै) धेरै खाने गरिन्यो, तर विस्तारै रोटी खानेहरु एकदमै घट्दैछन्, जसका कारण यी उत्पादन समेत जनावरका लासग मात्रै सिमित हुन लालेका छन् ।’

तर, नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारले उच्च प्रबिधि, उन्नत जातको बिऊ र सिंचाईको व्यवस्थाका लागि आवश्यक बजेट र योजनाहरुमा क्रमशः बृद्धि गरिरहेको उनले बताए ।

सरकारले नेपाललाई धान उत्पादनमा आत्म निर्भर बनाउन चैते धान, मसिनो धान, बास्नादार धान, बृहत धान उत्पादन कार्यक्रमसँंगै प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धानको सुपरजोन परियोजना सञ्चालन गरिरहेको छ ।

‘नेपाल कृषि प्रधान देश भएपनि परम्परागत रुपले खेती गर्ने प्रणाली कायम रहेका कारण उत्पादनमा बृद्धि हुन सकेको छैन ।’ बरिष्ठ कृषि अर्थविद् अर्यालले प्रष्ट्याए । उनले कृषि विकास मन्त्रालयले रणनीतिक योजनाअन्तर्गत कृषिमा आधुनिकिरणका लागि उच्च प्रबिधि, उन्नत जातको बिऊ र सिंचाईको व्यवस्थाका लागि बजेट र योजनाहरुमा बृद्धि गर्दै लगेपछि धानसँगै अन्य बालीको उत्पादनमा उत्साहजनक ढंगले बृद्धि भएकोमा खुशी व्यक्त गरे ।

लोकान्तरसँगको कुराकानीमा अर्यालले भने, ‘कृषिमा आधुनिकिकरणमा जनतालाई सचेतना दिने काममा खटेका छौं, विस्तारै जनताहरु पनि कृषि आधुनिक प्रणाली उन्मुख हुँदा उत्पादन पनि बृद्धि हुँदैछ ।’

तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ मा नेपालमा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७१÷७२ मा भने ५ दशमलव १ प्रतिशतले ह्रास हुँदै ४७ लाख ८९ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७२/७३ मा अघिल्लो वर्षको तुलनामा धान उत्पादन १० दशमलव २ प्रतिशतले ह्रास भई ४२ लाख ९९ हजार मेट्रिक टन मात्र धान उत्पादन भएको थियो, भने गत वर्ष ५२ लाख मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांंक छ ।

जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो समयमा वर्षेनी प्राकृतिक प्रकोपको सामना गर्नुपर्दा कृषि उत्पादनमा उतारचढाव आउन लागेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण कुनै समय ठूलो वर्षा भएर बाढी आउने र कुनै वर्ष खडेरी हुने समस्याका कारण नेपालको बालीनाली प्रभावित हुँदै आएको विज्ञहरुको भनाई छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा ठूलो समस्या देखा पर्न सक्नेमा विज्ञहरुको चिन्ता छ ।

salt training

कमेन्ट गर्नुहोस्