
पश्चिम नवलपरासीका भारतसँग सीमाना जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी पोस्ट स्थापना गरेर निगरानी बढाएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन १५ दिनअघि सीमा नाकाहरू बन्द गरिएका थिए तर लुकीछिपी खेत र स–साना बाटो हुँदै नेपालतर्फ आवतजावत बढ्न थालेपछि सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए ।
सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्म २८ किलोमिटर दूरीको छ । ५–६ सय मिटरमा १/१ वटा अस्थायी पोस्ट निर्माण गरिएको छ ।
जिल्लाको सीमा दूरीसम्म ४५ वटा पोस्ट छन् । कसैले पनि आँखा छलेर नेपाल प्रवेश गर्न नसकून् भनेर पोस्टसँगै १/२ सय मिटरको दूरीमा प्रत्येक १ जना सशस्त्र प्रहरी खटाइएको छ ।
‘सीमाको हरेक स्टेपमा सशस्त्र प्रहरी जवान छन् । कसैले आँखा छल्नै सक्दैनन् । अहिले लुकेर आउनेहरूको आवतजावत पनि पूर्ण रोकिएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक खनियाँले भने । दिनमा भन्दा रातको समयमा सशस्त्र प्रहरीको संख्या बढाएर गस्ती गरिएको उनले बताए । जिल्लामा रहेका सबै सशस्त्रको फोर्स अहिले सीमामा केन्द्रित गरिएको छ ।
जिल्ला भारतको बिहार र उत्तरप्रदेशसँग जोडिएको छ । उत्तर प्रदेशको महाराजगञ्जमा कोरोनाका संक्रमण भेटिएपछि सशस्त्रले सीमा नै शिल गरेर गस्ती बढाएको हो । सशस्त्रको गस्ती बढेपछि सीमा क्षेत्रमा भारतले पनि सीमा सुरक्षा बल (एसएसबी) का प्रहरीलाई परिचालन गरेको छ ।
सीमा क्षेत्रमा दुवै देशका प्रहरीले समन्वय गरेर आवतजावतमा कडाइ गरेका छन् ।