
राष्ट्रिय राजनीतिमा प्रभाव कमजोर बन्दै गएको नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा बहुपक्षीय प्रतिष्पर्धाको पूर्वसंकेत देखिन थालेका छन् ।
नेतृत्वका लागि संस्थापन पक्ष, संस्थापन इतरदेखि कोइराला परिवारका सदस्यबीच नै प्रतिस्पर्धाको हुने अवस्था देखिएको छ ।
कांग्रेसमा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चलिरहेको समयमा आगामी महाधिवेशन कांग्रेस रूपान्तरणको महत्वपूर्ण कडी बन्ने देखिएको छ ।
संस्थापन पक्षका पिल्लर मानिएका विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि सभापतिमा दोहोरिने शेरबहादुर देउवाको आकांक्षामा राम्रै धक्का लाग्ने देखिएको छ ।
स्थापनापछि पहिलो पटक कांग्रेसमा एउटै परिवार र गुटबीच पनि फूटको स्थिति देखा पर्न लागेको हो ।
संस्थापनइतरका सबै प्रत्यासीको मिसन भने देउवालाई सभापतिबाट विस्थापित गर्नुजस्तो देखिएको छ ।
अन्तिमपटकका लागि भन्दै देउवाले सभापति बन्ने प्रयत्न छाडेका छैनन्, तर यसपटक उनलाई सभापतिमा दोहोरिन त्यति सहज नहुने कांग्रेस वृत्तमा चर्चा छ । संस्थापन पक्षका हस्ती मानिएका निधिले उम्मेदवारी दिने बताएपछि संस्थापन (देउवा) पक्ष मात्र नभई सिंगो कांग्रेसमा हलचल ल्याएको छ । क्यारेमबोर्डमा एउटा गोटी चल्दा अन्यत्र इफेक्ट परेजस्तो निधिको उम्मेदवारी चर्चाले कांग्रेसभित्र सानोतिनो हलचल पैदा गरिदिएको छ ।
आफूलाई सहयोग नगरे आफूले पनि सहयोग नगर्ने संकेत देउवाले निधिलाई दिएका छन् । निधि भने कांग्रेसको नेतृत्व लिनका लागि यही समय उपयुक्त भएको निष्कर्षसहित छलफलमा जुटेका छन् ।

सभापतिको उम्मेदवार बन्ने आफ्नो तयारी देखावटी नभएको भन्दै उनले कार्यकर्तासँग छलफल बाक्लो बनाएका छन् । पार्टीको उपसभापति भइसकेकाले सभापतिमा स्वाभाविक दाबी रहेको निधिको तर्क छ ।
कांग्रेसको चौधौं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेलाई तय भएकोमा क्रियाशील सदस्यता वितरण र नवीकरण नभएका कारण तोकिएको समयमै महाधिवेशन नहुने त पक्का जस्तै छ ।
महाधिवेशन कहिले हुन्छ भन्ने यकिन नभएपनि एउटा कुरा पक्का छ– महाधिवेशनमा निधि र शेखरको उम्मेदवारी ।
रामचन्द्र पौडेलले पनि देउवाइतर समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्ने कोशिश जारी राखेका छन् । एकपटक सभापति निर्वाचित भएर सक्रिय राजनीतिबाट विश्राम लिने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न उनले देउवा इतरसमूहका नेतासँग लविङ गरिरहेका छन् ।
संस्थापन पक्षमा किचलो
सभापतिमा उठ्ने निधिको उद्घोषले संस्थापन पक्षमा हलचल ल्याइदिएको छ । देउवा गुटमा लागेका कारण कांग्रेसभित्र निधि सबैभन्दा अवसर पाउनेमा पर्छन् ।
१२ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार, त्यसपछि बनेको सुशील कोइराला सरकारमा भौतिक निर्माण मन्त्री, प्रचण्ड सरकारमा गृहमन्त्री बन्ने सौभाग्य उनले पाए ।
आफूले पनि देउवालाई पर्याप्त गुन लगाएको निधिको बुझाइ छ ।
२०७२ सालमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनको समयमा देउवाले निधिलाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने आश्वासन र प्रलोभन देखाएका थिए ।
देउवाले त्यो उधारो आश्वासन यसपटक पनि दोहोर्याएर अर्को महाधिवेशनमा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार भन्दै निधिलाई फकाइरहेका छन्, तर निधि टसको मस छैनन् ।
नेतृत्वमा युवाको दबाब बढ्दै गएको अवस्थामा निधि अर्को कार्यकाल कुर्ने मनस्थितिमा देखिएका छैनन् । अर्कोपटक ‘गगन–विश्वप्रकाश’ पुस्ताले दाबी गर्ने भन्दै निधिले यसै कार्यकालमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सभापति दाबी गरेका निधिको पक्षमा हाल केन्द्रीय समितिमा कोही पनि छैनन् । उनको पक्षमा अहिले केही जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि मात्र खुलेका छन् ।
कोइराला परिवारमै भीडन्त
मंसिरमा सम्पन्न आमनिर्वाचनमा कांग्रेस पराजित भएपछि २०७४ सालको माघ १ गते सुजाता कोइरालाको निवासमा कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच छलफल भयो ।
देउवाका कारण कांग्रेस कमजोर भएको निष्कर्षसहित १४ औं महाधिवेशनमा नेतृत्वका लागि कोइराला परिवारबाट दाबी गर्ने सहमति गरेका थिए । त्यसयता उनीहरूले कोइराला परिवारबाट नेतृत्वका लागि एकमात्र उम्मेदवारी दिने बताउँदै आएका थिए ।
महाधिवेशनको चर्चा र तयारी केही नभएपनि कोइराला परिवारका सदस्यहरूबीच २०७४ सालमा शुरू भएको सो गठजोडले संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा चिसो पसेको थियो । महाधिवेशनको मिति घोषणा अघिसम्म पनि कोइराला परिवारबाट एकमात्र उम्मेदवारी पर्ने बताउँदै आएका शेखर–शशांक दुवैजना नेतृत्वको होडमा लागेका छन् ।
स्वास्थ्य समस्याका कारण सुजाता कोइराला राजनीतिमा त्यति सक्रिय छैनन् । शेखर र शशांक भने नेतृत्वका लागि तम्तयार भएजस्तो देखिएको छ । अन्तरमुखी स्वभावका शशांक खुलेर बोलेका छैनन्, तर उनले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने भनेर नेतृत्वमा दाबी पेश गरिसकेका छन् ।

कांग्रेसमा कोइराला परिवारको विरासत छ । बीपी कोइराला संस्थापक अध्यक्ष रहेको कांग्रेसमा लामो समय कोइराला परिवार नै नेतृत्वमा रहेको थियो । बीपीपछि लामो समय गिरिजाप्रसाद कोइराला कांग्रेसको नेतृत्वमा रहे भने देउवाभन्दा अघि सुशील कोइराला सभापति थिए । कोइराला परिवारका सदस्यहरूले कांग्रेसको नेतृत्व गर्दा पार्टीले उपलब्धि हासिल गरेको कांग्रेसको इतिहास छ ।
बीपी कोइराला सभापति रहेको समय २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला सभापति रहेको समयमा पनि कांग्रसले पटक–पटक बहुमत ल्याउन सफल भयो । किन्तु कोइराला सभापति रहेको समयमा २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो ।
गिरिजापछि छोटो समय कांग्रेसको नेतृत्व गरेका सुशीलले त्रिपक्षीय प्रतिष्पर्धामा कांग्रेसलाई पहिलो बनाए भने संविधान सभाबाट संविधान जारी गरेको जस पनि बटुले ।
कांग्रेसकै नेतृत्वको सरकार रहेको समयमा संविधानसभाबाट संविधान जारी भएपनि त्यसपछिको निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो ।
२०७४ सालको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलेको हो । अन्य नेताहरूले महाधिवेशनको मिति घोषणापछि मात्र चहलपहल शुरू गरेपनि शेखर कोइराला आम निर्वाचनमा कांग्रेसको पराजयपछि नै जनताबीच गएका थिए ।
उसो त रामचन्द्र पौडेल स्वयंले आफू पनि कोइराला परिवारकै सदस्य भनेर सहानुभूति बटुल्ने कोशिश गरिरहेका छन् । जिन्दगीभर बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहयोगी बनेर काम गरेकाले आफू पनि कोइराला परिवारको सदस्य रहेको उनले बताउँदै आएका छन् ।
कोइराला परिवारका निकटस्थ र सुभेक्षुकले भने शेखर र शशांकलाई नै मिलेर जान जोड दिइरहेका छन् ।
कांग्रेस संस्थापक बीपीको छोरो भएकोमा कांग्रेसमा केही सहानुभूति शशाकंलाई छ । पछिल्ला आम निर्वाचनमा उनी लगातार विजयी हुनु उनको सबल पक्ष हो । तर निर्वाचित भएपनि संसद्मा उनको पफरमेन्स कमजोर छ । संसद्को अघिल्लो कुर्सीमा उपस्थित भएपनि उनी बिरलै बोलेका छन्, बोलेपनि उनको बोलीले तरंग ल्याएको छैन, जति ब्याक बेञ्चर गगन थापाले संसद्मा कांग्रेसको साख जोगाएका छन् ।
शशांकको तुलनामा शेखरले कार्यकर्तासँग घुलमिल गरिरहेका मात्र छैनन् राष्ट्रिय मुद्दामा आफ्नो भनाइ बुलन्द गर्दै लगिरहेका छन् । एक पटकका लागि मात्र सभापति बन्ने र सभापति बनेपनि प्रधानमन्त्रीमा दावी नगर्ने शेखरको अडानले उनीप्रति कार्यकर्ताको आकर्षण बढ्न सक्छ । यसअघि शशांकलाई महामन्त्री बन्न सघाएकाले यसपटक आफूलाई सभापतिमा सघाउनुपर्छ भन्ने शेखरको धारणा छ ।
शेखर र निधि दुवैको एजेण्डा भने आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्ने छ । सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री सबै पद एकै व्यक्तिले ओगट्ने परम्परालाई शेखरले उल्ट्याउन खोजेका छन् । शशांकले भने कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने योजना दिएका छैनन् ।
पढ्नुहोस् यो पनि :
सभापतिमा उठ्न सुझाव आएको छ, साथीहरूसँग सल्लाह गरेर निर्णय लिन्छु: शशांक कोइराला [अन्तर्वार्ता]
कस्तो बन्ला समीकरण ?
१४ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवादेखि गगन थापासम्मले मुख खोलेका छन् । अहिले संस्थापन पक्ष भनिने देउवा समूहका विमलेन्द्र निधिदेखि गोपालमान श्रेष्ठसम्मले आकांक्षा देखाएका छन् ।
धेरै उम्मेदवार त देउवा इतर समूहमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी समेतले सभापतिमा लड्ने बताउँदै आएका छन् ।

कांग्रेसमा तेस्रो धार बनाउन खोजेका कृष्ण सिटौला र यसअघि सोही समूहमा रहेका गगन थापाले समेत सभापतिका लागि हाँक दिएका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल लगायत १२ जना केन्द्रीय सदस्यहरुले नेतृत्वमा दावी गर्ने बताएका छन् । यो समूह महाधिवेशनमा निर्णायक बन्न सक्छ ।
अहिले १० जना जतिले सभापतिमा आकांक्षा देखाए पनि अन्तिम महाधिवेशनमा उम्मेदवारको संख्या ४ भन्दा नबढ्ने कांग्रेसका नेताहरु बताउछन् । देउवा, पौडेल, कोइराला र निधि अन्तिमसम्म मैदानमा टिकिराख्ने एक केन्द्रीय सदस्यको विश्लेषण छ । निधिले साथ छाडेपनि देउवासँग केही प्रभावशाली नेताहरु छन, जसलाई भागबण्डा मिलाउन पनि समस्या छ ।
कांग्रेसका एक प्रभावशाली नेताका अनुसार पराजित हुने अवस्था आए देउवा सभापतिमा नउठ्न सक्छन्, सट्टामा पत्नी आरजुलाई पदाधिकारीमा निर्वाचित गराउने उनको रणनीति हुन सक्छ । आफू उनठ्ने अवस्थामा देउवाले निधिको सट्टा रामचन्द्र पौडेल या शशांकलाई उठाउन सक्ने ती नेताको विश्लेषण छ ।
अहिले सभापति दाबी गरिरहेकाहरूले पद भागबण्डा गरेर जाने अवस्थामा कांग्रेसको समीकरण बदलिन सक्ने जानकारहरू बताउँछन् । समीकरण मिलाउन संस्थापन पक्षभन्दा रामचन्द्र पौडेल समूहलाई गाह्रो छ ।
महाधिवेशन नजिकिँदै गर्दा संस्थापनइतरका केही सदस्यले आफूहरू रामचन्द्र गुटको नभएको दाबी गर्न थालेका छन् ।
विगतमा केही एजेण्डा मिले पनि पौडेलको अन्डरमा आफूहरू नरहेको र पौडेल निर्विकल्प सभापतिको उम्मेदवार बन्न नसक्ने टिप्पणी उनीहरूको छ ।
कांग्रेस युवा नेता रामहरि खतिवडा महाधिवेशनमा कांग्रेस पुनरजागरणको अभियान भन्दा पनि को नेतृत्वमा पुग्ने भन्ने होडबाजीले गर्दा कार्यकर्ता निराश भएको बताउँछन् ।

‘जनताले स्थापित गरेका कार्यकर्तालाई नेताले विस्थापित गर्ने र नेताले स्थापित गरेका मान्छेलाई जनताले विस्थापित गर्ने, त्यही कुराको समायोजन गर्न नसक्दा कांग्रेसको यो हालत भएको छ,’ खतिवडाको विश्लेषण छ ।
कांग्रेसले मधेसमा रिभाइभ गर्न सक्छ : रामसरोज यादव
प्रदेश नम्बर २ को प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव निधिको उम्मेदवारीले मधेसमा कांग्रेसको रिभाइभको सम्भावना देखाएको दाबी गर्छन् ।
‘देखावटी कुरा गर्नुभएको होइन, सभापतिमा उठ्नकै लागि निधिले तयारी गर्नुभएको छ । कांग्रेसको नेतृत्व अब दोस्रो पुस्तामा गएन र देशको आवश्यकता अनुसारको लिडरसीप भएन भने यो पार्टीले देशका समस्या समाधान गर्न पनि सक्दैन,’ यादवले लोकान्तरसँग भने, ‘महेन्द्रनारायण निधिको छोरो भएर होइन नेपालको लोकतान्त्रिक आन्दोलनमा विमलेन्द्र निधिको आफ्नै किसिमको योगदान छ । उहाँ २४ वर्षको उमेरमा विद्यार्थी संघको अध्यक्ष भएको हो । बीपीजस्तो दूरदर्शी नेतृत्वले केही न केही सोचेर र सम्भावना देखेर नै निधिलाई त्यो जिम्मेवारी दिनुभएको थियो होला ।’
निधिको पक्षमा प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश सभापतिहरूको समर्थन रहेको निकटस्थहरू बताउछन् । ‘२०१५ सालदेखि नै कांग्रेसको जग भनेको मधेश हो, यो बेला कांग्रेसको नेतृत्व मधेसले पायो भने राम्रो सन्देश जान्छ र फेरि पनि मधेशमा रिभाइभ गर्न सक्छौ,’ यादवले भने ।
हाम्रो वैचारिक समूहले पनि सभापतिमा उम्मेदवारी दिन सक्छ : धनराज गुरुङ
नेपाली कांग्रेसभित्र वैचारिक बहस गरिरहेका १२ जना केन्द्रीय सदस्य मध्येका एक धनराज गुरुङ अहिले सभापतिमा उम्मेदवारी दिन्छौं भन्ने नेताहरूले कांग्रेस रूपान्तरणको एजेण्डा पेश गर्न नसकेको बताउँछन् ।

‘महाधिवेशन नजिकिएसँगै उम्मेदवार बन्ने घोषणा गर्नु कुनै अनौठो होइन, जसजसले तयारी गर्नुभएको छ काबिल हुनुहुन्छ र पार्टी चलाउने हैसियत राख्नुहुन्छ, तर उम्मेदवारी घोषणा गर्ने सबै अग्रजले रुपान्तरणको योजनासहित आउनुपर्छ, कांग्रेस रुपान्तरणको कार्ययोजना के छ ? कार्ययोजना विनाको घोषणाले पार्टी जहाँको त्यहीँ रहन्छ,’ गुरुङले लोकान्तरसँग भने, ‘पार्टीलाई विचारले बचाउनुपर्छ भनेर हाम्रो वैचारिक टीम बनेको छ । त्यस्तै परिस्थिति सिर्जना भयो भने हाम्रो टीमबाट सभापतिको उम्मेदवारी घोषणाको सम्भावना नकार्न सकिन्न ।’
त्यसो त यो समूहमा गगन थापासहितका नेता अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकामध्ये छन् । सिटौला स्वयंले पनि सभापतिमा दाबी गर्दै आएका छन् ।
यसपटक पनि सिटौलाले उम्मेदवारी दिने कुरालाई नकार्न सकिन्न ।