
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघले निर्जीवन बीमा कम्पनीहरूका लागि बीमा समितिले जारी गरेको निर्देशन तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुका लागि जारी गरेको मिनिमम प्रिमियम रेट फर नन टारिफ इन्स्योरेन्स बिजनेस निर्देशन तत्काल खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो
ज्ञापनपत्र बुझाउन ईप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिब बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा र निर्माण ब्यबसायी महासंघका तर्फबाट अध्यक्ष रबि सिंहको नेतृत्वमा पदाधिकारीहरु गएका थिए ।
प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै महासंघका अध्यक्ष सिंहले बीमा समितिद्वारा जारी उक्त निर्देशिकाले उर्जा क्षेत्रका परियोजना र निर्माण क्षेत्रमा परेको गम्भीर असरबारे अबगत गराएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले सो समस्याका बारेमा गम्भीर चासो राख्दै बीमा समितिसँग छलफल गरेर समस्याको समाधानको गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका थिए ।
साथै आइतवार नै बीमा समितिमा पनि संयुक्तरुपमा ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको छ ।
सरोकारवाला निकायहरुसँग कुनै छलफलै नगरी एकलौटीरुपमा जारी गरिएको सो निर्देशिकाप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर इप्पान, एफक्यानलगायतका संघ,संस्थाहरुले संयुक्तरुपमा र छुट्टा–छुट्टैरुपमा बीमा समितिको लिखित ध्यानाकर्षण गराए पनि त्यसप्रति बेवास्ता गरिएपछि ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र दिइएको इप्पानले जनाएको छ ।
प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मुल्य तोक्नुपर्ने विश्वव्यापी मान्यता विपरीत जारी गरिएको उक्त निर्देशिका बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा यो बीमाको सिद्घान्त विपरित रहेको इप्पानको भनाइ छ ।